शिक्षा र स्वास्थ्य नै समाजवादको प्रस्थानविन्दु: श्याम

समाधान संवाददाता २०७९ कार्तिक २३ गते १७:५५

पोखरा ।
कास्की क्षेत्र नम्बर १ ख का प्रदेश सभा सदस्य उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ ले निर्वाचित भएपछि शिक्षा र स्वास्थ्यमा जोड दिने कुरा बताएका छन् । नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका गुरुङले देशलाई समृद्धिको बाटोमा हिँडाउन शिक्षा र स्वास्थ्यको बिछट्टै महत्व रहेको कुरा समेत बताए ।

Advertisement

बुधबार पोखरा महानगरपालिका वडा नम्बर १२ का मतदातासँग गुरुङले भेटघाट गरेका थिए । भेटघाटको क्रममा गुरुङले शिक्षा र स्वास्थ्य जस्तो आधारभूत कुरा दिने दायित्वबाट सरकार भागेको आरोप समेत लगाए । गुरुङले आफू निर्वाचित भएपछि निशुल्क र गुणस्तरीय शिक्षा अनि स्वास्थ्यको लागि नीति बनाउन लाग्ने बताए ।

‘शिक्षा र स्वास्थ्यमा समान पहुँच नभएसम्म विकास र समृद्धि सम्भव छैन । त्यसैले विपन्न वर्गका बालबालिकाहरुको निशुल्क शिक्षा प्रदान हुनेछ ।’ सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गरिनेछ ।’ गुरुङले भने,’ ‘नेताहरु समाजवादको चर्को नारा बोकेर हिडेका छन् ।

जनतालाई पुरा नहुने सपना बाँड्दै हिडेका छन् । तर समाजवादको प्रस्थानविन्दु नै बिर्सेका छन् । शिक्षा र स्वास्थ्यमा गुणस्तर नआएसम्म देशको बास्तविक विकास असम्भव छ ।’
‘शिक्षा एवं स्वास्थ्य क्षेत्रमा सरकारले बर्सेनि २ देखि ३ खर्ब बजेट विनियोजन गर्छ ।

तर समस्या ज्युँको त्युँ छ । अझै गरिब जनताले पढ्न पाएको छैन । जीवनजल नपाएर ज्यान गुमाउनु परेको छ ।’ गुरुङले भने, ‘गलत नेता चुन्नु र गलत व्यक्ति सरकारमा जानुको कारणले यस्तो भएको हा े। मलाई जिताउनुस् । समस्या समाधान गर्न लाग्नेछु ।’

Advertisement

गुरुङले प्रदेशभरि माध्यमिक तहको शिक्षालाई क्रमशः निशुल्क र अनिवार्य गराइने, विद्यालयलाई अपांगता र बालमैत्री बनाइने, भौगोलिक रूपमा टाढा रहेका प्राविधिक तथा व्यावसायिक विषयका विद्यार्थीका लागि आवासीय शिक्षाको व्यवस्था गरिने कुरा स्थानीय मतदातालाई सुनाए ।

पोखरा १२ स्थित माटेपानीका नन्द माया थापाले वेदबहादुर गुरुङको योजना सुनेपछि एमालेमा भोट हाल्ने कुरा बताए । ‘उहाँ जस्तो युवा अनि भिजन भएको मान्छेलाई अब देशको बागडोर सुम्पिनु पर्दछ । अनिमात्र देश र जनताको भलाई हुन्छ ।’ उनले भनिन् ।

गुरुङले आफू मादी गाउँपालिकाको अध्यक्ष हुँदा स्वास्थ्य र शिक्षामा उल्लेखनीय काम गरेको दाबी गरेका थिए । कार्यभार ग्रहण गर्नु अघि ७ वटा मात्र स्वास्थ्य चौकी रहेको मादीमा अरु ६ वटा थपेको र थुम्सीकोटमा १५ शैयाको अस्पताल निर्माण गरेको बताए । त्यस्तै शैक्षिक क्षेत्रमा नीतिगत र व्यवहारिक प्रयासपछि स्तर उन्नति भएको दाबी गरे ।

मंसिर ४ गते हुने निर्वाचनमा एमालेले राम्रो नतिजा ल्याउने दावी गरे । गठबन्धन सरकारको पछिल्लो गतिविधि देखेर जनताले निरास भएको कुरा सुनाए । नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा तर्फ जिल्ला अध्यक्ष मन बहादुर गुरुङ, प्रदेश क तर्फ खगराज अधिकारी र ख तर्फ वेद बहादुर गुरुङ ‘श्याम’ लाई उठाएका छन् । नेकपा एमाले कास्की १ ले निर्वाचन केन्द्रित रहेर उम्मेदवार भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेको छ ।

तपाईको प्रतिक्रिया