ब्याजदर नघटाए चाबी बुझाउने चेम्बरकाे चेतावनी

समाधान संवाददाता २०७९ कार्तिक २३ गते १०:४६

पोखरा ।
बैक तथा वित्तीय संस्थाले गरेको ब्याजदर बढाएको विरोधमा पोखरा चेम्बर अफ कमर्स कास्कीले मंगलबार र्‍याली निकालेको छ । पोखरा ५ पस्र्याङ स्थित चेम्बरको कार्यालयबाट सुरु भएको र्‍याली सिद्धार्थचोक, चिप्लेढुंगा, विपी चोक, न्युरोड, सिर्जना चोक हुँदै नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशको कार्यालय पुगेर समापन भएको संस्थाका अध्यक्ष यमनाथ पौडेलले जानकारी दिए ।

Advertisement

र्‍यालीपछि उद्योगी, व्यवसायीले बयाजदर घटाउन माग राख्दै नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र पठाएका छन् । ६ बुदेँ माग राख्दै नेपाल राष्ट्र बैंक गण्डकीका निर्देशक डा रामशरण खरेलमार्फत पठाएको ६ बुँदे ज्ञापनपत्रमा आकासिँदो ब्याजदर नियन्त्रणका लागि हाल विद्यमान स्प्रेड दर ४ दशमलव ४ प्रतिशतबाट १ प्रतिशत घटाउन माग गरिएको छ ।

बैंकहरुको आधार दरलाई यथाशक्य न्यूनतम बिन्दुमा कायम गरिनुपर्ने माग गर्दै चेम्बरले कर्जामा आधार दरको अधिकतम २ प्रतिशतसम्म प्रिमियम थप हुने गरी व्यवस्था गर्न माग गरेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई वाणिज्य ऋण प्रवाह गर्दा विगत ६ महिना ५ प्रतिशतबाट ८ दशमलव ५ प्रतिशत पुर्‍याएकाले त्यसलाई ५ प्रतिशत नै कायम गर्न चेम्बरले माग गरेको छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतको स्थानमा विगत वर्षको सरह कर्जा निक्षेप अनुपात ८५ प्रतिशत नै कायम गर्न चेम्बरको माग छ ।

‘तरलताको समुचित व्यवस्थापन गर्नको लागि पुँजीगत खर्च समयमै गर्न आवश्यक छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘पुँजीगत खर्च हुन नसकेको अवस्थामा सरकारी खातामा भएको रकम बैंक तथा वित्तीय संस्थामा प्रवाह हुने सके बजारमा पुँजी चलायमान गराउन सक्छ ।’ ज्ञापनपत्रमा प्रत्येक त्रैमासिकमा पुँजीगत खर्चको समीक्षा गर्नु पर्ने र खर्चको लक्ष्य प्राप्तिका लागि प्रभावकारी पहल गर्नेुपर्ने माग गरिएको छ ।

Advertisement

चेम्बरले स्थानीय, प्रदेश तथा संघीय सरकार अन्तर्गतका निकायको खातामा रहेको पुँजीगत रकम खर्च हुने नसकेको अवस्थामा सो रकमको ९५ प्रतिशत रकम वाणिज्य बैंकहरुमार्फत कर्जा प्रवाह गर्ने सुविधा प्रदान गर्न माग गरेको छ ।

पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष पौडेलले कोभिड १९ का कारण थला परेको उद्योग व्यवसाय क्षेत्र बैंक तथा वित्तीय क्षेत्रको व्याजदरमा गरिएको वृद्धिले थप मारमा परेको दाबी गरे । कोरोना, रुस र युक्रेनको युद्धले थलिएको व्यवसायले बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढाएर थप पीडा दिएको बताए ।

उनले बैंक ब्याजदर नघटाएको खण्डमा निजी क्षेत्रले तालाचाबी सरकारलाई बुझाउनुपर्ने अवस्था आउने उल्लेख गरे । गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले नेपालको समग्र उद्योग व्यवसायलाई धरापमा पार्ने गरी बैंक ब्याजदरमा वृद्धि गरिएको आरोप लगाए । उनले व्यापार व्यवसाय फस्टाएमात्र देश समृद्ध बन्ने तर्क गरे ।

तपाईको प्रतिक्रिया