कन्या क्याम्पसमा रचना वाचनसँगै २ कृति लोकार्पण

समाधान संवाददाता २०७६ वैशाख १५ गते १४:०१

समाधान संवाददाता
पोखरा

कन्या क्याम्पस पोखरामा ‘सम्झनामा पोखरेली सर्जक’ र ‘बालकेलि’ कृति लोकार्पण तथा रचना वाचन कार्यक्रम भएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखरा र पाल्पा साहित्य समाज, पाल्पाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

पाल्पाका साहित्यप्रेमी राजेन्द्रगोपाल सिंहले संयोजन गरेको कृति ‘सम्झनामा पोखरेली सर्जक’ कोे लोकार्पण वरिष्ठ कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले गरे । केशवप्रसाद रेग्मीको खण्डकाव्य ‘बालकेलि’ को लोकार्पण प्रतिष्ठानका पूर्व अध्यक्ष प्राडा विष्णुप्रसाद पौडेलले गरेका थिए ।

Advertisement

२०३५ सालमा टिकटमा मुक्तक कार्यक्रमदेखि नै पाल्पासँगको पोखरेली सम्बन्धको स्मरण गर्दै कवि श्रेष्ठले पोखरेली स्रष्टा र सिर्जनाका बारेमा पत्रिकाबाट संकलन गरिएका सामग्री झट्ट हेर्दा सामान्य देखिए पनि तिनको ऐतिहासिक महत्व रहेको बताए ।

उनले भने, ‘संकलक स्रष्टाको संरक्षक पनि हो र यस्ता काम एकेडेमीले गर्नुपर्नेमा १ व्यक्तिले गर्नु आफैमा महान् कार्य हो ।’

Advertisement

कृतिमाथि प्रतिष्ठानका संस्थापक सदस्य वेदहरि तिमिल्सिनाले पोखरेली साहित्य, कला, पर्यटन, संस्कृति, पत्रकारिता आदि विषयमा जान्न खोज्नेका लागि कृति महत्वपूर्ण भएको उल्लेख गरे ।

कृति संयोजन गर्नुको प्रयोजनमाथि प्रकाश पार्दै संयोजक राजेन्द्रगोपाल सिंहले कर्तव्यका रूपमा कृति तयार पारेको बताए ।

त्यस्तै ‘बालकेलि’ खण्डकाव्यमाथि टिप्पणी गर्दै प्रतिष्ठानका निवर्तमान अध्यक्ष डा. जगन्नाथ रेग्मीले खण्डकाव्यले १ पटक हामीलाई आफ्ना बाल्यकालीन अनुभूति दिलाउने विचार व्यक्त गरे ।

खण्डकाव्यका स्रष्टा केशव रेग्मीले आफ्नो रचनागर्भ प्रस्तुत गरेकोे कार्यक्रममा प्राडा शालिग्राम सुवेदी, मदनराज थापा, कल्याण पन्त, भोजराज भट्टराई, डिल्लीराम कार्की, श्रीराम अधिकारी, भरत पोखरेल र राजेन्द्रगोपाल सिंहले रचना वाचन गरेका थिए ।

आयोजक पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले पोखरासँग जोडिन पाउँदा साहै्र खुसी लागेको बताए ।

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष डा. भूमिराज बस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रम उद्घाटन रचना वाचन गरी गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष सुरज पौडेल, सहसचिव कृष्णप्रसाद त्रिपाठी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया