बसपार्क बनाउने आश्वासन

समाधान संवाददाता २०७९ कार्तिक १५ गते १७:३६

पोखरा ।
पोखराको पृथ्वीचोकको बसपार्क वरपरका बासिन्दाले अब बसपार्क बन्ने अपेक्षा गरेका छन् । मंगलबार उक्त क्षेत्रमा घरदैलो कार्यक्रमका लागि पुगेका कास्कीको क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल र कास्की २ (२) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विन्दुकुमार थापासँग उनीहरुले यस्तो बताएका हुन् ।

पोखरा महानगरमा नयाँ नेतृत्व आएसँगै प्रदेश सरकारसँग मिलेर नाला बनाउने र बसपार्क सम्याउने काम भएकोे स्मरण गर्दै स्थानीयले बसपार्क निर्माणको हुने अपेक्षा गरेका हुन् । पृथ्वीचोकमा रहेको गलकोट रेस्टुरेन्ट एन्ड लजकी ८३ वर्षीय रत्नकुमारी गौचनले इमान्दार नेतृत्वले मात्र विकास गर्न सक्ने बताइन् ।

बसपार्ककै पश्चिम साइडमा होटल सुवास सञ्चालन गरेका दुगर्दादत्त सुवेदीले यस अगाडि धेरैले बसपार्क बनाउँछौं भनेर भोट मागे पनि बाचा पूरा नगरेको स्मरण गरे । तर, पोखरा महानगरमा नयाँ नेतृत्व आएपछि भने नाला बनाउने र बसपार्क सम्याउने काम भएको उनी बताउँछन् । ‘यस अगाडि यहाँ बसपार्क बनाउँछौं । सुकुम्बासी समस्या समाधान गर्छौंं भन्दै धेरै आए । कसैले केही गरेनन् ।’

Advertisement

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका पोलिट््रब्युरो सदस्य श्रीनाथ बरालले जनताको काम गर्न नै आफूहरु निर्वाचनमा होमिएको बताए । उनले विगतमा काम भएन भनेर चिन्ता नगर्न अग्रह गरे । ‘विगतमा काम भएन, गरेनन् भनेर चिन्ता नगर्नू । अब यहाँको सुकुम्बासी समस्या समाधान गर्ने र बसपार्क बनाउने जिम्मेवारी हामी लिन्छौं,’ उनले भने ।

कास्की २ (ख)मा प्रदेश सभा सदस्य पदका उम्मेदवार विन्दुकुमार थापाले अघिल्लो आर्थिक वर्षमा नला बनाउने र केही भए पनि सम्याउने काम भएको र चालु आर्थिक वर्षमा पनि बजेट परेको भन्दै बसपार्क निर्माण गर्ने र स्थानीयका समस्या समाधान गर्ने काम आफूहरुको भएको बताए ।

Advertisement

‘अघिल्लो वर्ष नालासम्म बनाएका छौं । थप कामका लागि बजेट परेको छ । महानगरको पनि यो प्राथमिकतामा छ । यो वर्ष थप बजेट व्यवस्था गरेका छौं । अब यो बसपार्क बनाउने जिम्मा हाम्रै हो,’ उनले भने ।

घरदैलो कार्यक्रममा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक तर्फकी उम्मेदवार जुवेदा खातुन, एकीकृत समाजवादीको तर्फबाट प्रतिनिधिसभामा सदस्यमा समानुपातिकको तर्फकी उम्मेदवार रत्ना गुरुङ र नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवार लक्ष्मी पाण्डेसहित गठबन्धन सम्बद्ध दलका नेता र कार्यकर्ताको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया