एमाले सरकार बनेपछि वृद्धभत्ता वृद्धिः भट्टराई

समाधान संवाददाता २०७९ कार्तिक १७ गते १३:१९

पोखरा ।
नेकपा एमाले केन्द्रीय सदस्य एवं कास्की निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार विद्या भट्टराई अधिकारीले विकास, नर्माणको निरन्तरताका लागि आफ्नो उम्मेदवारी भएको बताएकी छन् । ज्येष्ठ नागरिकलाई मासिक ५ हजार सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरे पनि बीचमै सरकार ढलेपछि अवरोध भएको बताउँदै उनले मंसिर ४ गतेपछिको बन्ने एमालेको सरकारले सबै खाले भत्तामा वृद्धि गर्ने आश्वासन दिइन् ।

पोखरा १६ स्थित पर्यटकीय स्थल अर्मलाकोटमा भएको घरदैलो कार्यक्रममा उनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माणमा जुट्ने प्रतिवद्धता गरिन् ।
दुःखको अवस्थामा उपनिर्वाचनमा यस क्षेत्रका मतदाताले विजयी गराएको स्मरण गर्दै उनले सडक, शिक्षा, स्वास्थ्य, पर्यटन पूर्वाधार निर्माणका अधुरा काम पूरा गर्नका लागि पुनः उम्मेदवार बनेको स्पष्ट पारिन् ।

कास्की २ (२)की उम्मेदवार मीना गुरुङले ऐतिहासिक एवं पर्यटकीय क्षेत्र अर्मलाकोटमा सांस्कृतिक ग्राम निर्माण गर्ने प्रतिवद्धता जनाइन् । गण्डकी प्रदेश सभामा समानुपातिक सांसदको भूमिका निर्वाह गरिसकेकी उनले यस क्षेत्रको अधुरा विकास निर्माणका काम पूरा गर्न प्रत्यक्ष उम्मेदवारका रुपमा उपस्थित भएको जनाइन् ।

Advertisement

कर्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले कास्कीका कार्यवाहक अध्यक्ष तेजनारायण अधिकारी, खेलप्रेमी तेजबहादुर गुरुङ, एमाले १६ का अध्यक्ष राजेन्द्र गुरुङ, निवर्तमान वडाध्यक्ष जीवन आचार्य, यमनकाजी गुरुङ लगायतले बोलेका थिए ।
प्रतिनिधि सभा सदस्य उम्मेदवार भट्टराईले बुधबारै पोखरा १५ स्थित ढुंगेसाँघुमा पनि घरदैलो गरेकी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया