एमाले कास्की २ को प्रतिवद्धता: रिङ रोडदेखि सुरुङमार्गसम्म

पोखरा ।
सार्वजनिक शिक्षालाई प्राविधिक र व्यवहारिक बनाउन एमालेले सरकारी विद्यालयलाई प्राविधिकमा रुपान्तरण गर्ने नीतिअघि सारेको छ । सरकारीलाई प्राविधिक शिक्षालयमा रुपान्तरण गर्न पहल गर्ने एमाले कास्की कार्यवहाक अध्यक्ष तेजनारायण अधिकारीले बताए ।
पार्टीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी कास्की क्षेत्र नम्बर २ ले शनिबार आयोजना गरेको प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा उनले सबै सामुदायिक विद्यालय र क्याम्पसको आवश्यक भौतिक पूर्वाधारस्तरोन्नति गर्दै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न पहल गर्ने उनले बताए ।
एमाले गण्डकी प्रदेश कमिटी उपसचिव तथा प्रतिवद्धतापत्र निर्माण उपसमिति संयोजक रश्मि आचार्यले व्यवसायिक शिक्षा र प्रविधिको विकासलाई प्राथमिकतामा राखेको जानकारी दिए । ‘सार्वजनिक शिक्षामा लगानी वृद्धि गरी गुणस्तरीय र प्रतिस्पर्धी बनाइनेछ ।
सरकारी विद्यालयलाई क्रमशः प्राविधिक विद्याालयमा रुपान्तरण गरिनेछ,’ उनले भने, ‘निशुल्क रुपमा शिक्षा र स्वास्थ्य प्राप्तिको नागरिकको अधिकारलाई सुनिश्चित गर्ने पार्टीको योजना छ ।’
उनले पार्टीको नेतृत्वमा बनेको गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालय र अन्य शैक्षिक संस्थामा आवश्यकता अनुसार पर्यटन, कृषि, तथा वन, स्वास्थ्य, इन्जिनियरिङ र सुचना प्रविधि, संगीत, खेलकुद सौन्दर्यशास्त्र जस्ता नयाँ विधाका प्राविधिक र व्यवसायीक कार्यक्रम सञ्चालन गर्ने जनाए ।
प्रतिवद्धतापत्रमा वन विज्ञान अध्ययन संस्थानलाई थप विकास गरी समग्र हिन्दुकुश हिमालय क्षेत्रको वन, वन्य जन्तु जैविक विविधता, पर्यापर्यटन र वातावरणको अध्ययन अनुसन्धान गर्ने मानित विश्वविद्यालय विकास गर्न आवश्यक पहल गर्ने उल्लेख छ ।
कार्ययोजनामा भूमिहीन, उत्पीडित एवं विपन्न वर्गको पहुँच पुग्ने गरी शिशु स्याहार केन्द्रदेखि बाल विकास केन्द्रको कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । एमालेले पोखरालाई पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न पहल गर्ने भएको छ । पर्यटन प्रवद्र्धन र पूर्वाधारको विकासमार्फत पोखराको पर्यटन सामर्थलाई पूर्ण उपयोग गर्ने नीति एमालेले लिएको छ ।
निर्वाचन क्षेत्र परिचालन कमिटी संयोजकसमेत रहेका कार्यवहाक अध्यक्ष अधिकारीले कृस्ती, निर्मलपोखरी, भरतपोखरी डाँडाको धुरी (मट्टीखान हुँडीकोट)मा पर्यटकीय आकर्षणको रिजलाइन रेल सेवा सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने जानकारी दिए । प्रतिवद्धतापत्रमा पोखराको वाह्य घेरामा रहेका वडालाई व्यवस्थित, आधुनिक सहरको रुपमा विकास गर्न महानगरीय विकासको अवधारणा निर्माण गरी समताममूलक र समन्यायिक विकासमा जोड दिने उल्लेख छ ।
पर्यटक आवागमन सहज गर्न पोखराबाट खैरेनीटार, भिमाद, कावासोतीबाट मधेस जोड्ने फास्टट्रयाक निर्माण गर्ने प्रतिवद्धतामा उल्लेख छ । प्रदेशको आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्न स्वदेशी र विदेशी पंँजीलाई आकर्षित गर्ने नीति लिएको एमालेले पोखरा ३३ पुँडीटारको प्रस्तावित प्रदेश औद्योगिक विकास क्षेत्रलाई अत्याधुनिक पूर्वाधारसहित विस्तार र व्यवस्थित गर्ने संकल्प गरेको छ ।
प्रतिवद्धतापत्रमा अर्मला, मौजा, काहुँ भरतपोखरी, निर्मलपोखरी, भलाम, कृस्ती लगायतका स्थानमा फलफूल खेती, नगदेवाली संरक्षण र विकासका लागि पकेट क्षेत्र घोषणा गरी उत्पादनलाई प्रोत्साहन गर्ने उल्लेख छ । मौजामा बाख्रापालनको पकेट रुपमा विकास गर्ने र अर्मलाको लेकमा जडिबुटी खेतीदेखि वनपैदावारको सम्भावना खोजिने भएको छ ।
आधारभूत तहको स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने नीति लिएको एमालेले स्वास्थ्य चौकीबाट स्वास्थ्य बिमाको चलाउने वाचा गरेको छ । पोखरा १६ को मातृशिशु मितेरी अस्पताल र पोखरा १७ को हिमालय आँखा अस्पताल स्तरोन्नति, हरियोखर्क अस्पतललाई सामुदायिक र सरकारी साझेदारीमा प्रादेशिक अस्पतालको रुपमा रुपान्तरण गर्न पहल गर्ने एमालेको योजना छ ।
स्थानीय सरकारसँगको समन्वयमा भूमिहीनको समस्या हल गर्ने योजना एमालेले अघि सारेको छ । पोखरा उपत्यकामा चक्रपथ निर्माण र आवश्यक स्थानमा सुरुङ मार्गको सम्भाव्यता अध्ययन प्रतिवद्धतामा उल्लेख छ । पोखराको मुख्य बजार क्षेत्रबाट सबै वडा जोड्नका लागि थप मोटरेवल पुल तथा सडक निर्माणमा ध्यान दिने एमालेले जनाएको छ ।
पोखराको ट्राफिक जामलाई मध्यनजर राख्दै एमालेले लेखनाथको लामेआहालदेखि बागमारा हुँदै छोरेपाटनसम्म वाइपास रोड निर्माणमा जोड दिएको छ । कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेद्वार विद्या भट्टराईले प्रतिवद्धतापत्र अनुसार नीति तथा कार्यक्रम ल्याउने जानकारी दिइन् । उनले सामाजिक सुरक्षा कार्यक्रम अनुसार महिला सशक्तीकरण गर्नेदेखि ज्येष्ठ नागरिकको दिवा सेवा केन्द्र खोल्ने योजना सुनाइन् ।
तपाईको प्रतिक्रिया