पोखराको प्रारुप बदल्ने प्रतिवद्धता

समाधान संवाददाता २०७९ कार्तिक २४ गते ११:१०

पोखरा ।
पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का उमेदवारले सिंगो गण्डकी प्रदेशलाई शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा पोखराको विकास गरिने बताएका छन् । चुनावी प्रचारप्रसारका क्रममा मतदाताको घरदैलोमा उनीहरूले यस्तो बताएका हुन् ।

Advertisement

प्रतिनिधि सभाको साझा उम्मेदवार रहेका नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका श्रीनाथ बरालले पोखरालाई गण्डकी प्रदेशकै शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने बताए ।

‘लोकतन्त्रका पक्षधर दलबीचमा गठबन्धन निर्माण गरी संविधान र व्यवस्थालाई जोगाएका छौँ । अब हामी विकास र समृद्धिको लागि यो गठबन्धनलाई समर्पित गछौँ,’ उनले भने, ‘जनताको जीवनमा परिवर्तन ल्याउन र जीवनस्तरलाई माथि उठाउन बाँकी समय खर्च गछौँ ।’

विगतमा लाहुरे उम्मेदवारलाई प्राथमिकता दिँदा यस क्षेत्र विकासमा पछि परेको बताउँदै उनले अब त्यही गल्ती दोर्होयाउने छुट नरहेको बताए । ‘म लाहुरे उम्मेदवार होइन, म हजुरहरूकै वारेस हुँ, सेवक हुँ ।

विकास र समृद्धिको अर्को पाटो हो, नागरिकको आर्थिक अवस्थालाई सुधार गर्ने, महिला तथा बालबालिकाका लागि छुट्टै सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने योजनासहित हामी आएका छौँ,’ उनले भने ।

Advertisement

स्वस्थ बालबालिकाले मात्र भोलिको भविष्य निर्माण गर्न सक्ने भन्दै बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर सुविधा सम्पन्न बाल अस्पतालसमेत निर्माण गर्ने उनले बताए । ग्रामीण पर्यटन विकासका लागि होमस्टेहरूको विकास गर्दै डाँडाकाडाँको सौन्दर्यीकरणमा जोड दिने प्रतिबद्धता उनले जाहेर गरे । उनले सम्भावित स्थानहरूको पहिचान गरी ट्रेकिङ रुटहरू निर्माण गर्ने बताए ।

कास्की २ (२) का उम्मेदवार विश्वप्रकाश लामिछानेले दोबिल्ला क्षेत्रको नदी कटानमा ध्यान दिने बताए । पोखरा १७ र २१ मा पर्ने दोबिल्ला क्षेत्रमा भएको घरदैलो अभियानका क्रममा उनले आफू लामो समयदेखि सेती नदी र वरपरका बस्ती संरक्षण अभियानमा रहेकाले विजयी गराएमा निरन्तरता दिने प्रतिवद्धता गरे ।

जितेपछिको पहिलो काम नै दोबिल्लामा तटबन्ध गर्ने उनको भनाइ छ । दोबिल्ला हुँदै बिरौटासम्म चक्रपथमा जोडिने उनले सुनाए । दोबिल्लाको पुल खतरामा रहेकाले पुल पुनःनिर्माण गर्न पहल गर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया