गण्डकीमा माओवादीका उम्मेदवार

प्रचण्ड बाहेकलाई कांग्रेसकै भर

रिखिराम जिसी २०७९ कार्तिक १६ गते १०:२२

रिखिराम जिसी, पोखरा ।
हरेकपटक निर्वाचन क्षेत्र फेर्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपालि गण्डकी प्रदेशको गोखराबाट उम्मेदवार छन् । अघिल्लो संसदीय निर्वाचनमा चितवन ३ बाट विजयी हुँदै उनी संसद छिरेका थिए ।

Advertisement

२०७४ को प्रतिनिधिसभाको निर्वाचनमा प्रचण्ड चितवन ३ बाट ४८ हजार २ सय ७६ मत प्राप्त गरेर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९ सय ३५ मत ल्याएका थिए ।

पटकपटक चितवन ३ बाट उठ्ने भाषण दिएका प्रचण्ड मनोनयन दर्ता गर्ने बेलासम्म आफ्नो अडानमा टिक्न सकेनन् । उनी उठ्ने भएपछि गोरखामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाटो खाली गरिदिए ।

यसअघि प्रचण्डले २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा रोल्पा २ र काठमाडौं १० बाट जित हासिल गरेका थिए । २०७० को निर्वाचनमा सिरहा ५ बाट झिनो अन्तरले विजयी हासिल गर्दा काठमाडौं १० मा भने पराजित भएका थिए ।

गत वैशाख ३० गते भएको स्थानीय तहको नजिता हेर्ने हो भने चितवन ३ भन्दा गोरखा २ प्रचण्डलाई सहज देखिन्छ । चुनाव जित्न सहज देखेर प्रचण्ड गोरखा २ गएको धेरैको अनुमान छ ।

Advertisement

प्रचण्ड चुनाव जित्न पूर्वप्रधानमन्त्री भट्टराई र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठकै समर्थनमा उनीहरुको क्षेत्रमा उम्मेदवार बनेका छन् । कांग्रेससँग गठबन्धन बनाएर चुनावमा गएको माओवादी दोस्रो ठूलो पार्टी बन्ने दाउमा देखिन्छ ।

माओवादीका प्रतिनिधि सभा प्रत्यक्षतर्फ गण्डकी प्रदेशमा ४ उम्मेदवार छन् । प्रचण्ड गोरखाबाट उम्मेदवार बन्दा महासचिव देव गुरुङ लमजुङबाट उम्मेदवार बनेका छन् । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ कास्की ३ र नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल बागलुङ २ बाट उम्मेदवार बनेका छन् ।

गत स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्ने हो भने प्रचण्डको निर्वाचन क्षेत्र सुरक्षित देखिन्छ भने अन्य ३ जना कांग्रेसका भर पर्नुपर्ने देखिन्छ ।

दाहाल प्रचण्ड सुरक्षित
स्थानीय तहका निर्वाचनको मतपरिणाम अनुसार गोरखा २ मा माओवादी केन्द्र पहिलो पार्टी हो । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मत अनुसार उक्त क्षेत्रमा माओवादीले २२ हजार २ सय ५०, नेपाली कांग्रेसले २१ हजार १ सय ३६, एमालेले ७ हजार ९ सय २६, जसपाले ७ हजार ५ सय ४ र राप्रपाले ८ सय ७८ मत प्राप्त गरेको थियो ।

माओवादी एक्लै सो क्षेत्रमा पहिलो स्थानमा छ । एमाले गठबन्धनबाट अन्य दलसँग मिल्दा पनि माओवादीभन्दा पछि हुन्छ । त्यस क्षेत्रमा माओवादीलाई कांग्रेससहितका गठबन्धनका दलहरुको साथ रहेकाले फराकिलो मतान्तरसहित विजयी हुने देखिन्छ ।

सो क्षेत्रमा प्रचण्डसँग प्रतिस्पर्धा गर्न एमालेबाट अब्दुस मियाँले उम्मेदवारी दिएका छन् । उनी केही दिनअघि मात्र एमाले प्रवेश गरेका थिए । जनतामाझ नभिजेका प्रतिस्पर्धी भएपछि प्रचण्डको जित थप सहज बनेको माओवादी नेताहरूको बुझाइ छ ।

लमजुङमा माओवादी तेस्रो शक्ति
लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार देवप्रसाद गुरुङले जित निकाल्न आफ्नै पार्टीको मतले नपुग्ने देखिन्छ । जस्तो गोरखामा प्रचण्डलाई गठबन्धनका साझेदारको मत नआए पनि जित्ने सम्भावना देखिन्छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङको प्रतिस्पर्धा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङसँग हो ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा लमजुङमा एमालेले ४० हजार १ सय ९७, कांग्रेसले ३५ हजार २ सय ७६, माओवादीले ६ हजार १ सय २७, राप्रपाले १ हजार १ सय ८४ र जसपाले १ सय ९० मत ल्याएका छन् । गत स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको नतिजाअनुसार एक्लाएक्लै प्रतिस्प्र्धा गर्ने हो भने एमाले अगाडि छ । तर माओवादी, कांग्रेस गठबन्धनसहित चुनावी मैदानमा छन् ।

एक्लाएक्लैमा एमाले पहिलो
अघिल्लो निर्वाचनमा वाम गठबन्धनबाट विजयी हुँदै मन्त्री बनेका माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल पुनः सांसद बन्ने लक्ष्यसहित बागलुङ २ बाट चुनावी मैदानमा छन् । कांग्रेसलाई हराएर मन्त्री भएका पौडेल अहिले कांग्रेससँगको गठबन्धनबाट चुनावी मैदानमा छन् । उनको प्रतिस्पर्धी एमालेकी मञ्जु शर्मा चालिसे छिन् । चालिसेले गत स्थानीय चुनावमा गल्कोट नगरपालिकाको मेयरमा कांग्रेसबाट बागी उठेर एक्लै ३ हजार ५ सय मत ल्याएकी थिइन् ।

गत स्थानीय निर्वाचनमा उक्त क्षेत्रमा पर्ने पालिकाका वडाध्यक्षले पाएको मत अनुसार एमालेले १९ हजार ३०, कांग्रेसले १७ हजार ७ सय ५१, माओवादीले ९ हजार ७५१, राजमोले ६ हजार ६७८, नेकपा एसले ३८८ मत प्राप्त गरेका छन् । सो निर्वाचनको मतका आधारमा एमाले पहिलो शक्ति हो । माओवादी तेस्रो स्थानमा छ । माओवादीलाई कांग्रेससहितको गठबन्धनको साथ रहँदा एमाले एक्लै छ ।

रोचक प्रतिस्पर्धा
२०७४ को प्रदेशसभा निर्वाचनबाट कास्की ३ ‘क’बाट निर्वाचित भएका माओवादी नेता रामजीप्रसाद बराल ‘जीवन’ अहिले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन् । गण्डकी प्रदेशका अर्थमन्त्री बरालले गएको प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसकी शारदा पौडेललाई २ हजारको मतान्तरले पराजित गरेका थिए ।

कास्की ३ मा बरालका प्रतिस्पर्धी एमालेका दामोदर बैरागी प्रतिस्पर्धाको रुपमा छन् । बराल सत्ता गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवार हुन् । सो निर्वाचन क्षेत्रमा ०७४ सालमा वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार जगत विश्वकर्मा ३२ हजार ६ सय ९० मत ल्याएर विजयी भएका थिए । कांग्रेसका शुक्रराज शर्माले २४ हजार ३ सय ४ मत प्राप्त गरेका थिए ।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उक्त क्षेत्रमा वडाध्यक्षहरुले प्राप्त गरेको मतलाई गठबन्धन भन्दा एमालेको मत केही कम छ । एमालेले वडाध्यक्षमा २६ हजार ८ सय ३९ मत प्राप्त गरेको छ ।

कांग्रेसले २७ हजार ५ सय १६ मत प्राप्त गरेको छ । माओवादीले २ हजार ४ सय ९८ र एकीकृत समाजवादीले ५ सय १ मत प्राप्त गरेका छन् । राप्रपा र अन्य पार्टीको मत क्रमशः १ हजार ४० र २ हजार ४ सय २२ छ ।

पछिल्लो स्थानीय तहको निर्वाचनलाई आधार मान्दा सत्ता गठबन्धन र एमाले अवस्था प्रतिस्पर्धात्मक देखिन्छ । माओवादी पार्टीको तर्फबाट उम्मेदवार भएका बराललाई सो क्षेत्रमा आफ्नै पार्टीको आधार बलियो नहुँदा निर्वाचनमा जित्न चुनौतीपूर्ण हुने देखिन्छ । अर्थात् बराललाई चुनाव जित्न कांग्रेसको भर पर्नुपर्ने देखिन्छ ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया