मंसिर १४ गते होला त परीक्षण उडान ?

रिठेपानी डाँडा कटानको काम सोमबारमात्र सुरु भएको छ

रिखिराम जिसी २०७९ कार्तिक २३ गते १०:१४

रिखिराम जिसी, पोखरा ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी मंसिर १४ गते परीक्षण उडान गर्ने तयारी गरेको छ । प्राधिकरणले परीक्षण उडानका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको मंगलबार जनाएको हो । तर विमानस्थल सञ्चालनमा देखिएका समस्याहरु नपन्छाउँदै प्राधिकरणले भनेअनुसार मंसिर १४ गते विमानस्थलबाट परीक्षण उडान गर्ला त ?

Advertisement

विमानस्थल सञ्चालनका लागि बाधक पूर्वपट्टिको रिठेपानी डाँडा कटानको काम सोमबारमात्रै सुरु भएको छ । ल्यान्डफिल साइटको पनि अहिलेसम्म टुंगो लागेको छैन । विमानस्थलभित्रै आवश्यक सैनिक ब्यारेक र तेल भर्न आवश्यक आयल डिपो बन्न सकेका छैनन् ।

रिठेपानी डाँडा १४ मिटर कटान गरेपछि परीक्षण उडान गर्न मिल्ने पोखरा विमानस्थलका इन्जिनियर कृष्ण पौडेलले बताए । ‘डाँडा कटानको समस्या हो, जुन कटानका लागि सुरु भइसकेको छ, १४ मिटर कटान भएपछि परीक्षण उडान गर्न मिल्छ,’ पौडेलले भने ।

इन्धनको व्यवस्था आयल डिपो पुरानो विमानस्थलको डिपोबाट व्यवस्था गर्ने पौडेलेले बताए । डिपोको कुरा त नयाँ डिपो नबनुन्जेलसम्म पुरानो विमानस्थलको डिपोबाट व्यवस्था गरिदिन्छु भनेका छन्,’ उनले भने । विमानस्थलभित्रै आवश्यक सैनिक ब्यारेक निर्माण भएको छैन ।

ब्यारेक अस्थायी भवनबाट व्यवस्थापन गर्ने इन्जिनियर पौडेलले बताए । ल्यान्डफिल साइटले परीक्षण उडानमा अवरोध नगर्ने इन्जिनियर पौडेलले सुनाए । ‘महानगरपालिकाले तपाईं डाँडा काट्नुस्, तपाईंहरुलाई हाम्रो कारण रोकिनु पर्दैन भन्नुभएको छ,’ उनले भने ।

Advertisement

ल्यान्डफिल साइटको अझै टुंगो लागेका छैन । पोखरा महानगरपालिका मेयर धनराज आचार्य ल्यान्डफिल साइट टुंगो लगाउन आन्तरिक तयारीमा रहेको बताउँछन् । प्राधिकरणले मंसिर १४ गते परीक्षण उडानका लागि तयारी गरेको छ, त्यो बेलासम्म ल्यान्डफिल साइट टुंगो लाग्छ ? भन्ने प्रश्नमा मेयर आचार्यले भने, ‘पर्दैन भन्नुभएको छ उहाँहरुले हामीलाई दिएको समय पुस १६ गते हो । त्यो भन्दा अगाडि नै हामी वैकल्पिक विकल्प खोज्छौंं ।’

ल्यान्डफिल साइट नचाहिने गरी तयारी सुरु गरिएको मेयर आचार्यले बताए । त्यसका लागि टेन्डर प्रक्रियाको जाने अवस्थामा पुगेको आचार्यको भनाइ छ । ‘अहिले हामी जे तयारी गरेका छौं । एउटा निष्कर्षमा पुग्ने गरी खास गरी ल्यान्डफिल साइट नचाहिने गरी हाम्रो तयारी छ ।

रिसाइकल गर्ने, रियुज गर्ने, रिडियुस गर्ने भन्ने तयारीबाट गएका छौं तर त्यो नतिजा निकाल्न केही दिन लाग्छ,’ उनले भने, ‘अहिले टेन्डरको प्रक्रियामा जाने अवस्थामा पुगेका छौँ ।’

ल्यान्डफिल साइटको अल्पकालीन समाधानका लागि तयारी गरेको आचार्यले जिकिर गरे । ‘ल्यान्डफिल साइट नचाहिने गरी तयारी छ, त्यसका लागि केही समय लाग्छ, सो समयको अल्पकालीन समाधान खोज्नुपर्ने हुन्छ त्यसका लागि पनि तयारी गरेका छौं,’ उनले भने ।

परीक्षण उडानका लागि मंसिर ९ गते एरो थाईको प्राविधिक टोलीसहितको जहाज नेपाल आउने तयारी छ । उक्त जहाजले परीक्षण उडानमार्फत विमानस्थलमा कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे नगरेका विषयमा जाँच गर्नेछ । उड्डयन प्राधिकरणका अनुसार एरो थाईको जहाजले एक साता पोखरा विमानस्थलमा परीक्षण उडान गर्नेछ ।

सोही कम्पनीले गत वर्ष फागुन ६ गते मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको थियो । एरो थाईको प्राविधिकसहितको विशेष जहाजले १० दिनसम्म परीक्षण उडान गरेको थियो ।
पोखरा महानगरपालिका वडा नम्बर १४ मा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम सुरु गरेको थियो ।

विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो । सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने सम्झौता भए पनि तोकिएको समय सीमाभन्दा ६ महिनाअघि नै सक्ने लक्ष्यका साथ योजनाको काम भइरहेको थियो । कोभिडका कारण विमानस्थल निर्माण ढिला पूरा भएको हो । निर्माण कम्पनीका तर्फबाट चिनिया सरकारले विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मादण्ड अनुसार फोरडी मोडलमा बनेको पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् । करिब ३ हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलमा २ हजार ५ सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर छ । एटीसी टावर, सात वटा भवन, एउटा ह्यांगर पनि निर्माण गरिएको छ । चिनियाँ ऋण सहयोगको २२ अर्ब रुपैयाँमा पोखरा विमानस्थल निर्माण भएको हो ।

रिठ्ठेपानी डाँडा कटान सुरु
रिठ्ठेपानी डाँडा कटानको काम सुरु भएको छ । आगामी पुस ५ गते सक्ने गरी सोमबारबाट कटान सुरु गरिएको नागरिक उड्डयन प्राधिकरणले सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । उनका अनुसार ४० मिटर डाँडा कटानका लागि स्वीकृत भएपनि १४ मिटर काटेपछि नै परीक्षण उडान गर्न सकिने भएकाले १४ मिटर डाँडा कटानको काम सकिएलगत्तै विमानस्थलमा परीक्षण उडान गर्नेछ ।

प्राधिकरणले डाडा कटानका लागि अर्थवोर्क इन रिठ्ठेपानी डाँडा एन्ड स्ट्याबिलाइजेसन एन्ड अदर एसोसियटुसँग २८ करोड ५८ लाखमा सम्झौता गरेको छ । ‘विमानस्थलको उडान तथा अवतरण जोखिम हुने देखिएको रिठ्ठेपानी डाँडा अधिकतम ४० मिटरसम्म कटान गर्नुपर्छ । १४ मिटर डाँडा कटान गरिसकेपछि जतिसक्दो चाँडो परीक्षण उडान गर्ने तयारी छ,’ भुलले भने ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया