आत्मनिर्भर अर्थतन्त्र हुँदै समाजवाद

पोखरा ।
पाँच दलीय गठबन्धनका साझा उमेदवारले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै समाजवादका आधार तय गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । कास्कीको निर्वाचन क्षेत्र नं. २ को तर्फबाट चुनावी मैदानमा उत्रिएका गठबन्धनका साझा उमेदवारले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समाजवादका आधार तय गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।
उनीहरूको प्रतिबद्धता पत्रमा भनिएको छ, ‘निर्वाचनपश्चात् सरकार बनाई लोकतन्त्रलाई संस्थागत गर्दा राष्ट्रिय स्वाभीमान, संविधानको रक्षा र स्थिरता, आर्थिक सामाजिक रूपान्तरण र समृद्धि ल्याउन विकास निर्माणको योजना प्रणालीमा आमूल परिवर्तन ल्याई आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी समाजवादका आधारहरू तय गरिनेछन् ।’
जनमुखी कानुन निर्माण, कृषि उत्पादनमा वृद्धि, युवालाई देशभित्रै रोजगारी सृजना सत्ता गठबन्धन कास्की २ को प्रतिवद्धता
भ्रष्ट्राचारमा शून्य सहनशीलताका आधारमा सुशासन र प्रभावकारी सेवा प्रदान गर्ने, सेवा सुविधामा आम नागरिकको पहुँच वृद्धि र केन्द्रीकृत अधिकारको विकेन्द्रीकरण लगायतमा गठबन्धनका उमेदवारले विशेष पहल गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।
प्रदेश सरकार र स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउने, राष्ट्रिय हितको नीति तथा योजना तय गरी सबै पक्षलाई राष्ट्रिय हितको निम्ति एकताबद्ध बनाउँदै वैदेशिक दृष्टिकोण तय गर्न उनीहरूले राष्ट्रिय प्रतिबद्धता जाहेर गरेका छन् ।
आफ्नो पालामा आवश्यक जनमुखी कानुन निर्माण गर्ने, कृषि उत्पादनमा वृद्धि गर्न आधुनिक कृषि योजना कार्यान्वयन गर्ने, युवाको विदेश पलायन रोक्ने र देशभित्रै रोजगारी सृजना गर्ने लगायतका विषय उनीहरूको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
उनीहरूले भनेका छन्, ‘सूचना प्रविधि, ऊर्जा, शिक्षा, स्वास्थ्य, रेल हवाई सेवा, यातायात लगायत पूर्वाधार, पर्यटन विकास, द्रुत औद्योगीकरण, व्यापार घाटाको न्यूनीकरण, आयात प्रतिस्थापन एवं निर्यात प्रवर्धन र जलविद्युत विकासलाई युद्ध स्तरमा अगाडि बढाइनेछ ।’
सभ्यता एवं संस्कृतिको संरक्षण र संवर्धन, शिक्षित सभ्य तथा मर्यादित नागरिक, स्वस्थ र सन्तुलित पर्यावरण, सुशासन र जबाफदेहिता कायम गर्ने, स्रोतसाधनको समुचित व्यवस्थापन, सुरक्षित न्यायपूर्ण एवं समतामूलक समाज निर्माण, भाषा, धर्म, संस्कृति र पहिचानको संम्बर्धन, खेलकुद, कला साहित्य र संस्कृतिमा बहुमुखी प्रतिभाको विकास, प्रदेश विकास बोर्ड गठन सहित कास्कीको निर्वाचन क्षेत्र नं.२ एवं प्रदेशसभा निर्वाचन २(१) र २(२) को योजनाबद्ध विकास गर्दै भौगोलिक आवश्यकताका आधारमा योजना तथा कानुन निर्माण गरी इमानदारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता उनीहरूले जाहेर गरेका छन् ।
अबको ५ वर्ष विकास, समृद्धि र सुशासनका लागि हुने उनीहरूले बताएका छन् । कास्कीको निर्वाचन क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियानका क्रममा उमेदवारहरुले यस्तो बताएका हुन् ।
गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्य तर्फ नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल, प्रदेशसभा २ (क) मा नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने र प्रदेशसभा २ (ख) मा नेपाली कांग्रेसका विन्दुकुमार थापा उम्मेदवार छन् ।
उनीहरू चुनावी अभियान केही दिनदेखि मतदाताको भेटघाटमा व्यस्त छन् । सो क्रममा उनीहरूले स्थानीय आवश्यकता, पहिचान, समस्या र समाधान लगायतका विषय चासोपूर्वक सुन्ने, सुनाउने र बुझ्ने गरिरहेका छन् । आगामी निर्वाचनपश्चात् जनताका हरेक समस्याको उपयुक्त समाधान खोजिने उनीहरूको प्रतिबद्धता छ । यही मंसर ४ गते देशभर एकसाथ आम निर्वाचन हुँदै छ ।
तपाईको प्रतिक्रिया