संविधान बचाउन गठबन्धन: बराल

समाधान संवाददाता २०७९ कार्तिक २१ गते १७:१२

पोखरा ।
नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले मुलुकको स्थायित्व र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताएका छन् । चुनाव प्रचारप्रसारका क्रममा पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडमा पुगेका बरालसमक्ष मतदाताले गठवन्धनको कुरा उठाएपछि उनले यस्तो बताएका हुन् ।

उनले कतिपय कोण र क्षेत्रबाट गठबन्धनप्रति संशय व्यक्त गरिंदै आए पनि यसप्रति शंका नगर्न आग्रह गरे । उनले भने, ‘मूलतः संघीय शासन स्थापनापछिको निर्वाचनले झण्डै दुई तिहाई हैसियत हासिल गरेको सरकारले राजनीतिक स्थायित्व दिन नसकेको सबैमाझ स्पष्ट छ ।’

एकै कार्यकालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २ पटक जनप्रतिनिधिमूलक संस्था संसद विघटन गर्नुका साथै आम जनताको मतको अपमानसमेत गरेका कारण गठवन्धन निर्माण भएको उम्मेद्वार बरालले स्पष्ट पारे ।

Advertisement

बरालले भने, ‘मुलुकको संविधान र देशको शासन व्यवस्थामाथि धावा बोल्दै प्रधानमन्त्री ओलीले चालेका कदमसंगै राष्ट्रिय हित संरक्षण गर्ने युगीन दायित्वमा आइपुगेका हौं ।’ देशका ठूला ठूला समस्या, संकट गठबन्धनबाटै पार लागेका थुप्रै उदाहरण सुनाउँदै बरालले २००७, २०४६ र २०६२/०६३ को आन्दोलन यसैका उदाहरण भएको स्पष्ट पारे ।

उम्मेद्वार बरालले फेवाताल संरक्षणमा विशेष पहल गर्ने प्रतिवद्धता पनि जनाएका छन् । जलाधार क्षेत्रमा प्राविधिकको राय अनुरुप वृक्षरोपण गर्ने, सामुदायिक वनको व्यवस्थापन, जलकुम्भी झार लगायत फोहोरको नियमित सफाइ, अतिक्रमण नियन्त्रण तथा कोमागाने पार्क, वसुन्धरा पार्क, हिमागृह आदिको संरक्षणमा ध्यान दिने उनले प्रतिवद्धता जनाए ।

Advertisement

ताल प्राधिकरणलाई अधिकार सम्पन्न बनाउन नीतिगत व्यवस्था गर्नुका साथै फेवातालमा बर्सेनी थुप्रिने माटोलाई नियमित झिक्ने व्यवस्था गर्ने, तालको चौघेरा कायम गरि आवश्यक ब्युनिफिकेसन गर्ने उम्मेद्वार बरालले स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया