जलवायु अशान्ति

मानव इतिहासमा राष्ट्र वा राज्य इकाइको अवधारणा जति प्राचीन छ, त्यति नै राज्यहरूबीच द्वन्द्वको इतिहास छ । लगभग सबैजसो महत्त्वपूर्ण सभ्यता र संस्कृतिका कथाहरू वा दन्त्यकथाहरूमा राज्य–राज्यबीचको युद्धलाई महिमापूर्ण ढंगले व्याख्या गरिएको पाइन्छ ।
पश्चिमी सभ्यताको जग मानिएको प्राचीन ग्रिसको संस्कृति र मूल्यहरू जीवित रहन र फस्टाउन सक्षम हुनुमा निर्विवाद रूपमा युद्धहरूको विशेष भूमिका रह्यो । म्याराथनको युद्ध जितेको समाचार सन्देशवाहकले एथेन्ससम्म दौडेर पुर्याएकाले लामो दूरीको दौडलाई म्याराथन भन्ने प्रचलन सुरु भएको मानिन्छ ।
जलवायु संकटले निम्त्याउने विश्वव्यापी खतरामध्येको एक पानीको नियन्त्रण माथिको द्वन्द्व र अशान्तिले निकट भविष्यमै विनाशकारी परिणामहरू ल्याउने निश्चित छ भनेर स्रोतविद्हरूले भनेका छन्
युद्धको इतिहास नबुझी मानव सभ्यताको इतिहासलाई बुझ्न सकिन्न पनि भनिन्छ । युद्ध छेडेर आफ्नो प्रभुत्व फैलाउने र भूगोल कब्जा गर्दै राजनीतिक वर्चस्व कायम राख्ने असंख्य घटनाहरूले प्राचीन सभ्यतालाई आकार दियो । साम्राज्यहरूको निर्माणमा अहम् भूमिका खेलेका युद्धहरू अन्ततः साम्राज्यहरूको पतनका कारण भएका छन् । यद्यपि, प्रागैतिहासिक ढुंगेयुगदेखि आजपर्यन्त मानव जाति कुनै न कुनै र कतै न कतै युद्धमा संलग्न छ । तर के युद्धबिनाको संसार सम्भव छ त ?
मानव–यात्रामा आफ्नै अहंकार
युद्धमा विजय हासिल गर्नुभन्दा महत्त्वपूर्ण शान्तिको व्यवस्थापन हुन्छ भनिन्छ । प्राचीन ग्रिसका प्रसिद्ध दार्शनिक अरस्तुको यो कालजयी भनाइ युद्धपश्चात् शान्तिको आकांक्षा राख्ने प्रत्येक समाजमा उत्तिकै सान्दर्भिक छ । विश्व इतिहास आफैं प्रायः सबै कालखण्डमा मानव जातिले बेहोरेको युद्धहरूको साक्षी छ ।
पश्चिमी दर्शनका प्रणेता सुकरात र अरस्तु जन्माएको र मानवतालाई लोकतन्त्रको विचार दिएको ग्रिक सभ्यता आफैं आन्तरिक द्वन्द्व र राज्य–राज्यबीचको युद्धहरूका कारण अन्ततः पतन भयो । लोककल्याणकारी राज्यको अवधारणा र सार्वजनिक विषयहरूमा जनतालाई सुसूचित गर्ने परम्पराको प्रवर्तक रोम साम्राज्य आफैं उत्कट सैन्य महत्त्वाकांक्षा र युद्धहरूका कारण अन्त्य भयो ।
संसारका करिब सबैजसो धार्मिक परम्पराले शान्तिपूर्ण सहअस्तित्वलाई जोड दिँदै युद्ध, हिंसा र आक्रामकताको निन्दा त गर्छन् । मान्छे स्वभावैले शक्ति सञ्चय गर्न र प्रभाव विस्तार गर्न चाहने हुनाले महत्त्वाकांक्षाकै कारण युद्धमा होमिन चाहने विचारका आधारमा युद्ध र द्वन्द्वको औचित्य प्रमाणित गर्न चाहन्छ ।
उसो त, पूर्वीय संस्कृति, साहित्य, कला, धर्म, राजनीतिक व्यवस्था, नैतिक मूल्यमान्यता, कानुन, दर्शन आदि बहुआयाममा गहिरो प्रभाव राख्ने रामायण र महाभारत युद्धकै कथामा आधारित महाकाव्य भइहाले ।
प्राचीनकालदेखि युरोपेली ज्ञानोदय हुँदै विज्ञान र तर्कको युगसम्म आइपुगेको मानव–यात्रा आफ्नै अहंकारका कारण हिरोसिमा र नागासाकीको नरसंहारमा टुंगियो । युद्धहरूले निम्त्याउने हिंसा–प्रतिहिंसाको दुष्चक्र, अन्तहीन पीडा र विध्वंसका बारेमा जान्दाजान्दै पनि सभ्य कहलिएको मानव–जाति किन युद्धमा होमिन चाहन्छ त ?
गान्धी र बुद्ध प्रकृतिप्रेमी
बेलायती उपनिवेशविरुद्ध भारतमा अहिंसात्मक आन्दोलनलाई सफलतापूर्वक प्रयोग गरेका महात्मा गान्धीको एउटा उद्धरण यहाँ सान्दर्भिक ठानेको छु । ‘पृथ्वीमा रहेका सबैको आवश्यकता पूरा गर्न यस धर्तीमा पर्याप्त स्रोत छ तर सबैको लोभ तृप्त गर्न छैन ।’
दोस्रो विश्वयुद्धताकाको गान्धीको यो कथन यतामात्रै स्रोतमा हालिमुहाली र आफ्नो वर्चस्व बिस्तार गर्न शक्तिराष्ट्रहरू दर्जनौंपटक युद्धमा होमिएका छन् । अस्पष्ट र गुप्त कार्यसूची लिएर लोक रिझाउने यद्यपि प्राकृतिक स्रोतमाथि नियन्त्रण गर्ने अभिप्रायले शक्ति राष्ट्रहरूले कमजोर राष्ट्रहरूमाथि आक्रमण गरिरहे र गर्दैछन् ।
आधुनिक जीवनशैलीका मागहरू पूर्ति गर्ने क्रममा सीमित हुँदै गएका स्रोत र साधनमाथि बलियाहरूको यही प्रवृत्तिप्रति गान्धीले इंगित गरेका हुन् । जुन जलवायु संकटको बढ्दो चिन्ताजनक समयमा अझै सान्दर्भिक हुँदै गएको पाइन्छ ।
औपनिवेशिक शक्तिहरूले कमजोर मुलुकको स्रोत र साधनमाथिको दोहनलाई नजिकबाट नियालेका गान्धीले पृथ्वीको सीमित संशाधनलाई हिंसात्मक द्वन्द्वको जडका रूपमा व्याख्या गरेका छन् ।
गान्धीले २५ सय वर्षअघि बुद्धले जस्तै प्राकृतिक संशाधनमाथि मान्छेको लेनदेनका विषयमा न्यायसंगत दृष्टिकोण राख्थे । गान्धी उपनिवेशका आलोचक मात्र थिएनन्, आफ्नो समयका पर्यावरण अभियन्ता पनि थिए । युवा उमेरमा गान्धीमा अमेरिकी कवि र पर्यावरण अभियन्ता हेनरी डेभिड थोरोको गहिरो प्रभावले उनमा पर्यावरणलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्यायो ।
शक्तिको रजगजमा रमाइरहेकाहरूको सधैंं तारो बनेका विद्रोही स्वभावका थोरो जीवनको अधिकांश समय प्रकृति नजिकै बिताए । पूर्वीय आध्यात्मिक परम्परा र बुद्धप्रति आकर्षित थोरो भद्र–अवज्ञा विचारका प्रणेता हुन् । थोरो र उनको पर्यावरण अभियानबारे अमेरिकाको पाठ्यक्रमहरूमा अनिवार्य पढाइन्छ ।
रोहिणीको पानी र मध्यस्थकर्ता बुद्ध
बौद्ध धर्मग्रन्थहरूमा लेखिएअनुसार रोहिणी नदी बौद्ध परम्परामा पवित्र र श्रद्धा गरिने नदीमध्येको एक हो । बुद्धका समयमा शाक्यहरूको राज्य कपिलवस्तु र कोलियाहरूको राज्यलाई यही रोहिणी नदीले छुट्ट्याएको थियो । कपिलवस्तु र कोलिया दुवै राज्यले रोहिणी नदीको पानी उपयोग गरेर सिँचाइ र खेती गर्थे ।
लामो खडेरीका कारण कुनै वर्ष रोहिणी नदीमा पानीको अभावले संकट आई परेपछी खोलानजिकै निर्माण गरिएको बाँधको पानी बाँडफाँटलाई लिएर दुई राज्यबीच विवाद सुरु भयो । विवाद चर्किंदै गएपछि कपिलवस्तु र कोलिया राज्य रोहिणीको पानीका लागि युद्धको तयारीमा पुगे ।
रोहिणी विवादमा कपिलवस्तु अधिराज्यका शक्तिशाली राजकुमार सिद्धार्थ गौतमले युद्धको साटो रोहिणी नदीको पानीलाई दुवै पक्ष राजी हुने गरी मध्यस्थकर्ताको भूमिका खेले । राजकुमार सिद्धार्थले रक्तपातपूर्ण युद्धले केवल पीडा मात्रै निम्त्याउने हुँदा कपिलवस्तु र कोलियालाई अहिंसात्मक मार्ग पहिल्याइदिए । सिद्धार्थको त्यो अद्भुत द्वन्द्व–व्यवस्थापन शैलीले उनीमा बुद्धत्व प्राप्त गर्न सहज भएको मानिन्छ । सीमित प्राकृतिक स्रोतको न्यायोचित मध्यमार्गी बाटो थियो, रोहिणीको घटना ।
कालिङको युद्ध र रक्त–पिपासु सम्राट्को अहिंसावादी यात्रा
ऐतिहासिक तथ्यहरूका आधारमा युद्धका कारण कुनै एक व्यक्तिको हृदय परिवर्तनले मानव सभ्यताले नै नयाँ मार्ग पहिल्याएको उदाहरण कालिङको युद्ध नै हुनुपर्छ । प्राचीन भारतको इतिहासमा सबैभन्दा रक्तपातपूर्ण युद्ध सम्राट् अशोकका पालामा उनको अधिनमा रहेको मौर्य साम्राज्य र कालिङ राज्यबीचको भएको मानिन्छ ।
भारतको मौर्य वंशका अन्तिम ऐतिहासिक सम्राट् अशोक भारतीय उपमहाद्विपका शक्तिशाली शासकमध्येका एक थिए । स्रोतले भरिपूर्ण दक्षिणपूर्वी एसियासँगको व्यापारिक मार्गहरू नियन्त्रण गर्ने कालिङ राज्यको स्रोतमाथि नियन्त्रण गर्न सम्राट अशोकले आफ्नो विशाल सेना युद्ध छेडे । सम्राट् अशोकको अर्जुनदृष्टि कालिङको सैन्यशक्ति र भौतिक समृद्धिमा थियो र उनी मौर्य साम्राज्यलाई फैलाउन चाहन्थे ।
सम्राट् अशोकको विस्तारवादी नीति र कालिङको स्रोतपूर्ण र रणनीतिक अवस्थिति माथिको धावाले लाखौंंको ज्यान लिएको थियो भने थप लाखौंं अंगभंग भएका थिए । स्रोत र प्रभाव विस्तारको अभिप्रायले लडिएको कालिङको युद्धले जन्मिएको पीडाले विचलित सम्राट् अशोकमा पारेको प्रभावले अन्तत्वोगत्वा उनलाई आफ्नो तरबार त्याग्न र अहिंसा र धर्मको मार्ग अनुसरण गर्ने मार्गमा पुर्यायो ।
कालिङको युद्धमा विजय प्राप्त गरेका शक्तिशाली सम्राट् अशोकले अन्ततः बौद्ध धर्म अँगाले । आफ्ना प्रजाहरूलाई मात्र मानवीय व्यवहार गरेनन् कि जनावरहरूलाई समेत करुणा दर्शाए । बुद्धको सन्देशलाई पुनर्जागरण गरी संसारभर विस्तार गर्ने काम पनि उनै सम्राट्ले गरे ।
‘वाटर वार’को भय र जित्न सकिने युद्ध
बुद्धकालीन समयमा रोहिणी नदीको पानीको विषयलाई लिएर शाक्य र कोलिया अधिराज्यबीचको झन्डै रक्तपातपूर्ण युद्धमा अघि बढेको द्वन्द्वबाट हामी बाँचिरहेको समयलाई नियालौं । जैविक संरचनाको अत्यन्त महत्त्वपूर्ण पक्ष पानी र यसको अभावले निकट भविष्यमा निम्त्याउने गम्भीर समस्याहरूबारे वैज्ञानिकले चेतावनी दिँदै आएका छन् ।
जलवायु संकटले निम्त्याउने विश्वव्यापी खतरामध्येको एक पानीको नियन्त्रण माथिको द्वन्द्व र अशान्तिले निकट भविष्यमै विनाशकारी परिणामहरू ल्याउने निश्चित छ भनेर स्रोतविद्हरूले भनेका छन् । विभिन्न मुलुकमा बाँध विवाददेखि अनिकाल र खडेरीले पानीको स्रोतमाथि नियन्त्रणले जलवायु संकटलाई तीव्रता दिने निश्चित प्रायः छ ।
तपाईको प्रतिक्रिया