समृद्धिलाई केन्द्रमा राख्दै मिडिया सम्मेलनबाट ५ बुँदे पोखरा घोषणापत्र जारी

समाधान संवाददाता २०७६ वैशाख १५ गते ९:१२
dav

समाधान सम्वाददाता

नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिको आयोजनामा शुक्रबारदेखि पोखरामा सुरु भएको गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलन ५ बुँदे पोखरा घोषणापत्र जारी गर्दै शनिबार सकिएको छ ।

मिडिया सम्मेलनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको प्रहारप्रति सरकारको ध्यानाकर्षण गर्दै यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्ने, समाचार लेखेकै आधारमा पत्रकारमाथि भइरहेको धरपकड र गिरफ्तारीजस्ता घटनाको निन्दा गर्दै यस्ता गतिविधि तत्काल बन्द गरी संविधान प्रदत्त अधिकारको रक्षा गरिनुपर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध उपभोग गर्दै नागरिक अधिकारको संरक्षण गर्न मिडियामैत्री कानून निर्माण गर्नुपर्ने मागसहितको घोषणापत्र जारी गरेको छ ।

Advertisement

मिडिया सबलीकरण एवं त्यहाँ कार्यरत श्रमजीवी पत्रकारहरूको संरक्षणका लागि समानुपातिक विज्ञापन नीति लागू गर्न सरकारसमक्ष माग गर्दै श्रमजीवी पत्रकार ऐन लागू गर्न सम्बद्ध सञ्चारमाध्यमहरूलाई आग्रह गर्ने र गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलन, यस प्रदेशको समृद्धिका लागि पत्रकारितामा समावेशिता, यसको माध्यमबाट समृद्धि, बालमैत्री पत्रकारिता र पर्यटन प्रवद्र्धन लगायत विषयलाई उच्च प्राथमिकता दिन प्रदेश सरकारको ध्यानाकर्षण गर्ने पोखरा घोषणापत्रमा उल्लेख गरिएको छ । घोषणापत्र महासंघको प्रदेश समितिका सल्लाहकार रवीन्द्र बास्तोला, सल्लाहकार नवराज सुवेदी, महासचिव गणेश पौडेल र स्याङ्जा जिल्ला अध्यक्ष ओमप्रकाश शर्माले तयार गरेका हुन् ।

मिडिया सम्मेलनको दोस्रो तथा अन्तिम दिन पर्यटन र पत्रकारिता विषयमा छलफल भएको थियो । पत्रकार केशवशरण लामिछानेले सहजीकरण गरेको छलफलमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल र पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले सहभागिता जनाए ।

Advertisement

छलफलमा सहभागिता जनाउँदै पर्यटनमन्त्री लम्सालले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पत्रकारिता क्षेत्रको भूमिका सराहनीय रहेको बताए । पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार र जनशक्ति अभाव रहेको भन्दै मन्त्री लम्सालले तालिम मात्रैले जनशक्ति तयार नहुने भएकाले पर्यटन विश्वविद्यालय नै स्थापना गर्नुपर्ने धारणा राखे । प्रदेश सरकारले व्यवस्थित कार्ययोजना बनाएर अघि बढेको भन्दै पर्यटन क्षेत्रको विकासका लागि सरकारले अघि सारेका काममाथि विश्वास गर्न आग्रह गरे ।

पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं पर्यटनकर्मी पालिखेले पर्यटन र पत्रकारिता एउटै सिक्का दुई पाटा भएको उल्लेख गरे । राज्यले योजना घोषणा गर्ने र कार्यान्वयनमा उदासीनता देखाउने गरेको आरोप लगाउँदै पालिखेले पर्यटन क्षेत्रको वास्तविक विकासका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए । पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसारसँगै पूर्वाधार विकास पनि उत्तिकै आवश्यक भएको उनको भनाइ छ । छलफलमा सहभागी विभिन्न पर्यटन व्यवसायी एवं पत्रकारहरूले मन्त्री लम्साल र पूर्वअध्यक्ष पालिखेसँग विभिन्न जिज्ञासा राखेका थिए ।

नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव गणेश पौडेलले गरेका थिए । मिडिया सम्मेलन सफल बनाउन गण्डकी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, नेपाल भ्रमण वर्ष २०२० ले सहयोग गरेका हुन् ।

तपाईको प्रतिक्रिया