सम्पादकीयः निर्वाचन आचारसंहिताको पूर्ण पालना गर

आम निर्वाचनको लागि उम्मेद्वार तथा राजनीतिक दलहरुले प्रचार प्रसारको दोस्रो चरण सुरु गरेका छन् । निर्वाचन आचारसंहिता (२०७९) ले निर्वाचन हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र राजनीतिक दलले प्रचार प्रसार गर्न व्यवस्था गरेको छ ।
त्यसका आधारमा दलहरूले कात्तिक १७ गतेदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न नपाउने ऐनमा व्यवस्था छ । पहिलो चरणमा घरदैलो, कार्यालय उद्घाटन तथा आन्तरिक कार्यक्रममा सिमित थिए ।
उम्मेद्वारले दोस्रो चरणमा यसअघि आचारसंहिताले बन्देज लगाएका कतिपय प्रचारप्रसारका शैली अपनाउन पाउने छन् । आयोगले तोकेको समय सुरु भएपछि निर्वाचन आचारसंहिता अनुसार कात्तिक १७देखि मंसिर १ सम्म दलहरुले प्रचार प्रसार गर्न पाउछन् ।
खुल्ला रुपमा बाहिरी प्रचार प्रसार अभियानको सुरुवात गरी सकेका छन् । आगामी मंसिर १ गतेदेखि भने निर्वाचनको मौन अवधि सुरु हुने छ । प्रचारप्रसारको दोस्रो चरण सुरु भएसँगै आफ्ना चुनावी गतिविधिलाई अझ व्यापक पार्न लागेको छन् । सोही अनुसार दलहरूले आमसभा, जुलुस र कोणसभा गर्न थालेका छन् ।
सत्ता गठबन्धन तथा प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले)ले सुदुर पश्चिमबाट चुनाव प्रचार प्रसार थालेका छन् । अब पत्रपत्रिका, अनलाइन वा सामाजिक सञ्जालमा दल तथा उम्मेद्वारले विज्ञापन गर्न समेत पाउनेछन् ।
पहिलो चरणमै आयोगमा विभिन्नखाले आचारसंहिता उल्लंघनका उजुरीहरू परेका छन् । निर्वाचन आचारसंहिताको देशैभरि र लगातार उल्लंघन भइरहेका छन् । आचारसंहिताले तत्कालका लागि रोक लगाएका र निश्चित मितिपछि मात्र गर्न पाइने भनेका गतिविधिहरू गरेको कारण कात्तिक १२ देखि यता आचारसंहिता उल्लंघन गर्ने ७१ संस्था र व्यक्तिलाई आयोगले स्पष्टीकरण सोधेको छ ।
सिमित तथा आन्तरिक गतिविधिमात्र गर्न पाउने पहिलो चरणमा आचासंहिताको उल्लंघनका घटना बढेको कारण दोस्रो चरणको निर्वाचन प्रचार संयमित र व्यवस्थित गर्न आयोगले दल तथा उम्मेद्वारलाई आग्रह गरेको छ ।
खुल्ला तथा वाहिरी प्रचार प्रसार अभियानमा आचारसंहिताको उल्लंघन झन बढी हुनसक्ने भएकोले कडा निगरानी गर्ने प्रतिक्रिया दिएको आयोगले आचारसंहिताले तोकेभन्दा बाहिर गएर कुनै पनि कार्यक्रम गरेको पाइएमा उम्मेदवारी खारेजीसम्मको कारबाही हुनसक्ने चेतावनी समेत दिएको विवरण सार्वजनिक भएको छ ।
नेपालका प्रमुख दलहरुको सहमतिमा निर्वाचन आचारसंहिता बनेको हो । त्यसैले दलहरुले आचारसंहिता विपरीतका गतिविधि गर्न मिल्दैन । राजनीतिक दल तथा सरोकारवालाहरु सबैले निर्वाचन आयोगले जारी गरेको आचारसंहितको पूर्ण रुपमा पालना गर्नु आवश्यक छ ।
निर्वाचन सम्बन्धी कानुन तथा आचारसंहिताको जती बढी परिपालना हुन्छ, त्यति नै बढी निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित हुने भएकोले राजनीतिक दल तथा सरोकारवाला जिम्मेवार र जवाफदेही बन्न पर्छ ।
तपाईको प्रतिक्रिया