जसलाई पोखराले बिर्सिदैन

रवीन्द्र माकाजू २०७९ कार्तिक २१ गते १३:३७

पोखरामा व्यवस्थित होटल व्यवसाय सञ्चालन सुरुआत गर्ने अगुवाहरुको नाम खोज्दा महेन्द्रबहादुर शेरचन छुट्दैन । उनले महेन्द्रपुलमा मितज्यू होटल चलाएका थिए । उनी अहिले ९५ वर्षका भए ।

Advertisement

शेरचन पुराना दिन सम्झदै भन्छन्, ‘पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग खुल्नुअघि बैदाम गाउँ थियो । पोखरामा ठूला होटलको कुनै नामोनिसान थिएन । चिया पसल एकाध थिए, जसलाई मान्छेहरू होटल भन्थे ।’

पोखरालाई साच्चिकैको सहरको रूपमा विकास गर्न पृथ्वीनारायण कलेजले मद्दत पुर्‍यायो । देशका विभिन्न भागबाट छात्रछात्रा यहाँ पढ्न आउन चहलपहल बढ्यो । चहलपहल बढे पनि उनीहरुका निम्ति गाँस र बासको उचित व्यवस्था थिएन ।

शेरचनले भने, ‘म पोखरामा ०१८ सालमा आएको हुँ । मैले के सोचेँ भने पोखरामा एउटा राम्रो होटलको आवश्यकता छ । जहिले पनि नयाँ नयाँ कुरा सोच्ने मेरो बानी भएकोले महेन्द्रपुलमा मितज्यू होटल खोलेँ ।’

स्कुल खोल्नेदेखि व्यापार, व्यवसायमा अग्रणी महेन्द्रबहादुरले आम्दानीबाट समाजसेवामा उल्लेख्य योगदान गरेका छन्

Advertisement


उनको होटलको नाम जुराइदिएका थिए तत्कालीन प्रधानपञ्च नगेन्द्रबहादुर रायमाझीले । पोखरा कास्की जिल्लाको सदरमुकाम हुँदा जिल्ला स्तरीय भेला, गोष्ठी हुने हुन्थे । त्यसमा सहभागीलाई खाना, खाजाका लागि प्रबन्ध थिएन । त्यो बेला प्रायः सबै सहभागी मितज्यू होटलमा बास बस्थे र नास्ता, खाजा, खाना खान्थे ।

उनले खाजाको रूपमा मःम, चाउमिन खान सिकाए । एक पटक उनको होटलबाट तत्कालीन युवराज वीरेन्द्रका निम्ति मःम मगाइएको थियो । २०३० सालमा पृथ्वी राजमार्ग खुलेपछि स्वदेशी तथा विदेशी पर्यटक पोखरा आउन थाले । बैदाम क्षेत्रमा धमाधम होटल खुले । महेन्द्रले यो व्यवसाय ०४५/४६ सम्म सञ्चालन चलाए ।

शेरचनको होटल राम्ररी चल्न थाल्यो । सबैसँग उनको आत्मीय सम्बन्ध रह्यो । उनी होटल व्यवसायका साथसाथै आफ्नो जातीय पहिचान र अस्तित्व बचाउनका लागि अहोरात्र जुट्थे । उनी थकाली समाज सेवा समितिका पूर्व अध्यक्षसेमत हुन् । समाजका लागि जग्गा किन्ने, भवन बनाउने काममा उनले धेरै समय दिए । शेरचनले थकाली भवनमा श्रीमतीको स्मृतिमा आफ्नै लगानीमा कोठा बनाएका छन् ।

महेन्द्रले लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कुल सञ्चालक समितिका सदस्य भएर सेवा गर्ने मौका पाएका थिए । जुन बेला भूपी शेरचन विद्यालय सञ्चालक समिति सचिव थिए । उनी मुस्ताङ थाक कोवाङ स्थित जनप्रिय हाइ स्कुलका संस्थापक अध्यक्ष पनि हुन् । करिब ३ वर्ष शिक्षण पेशामा आवद्ध रहेका शेरचनले टुक्चेमा जनता स्कुल खोलेका थिए । जुन विद्यालय योगेन्द्रमान स्मृति नाउँले परिचित छ ।

उनले आफूले स्थापना गरेको जनप्रिय हाइ स्कूलमा होस्टेल भवन बनाउन ५ लाख दान दिए भने स्वर्ण जयन्ती मनाउँदा १ लाख १० हजार चन्दा हालिदिए । शेरचनले आफ्नी जेठी छोरी सरिताको स्मृतिमा पोखरा नदीपुर स्थित ज्ञानभूमि माध्यमिक स्कुलमा ३ कोठे भवन १७ लाखको लागतमा बनाइदिए । छोराहरुको सम्झनामा अर्को कोठासमेत बनाइदिए ।

शेरचनले पोखराको कन्या क्याम्पसलाई पनि आर्थिक सहयोग गरेका छन् भने सिद्धार्थ क्लब पोखरालाई सामुदायिक अस्पताल निर्माण गर्न १ लाख सहयोग गरका थिए । समाजसेवी महेन्द्र शेरचनको सामाजिक योगदानको कदर गर्दै थुपै्र संघ, संस्थाले सम्मान गरेका छन् ।

१९८४ मा मुस्ताङको लारजुङमा जन्मिएका शेरचनको सामान्य पढाइ घरमै भए पनि प्राथमिक शिक्षा नेपालगञ्जमा भएको थियो । त्यहाँबाट उनका दाजु तेजबहादुरले थप उच्च शिक्षाका लागि गोरखपुर पढ्न पठाए । त्यहाँ उनले सहिद योगेन्द्रमान शेरचनसँगै पढ्ने मौका पाए । शेरचनले महाराणा प्रताप कलेजबाट आइए गरेपछि उनी आफ्नै गाउँमा रात्रि कक्षा सञ्चालन गरे । पछि टुकुचेमा गई विद्यालय खोले ।

उनले शैक्षिक पेशाबाट आर्थिक प्रगति नहुने देखेर व्यापार गर्ने मन गरे । स्याङ्जा, पाल्पाका बस्ती बस्तीमा गई कपडा बेचे । पछि पाल्पाको रामपुरमा कपडा पसल चलाए २ वर्ष । त्यहाँबाट पोखरामा आएर होटल खोले । होटल व्यापार फाप्यो, मनग्गे पैसा कमाए ।

जग्गा, जमिन थप्न भ्याए । समाजसेवामा पनि हात हाले । अहिले उनी महेन्द्रपुलमा २ बुहारी बबिता र सबिता, नातिद्वय क्षितिज र चिरायु, नातिनासँग रमाएर जीवन बिताउँदै छन् । नाति, नातिनालाई उच्च शिक्षा दिलाएका छन् । नातिनी दीपिका भने अष्ट्रेलियामा अध्ययनरत छिन् । यसैमा उनी मख्ख छन् ।

तपाईको प्रतिक्रिया