मस्तिष्क पक्षघात भएकाहरुलाई विशिष्ट तालिम

समाधान संवाददाता २०७६ वैशाख १५ गते १३:०५

समाधान संवाददाता, पोखरा

मस्तिष्क पक्षघात भएका बालबालिकालाई लक्ष्य गरी विशिष्ट तालिम पोखरामा सम्पन्न भएको छ । मस्तिष्क पक्षघात भएका बालबालिकालाई लक्ष्य गरी बोल्ने, खाने र सञ्चारको निम्ति दिने विशिष्ट तालिम प्रदान गरिएको हो ।

एडलेन्टे नेदरल्यान्डको प्राविधिक सहयोग र ग्रीन पास्चर हस्पिटक पोखराको संयोजनमा सम्पन्न तालिममा नेपालभरका २८ जना प्राविधिकको सहभागगिता थियो । उक्त कार्यक्रममा पोखरा र आसपासका १० जना मस्तिष्क पक्षघात भएका बालबालिका र उनका अभिभावकको समेत सहभागिता थियो ।

Advertisement

वैशाख ९ देखि सञ्चालन भएको उक्त तालिमको शुक्रबार समापन भएको हो । तालिम समापन समारोहमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले मस्तिष्क पक्षघात बालबालिकामा देखिने एक प्रकारको समस्या भएको र उक्त समस्याको समाधानबारे उनीहरुको अभिभावकलाई समेत थाहा नभइरहेको सन्दर्भमा नेदरल्यान्डबाट आएर प्रशिक्षण प्रदान गरी केही हद सम्म यस्ता बालवालिकाको सिकाइ, खुवाइ र बोल्न प्रदान गरिएको तालिम अत्यन्तै राम्रो तालिम भएको बताउँदै तालिममा सिकेका सीपलाई ब्यवहारमा उतार्न समेत आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी बुढाले मस्तिष्क पक्षघात एक किसिमको समस्या भएकाले उनीहरुको समस्यालाई समाधान गर्न आयोजना गरिने यस्ता तालिमलाई आगामी दिनमा पनि सरकारी निकायहरुसँग सहकार्य गरी आयोजना गर्नसमेत आग्रह गरे ।

Advertisement

त्यस अवसरमा बोल्दै मस्तिष्क पक्षघात भएका बालकका अभिभावक सरु अधिकारीले आफूहरुले ५ दिने तालिमबाट धेरै कुराहरु सिक्ने मौका पाएको र तालिममा सिकेका कुरालाई व्यवहारमा उतारेर आगामी दिनमा यस्ता समस्यामा परेकाहरुको समस्या समाधान गर्नतर्फ लाग्ने समेत बताइन् ।

तालिममा सहभागी बाल विशेषज्ञ डाक्टर दुर्गा कर्माचार्यले आफूहरु बालरोगको क्षेत्रमा कार्यरत रहेता पनि यस्ता किसिमको तालिम नलिएको र ५ दिनको तालिमले आफ्नो क्षमता अभिवृद्धि गर्न टेवा पुगेको बताउँदै मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि आफूले निकट भविष्यमा काम गर्न तत्पर रहेको समेत बताइन् ।

त्यस अवसरमा एडलेन्टे नेदरल्यान्डका सेसानिनले मस्तिष्क पक्षघातलाई विशेष गरी फिजियो थेरापीको माध्यमबाट समाधान गर्न सकिने प्रस्तुति राखेकी थिइन् भने अर्का प्रस्तुतकर्ता मार्जाेले नेपालमा त्यसमा पनि पर्यटकीय सहर पोखरामा पहिलोपटक मस्तिष्क पक्षघाटको बारेमा विशिष्ट प्रकारको तालिम प्रदान गर्न पाउँदा निकै खुसी लागेको बताउँदै आगामी दिनमा पनि यस्ता तालिमलाई समयअनुकुल मिलाएर निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

५ दिन सम्म सञ्चालन भएको तालिममा गोर्खा, जनकपुर, बुटवल, धरान, काठमाडांै, पोखरा र स्याङजाका फिजियोथेरापी, स्पीच थेरापी र अकुपेसनल थेरापीमा कार्यरत प्राविधिक तथा डाक्टरहरु गरी २८ जनाको सहभागिता थियो । तालिममा नेदरल्यान्डका मार्जाे, सेसानिन, मोच्ली र चेन्टलले सहभागीलाई सहजीकरण गरेकी थिइन् । कार्यक्रममा सहभागीहरुलाई ग्रीन पास्चर हस्पिटल पोखराका सामुदायिक निर्देशक डाक्टर बुद्ध थापाले धन्यवाद व्यक्त गरे ।

हरियोखर्क हस्पिटलका प्रमुख फिजियोथेरापिस्ट डाक्टर खड्गसिंह गुरुङले सञ्चालन गरेको कार्यक्रममा हरियोखर्क हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने पत्रकार एमबी आस्थाले समेत बोलेका थिए ।

तपाईको प्रतिक्रिया