सम्झौता गर्दिनँ, सेवा गर्छुः लामिछाने

समाधान संवाददाता २०७९ कार्तिक २३ गते १३:४०

पोखरा ।
कास्की २ (२)मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले आफूले पोखरा महानगर र कास्कीको योजनावद्ध विकासका लागि लामो समय काम गरेको जनाएका छन् । उनले कास्कीमा जन्मेर यही शिक्षादीक्षा, राजनीति, समाजसेवादेखि प्राकृतिक संरक्षणमा काम गरेको उल्लेख गरे ।

Advertisement

पोखरा २१ मा मंगलबार भएको घरदैलो र कोणसभामा उनले आफूलाई केही मानिसले पर्यटक भनेको भन्दै आश्चर्य व्यक्त गरे । माओवादी केन्द्रका नेतासमेत रहेका लामिछानेले भने, ‘कास्कीमा जन्में, यही हुर्कें, राजनीति र समाजसेवा पनि यही गरेँ ।

म पाहुना कसरी भएँ ? बरु पाहुनलाई स्वागत गर्न राजमार्ग चक्ल्याएँ, फेवाताल संरक्षण गर्न योगदान गरेँ, अमरसिंह माविलाई नमुना बनाउने नेतृत्व गरेँ ।’ आफू गणतन्त्रका लागि लडेको सिपाही भएको उल्लेख गर्दै उनले कुनै स्वार्थमा नबिक्ने र जनताको सेवामा निरन्तर लाग्ने वाचा गरे ।

सत्ता गठबन्धनबाट कास्की २ का उम्मेदवार एकीकृत समाजवादीका नेता श्रीनाथ बरालले केन्द्र सरकार र महानगर मिलेर पोखरालाई नमुना बनाउने वाचा गरे । उनले योजना बनाउन सजिलो भए पनि कार्यान्वयन गर्न कठिन हुने उल्लेख गरे । बरालले भने, ‘कार्यान्वयन गर्न गाह्रो हुन्छ । संविधान लागू गर्न र समृद्धिका लागि गठबन्धनको सरकार प्रदेश र संघ दुवैतिर जरुरी छ ।

नेपाली कांग्रेस क्षेत्रीय सभापति केशरप्रसाद निर्दाेषी, कांग्रेसकी समानुपातिक उम्मेदवार वृद्धा राना, नेपाल समाजवादी पार्टी हेमबहादुर थापा, एकीकृत समाजवादी कास्की उपाध्यक्ष झपेन्द्रराज रेग्मी, ईन्द्र खत्री लगायतले कार्यक्रममा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया