सम्पादकीयः वडाध्यक्षका जस्तै आश्वासन बाड्दै उम्मेदवार

समाधान संवाददाता २०७९ कार्तिक २० गते ११:५८

अहिले देशैभर चुनावी माहोल छ । घरदैलोमा पटक–पटक सांसद भएका, त्यो पदको आकांक्षा राख्दै चुनाव लडेका अनुभवीदेखि नयाँ अनुहार पनि मत माग्न आइरहेका छन् । धेरै उम्मेदवार दलका छन् भने केही स्वतन्त्र छन् । एकाध बागी पनि मत मग्दै छन् ।

Advertisement

प्रतिनिधि सभा–प्रदेश सभा सदस्य बन्दै देशको मुहार बदल्नेदेखि विकसित मुलुक बनाउने सपना उनीहरु बाँडिरहेका छन् । एकाधबाहेक सबैको कुरा सुन्दा लाग्छ, सांसद भनेको विकासको खुद्रा पसले हो, जसले भकाभक योजना बड्न सक्छ ।

सांसदलाई विधायिका पनि भनिन्छ । उनीहरुको खास काम ऐन, कानुन बनाउनु हो, देशले आवश्यकता महसुस गरे संविधान नै संशोधन गर्नु हो, व्यवस्थामै परिमार्जन गर्नु हो । तर मतदातालाई आश्वासनका पोका बाड्नु, विकासको ठेक्का लिनु र विकासका अनेक योजना बनाउनु हुँदै होइन ।

अब मतदाताले नै आश्वासनका पोका बाँड्ने उम्मेदवारलाई सम्झाउनुपर्ने बेला आएको छ । स्थानीय तहको विकास गर्ने संघ वा प्रदेश सांसदको काम होइन । जनप्रतिनिधिको अधिकार र काममा सांसदले हस्तक्षेप गर्नु हुँदैन । सांसदको काम राज्यका अंगलाई कामकाजी र प्रभावकारी बनाउन भूमिका खेल्नु हो ।

स्थानीय विकासका मामलामा वडाध्यक्षसँग प्रतिस्पर्धा गर्ने सांसद जनताले खोजेका होइनन् । अहिले पहिला सांसद भइसकेका हुन् वा पहिलो पटक चुनावी मैदानमा भएकाहरु हुन्, बाटो, पुल बनाइदिने आश्वासन बाँडिरहेका छन् । मन्दिर, आमा समूहलाई बजेट दिने, तालिमका कार्यक्रम चलाउने, अनुदान दिने वाचा गरिरहेका छन् ।

Advertisement

अब हाम्रो घर, आँगनमा आउने सांसदका उम्मेदवारसँग मतदाताले सरकार प्रभावकारी बनाउने खाका, संविधान, कानुनमा भएका कमजोरी, ती कमजोरी सुधार्ने प्रतिवद्धता र योजना खोज्नु जरुरी छ । अनुभवीदेखि नयाँ अनुहारसम्मसंसद् र संसदीय भूमिकाबारे अनभिज्ञ देखिन्छन् ।

अहिले देशमा ३ तहका सरकार छन् । उनीहरुका साझा कार्यसूची र फरक फरक र अलग अलग अधिकार छन् । उम्मेदवारहरुमा संसद्, प्रदेश र स्थानीय तहलाई प्राप्त संवैधानिक अधिकार र कर्तव्यबारे जानकारी नपाउनेको भीड देखिएको छ । एकाध जानकारी हुनेहरु पनि मतदातालाई प्रभावमा पार्न अनेक आश्वासन दिनै लागेको देखिन्छ ।

सांसद भनेका विधि निर्माता हुन् । सांसदको काम असल कानुन निर्माणदेखि खराब शासकीय वृत्तका पात्रमाथि निगरानी राख्दै त्यसमा परिवर्तन गर्न भूमिका निर्वाह गर्नु हो । सांसदहरु विकास बजेट माग्न स्थानीय तह र मन्त्रालय धाउँदा संसद बैठक कोरम नपुगेर स्थगित भएको देखिएको छ ।

असम्भव र अधिकार क्षेत्र बाहिरका आश्वासन बाड्नुभन्दा आफ्नै कार्यक्षेत्रबारे जनतालाई बुझाउँदै मत माग्नु उम्मेदवारको कतव्य हो । धेरै यो कर्तव्यबाट विमुख देखिएका छन् । यतातिर उम्मेदवारको ध्यान जाओस् ।

तपाईको प्रतिक्रिया