आदिवासीको चुनावी कमिटी

पोखरा ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल कास्कीले बुधबार आसन्न आम निर्वाचनको सन्दर्भमा ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । महासंघको विस्तारित भेलाले अध्यक्ष गणेश श्रेष्ठको संयोजकत्वमा कमिटी गरेको सचिव रमेश गुरुङले जानकारी दिए ।
भेलाले प्रतिनिधि सभातर्फ कास्कीको तीन निर्वाचन क्षेत्रका लागि आवश्यक व्यवस्थापन गर्न संयोजक तोकेको छ । कास्की क्षेत्र नम्बर १, २ र ३ को संयोजकमा क्रमशः विनु गुरुङ, मदनकुमार मुल्मी र विष्णुकुमार गुरुङ छन् ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष मीनाकुमारी गुरुङले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा (एमाले)का उम्मेद्वारलाई जिताउन सक्रियतापूर्वक लाग्न निर्देशन दिइन् । उनले सबै आदिवासी जनजाति सचेत र संगठित भएर राजनीतिमा लाग्न आग्रह गरिन् ।
‘पार्टी राजनीति गरेका सबैले अवसर पाएका छैनन् । मैले टिकट पाइनँ भनेर सानो मन गर्ने होइन,’ उनले भनिन्, ‘मिसन मंसिर ४ मा एमालेका उम्मेद्वारलाई जिताउन सबै आदिवासी, जनजाति एकतावद्ध भएर लाग्ने हो ।’ उनले आर्थिक समाजिक र सांस्कृतिक रुपमा पिछडिएका समुदायको सशक्तीकरण गरी राष्ट्रिय मुल प्रवाहमा ल्याउने एजेन्डालाई अगाडि बढाउने उल्लेख गरिन् ।
गण्डकी प्रदेश सभाका समानुपातिकतर्फका उम्मेद्वार डा छममाया पुनले अहिलेको निर्वाचनमा पार्टीले आदिवासी जनजातिलाई उचित स्थान दिएकाले प्राप्त अवसरको सदुपयोग गर्ने विशेष ध्यान दिने बताइन् । बुद्धिजीवी हुमबहादुर गुरुङले प्रत्यक्षतर्फ कास्कीका ९ प्रतिनिधि तथा प्रदेश सभा सदस्यमध्ये ४ गुरुङ समुदायलाई स्थान दिएको उल्लेख गरे ।
उनले पार्टीको हरेक वडा कमिटीसँगको समन्वयमा टोल कमिटी तथा जनसंगठनसँगको सहकार्यमा आधारभूत तहसम्म मसिनो ढंगले काम गर्न सुझाव दिए । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल गण्डकी अध्यक्ष सुजन तामाङले आदिवासी, जनजातिका अधिकार सुनिश्चित गर्न महासंघ गठन भएको बताए । उनले सबै आदिवासी जनजातिलाई सचेत र संगठित गरी राजनीतिक प्रतिनिधित्व बढाउन ध्यान दिने जानकारी दिए ।
आदिवासी जनजाति महासंघ नेपालका केन्द्रीय सदस्य तथा कास्कीका सहइन्चार्ज ओम गौचनले पार्टीका जनसंगठनमध्ये महासंघ अब्बल भएर चुनावी मोर्चामा खट्ने बताए । नेकपा (एमाले) पोखरा ८ का अध्यक्ष अर्जुन श्रेष्ठले सबै आदिवासी जनजातिले मातृ भाषामार्फत आफ्नो आफ्नो समुदायमा पुगेर पार्टीको पक्षमा चुनावी महौल बनाउपर्ने सुझाव दिए ।
तपाईको प्रतिक्रिया