‘श्रमजीवीको हितका लागि एमालेलाई मत’

समाधान संवाददाता २०७९ कार्तिक १३ गते १०:३४

पोखरा ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका उम्मेद्वारसँग शनिबार भेटघाट कार्यक्रम गरेको छ ।

Advertisement

कार्यक्रममा नेकपा (एमाले)का स्थायी समितिका सदस्य तथा कास्की क्षेत्र नम्बर १ प्रदेश सभा १का उम्मेदवार खगराज अधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाका कार्यक्रम ल्याएको बताए ।

उनले आगामी दिनमा सबै श्रमिकलाई समेट्दै कार्यान्वयनमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । नेता अधिकारीले पार्टीको नीति तथा जनताको वहुदलीय जनवादमार्फत आम श्रमिकको हक हित सुनिश्चित गर्नुको अलवा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दिगोपनका लागि ध्यान दिने उल्लेख गरे ।

जिफन्ट राष्ट्रिय कमिटी अध्यक्ष विनोद श्रेष्ठले पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमालेको सरकारले ल्याएको ज्येष्ठ नागरिक भत्ता जनस्तरमा धेरै लोकप्रिय भए पनि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम समेत महत्वपूर्ण भएको दाबी गरे ।

अहिलेसम्म कार्यक्रममा ३ लाख ६८ हजार समेटिएको जानकारी दिँदै उनले कार्यक्रम अन्तर्गत पेन्सन लगायतका योजना रहेको बताए । उनले राष्ट्र र राष्ट्रियताको रक्षाको लागि आगामी आम निर्वाचनमा एमालेलाई जिताउनु पर्नेमा जोड दिए । ‘एमालेका सबै उम्मेद्वार श्रमजीवी पक्षधर छन्,’ उनले भने, ‘एमालेको जीतमा आम श्रमिकको हकहित सुरक्षित हुन्छ ।

Advertisement

एमालेका उम्मेद्वारलाई जिताएर ट्रेड युनियन आन्दोलनलाई सुदृढ बनाउनु आवश्यक छ ।’ उनले आगामी आम निर्वाचनमा एमालेलाई जिताउन असल कार्यकर्ता बन्न निर्देशन दिए । अध्यक्ष श्रेष्ठले ठूला आम सभा तथा प्रर्दशन भन्दा पनि आम मतदातासम्म पुग्ने रणनीति बनाउन आग्रह गरे ।

नयाँ ढंगले चल्न र योजनाबद्ध ढंगले काम गर्न अनुरोध गर्दै आफ्नो काम नबिगारेर सामाजिक सञ्जालमार्फत चुनावी अभियान चलाउन सुझाव दिए । पार्टीका केन्द्रीय सदस्य तथा कास्की क्षेत्र नम्बर २ प्रदेश सभा २ का उम्मेद्वार भीम कार्कीले पार्टीले सधैभरी श्रमजीवी जनताको पक्षमा काम गर्ने बताए ।

जिफन्ट राष्ट्रिय कमिटीका उपाध्यक्ष तथा प्रतिनिधि सभाका समानुपातिकतर्फका उम्मेद्वार विदुर कार्कीले पार्टीका सबै निर्णायक तहमा श्रमिकको उचित प्रतिनिधित्वको लागि दबाव दिँदै आएको जानकारी दिए ।

कास्की क्षेत्र नम्बर २ प्रदेश सभा (२)का उम्मेद्वार तथा जिफन्ट संसदीय तथा स्थानीय तह संयोजन समितिका अध्यक्ष मिना गुरुङले पार्टीले प्रतिनिधित्व गर्ने राज्यका निकायमा मजदुरको १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित अभियान चलाएको जानकारी दिइन् ।

उनले आम मजदुरको एकतामा बल हुने भएकाले सचेत र संगठित भएर पार्टीमा माग राख्न पर्ने बताइन् । उनले सबै मजदुरको बुझाईमा एक रुपता भए संगठन सक्षम र सुदृढ बन्ने उल्लेख गरिन् । उनले ‘नयाँ पुस्ता, नवीन साेंच, युवा उद्यम र रोजगारीका लागि सूर्यमा भोट’ भन्ने नाराका साथ चुनावी अभियान गरेको जानकारी दिइन् ।

जिफन्ट गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले आम निर्वाचनमा नेकपा (एमाले)का उम्मेद्वारलाई जिताउनको लागि श्रमिक निर्वाचन परिचालन कमिटी गठन गरेको जानकारी दिए । उनले कास्की भूगोल कार्यक्षेत्र भएका श्रमिकलाई समेटेर कार्य विभाजन समेत गरेको बताए ।

भेलाले जिफन्टको कास्कीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १, २ र ३को संयोजकमा क्रमशः ईश्वरप्रसाद आचार्य, बलराम पौडेल र नन्दलाल अधिकारीलाई चयन गरेको छ । कास्की क्षेत्र नम्बर १ प्रदेश सभा (क) र (ख)को संयोजकमा लिलाबहादुर कार्की र विष्णुबहादुर खत्री छन् ।

कास्की क्षेत्र नम्बर २ प्रदेश सभा (क) र (ख)को संयोजकमा पुण्यप्रसाद उप्रेती र धिरज गुरुङ, कास्की क्षेत्र नम्बर ३ प्रदेश सभा (क) र (ख)को संयोजकमा कर्णसिं गुरुङ र जीवन लामा रहेको अध्यक्ष खत्रीले बताए ।

जिफन्टले आम निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेद्वारलाई जिताउन गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्रीको संयोजकत्वमा ५ सय १ सदस्यीय श्रमिक निर्वाचन परिचालन कमिटी गठन गरी सकेको छ ।

उनले आगामी निर्वाचनमा केन्द्रीय नीति अन्तर्गत एक जिफन्ट सदस्य बराबर दुई मतदाता बढाउने र पाँच जना मतदाता संरक्षण गर्नको लगि सक्रियतापूर्वक लागेको जानकारी दिए ।

कार्यक्रममा जिफन्ट गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष लिलाबहादुर कार्की, सचिव राजेन्द्रप्रसाद पौडेल लगायतले आगामी आम निर्वाचनमा जिफन्टले अख्तियार गर्ने रणनीतिको बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया