सम्पादकीयः विमानस्थल तोकिएकै मितिमा सञ्चालन होस्

देशको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको तयारीमा छ । नेपाल उड्डयन प्राधिकरणले आगामी मंसिर १४ गते परीक्षण उडान र पुस १६ देखि नियमित उडान गर्ने तयारी गरेको छ । परीक्षण उडानका लागि मंसिर ९ गते एरो थाईको प्राविधिक टोलीसहितको जहाज नेपाल आउने तयारी छ ।
यो जहाजले परीक्षण उडानमार्फत विमानस्थलमा कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे/नगरेको जाँच गर्नेछ । अब परीक्षण उडानका लागि २० दिन बाँकी छ । अझै विमानस्थल उडानका बाधक पक्ष सल्झाउन सकिएको छैन । रिठ्ठेपानी डाँडा कटानको काम सोमबारबाट सुरु भएको छ । नियमित उडानका लागि बाधकको रुपमा रहेको ल्यान्डफिल साइट सार्ने टुंगो लागेको छैन ।
विमानस्थलभित्रै आवश्यक सैनिक ब्यारेक र तेल भर्न आवश्यक आयल डिपो बन्न सकेका छैनन् । परीक्षण उडानका लागि इन्धनको व्यवस्था आयल डिपो पुरानो विमानस्थलको डिपोबाट गर्ने तयारी विमानस्थलले गरेको छ । विमानस्थलभित्रै आवश्यक सैनिक ब्यारेक अस्थायी भवनबाट व्यवस्थापन गर्ने तयारी छ । ४० मिटर डाँडा कटानको स्वीकृत पाएको प्राधिकरणले परीक्षण उडानका लागि १४ मिटर कटान गर्ने जनाएको छ ।
तर नियमित उडानका लागि ४० मिटर नै कटान गर्नुपर्ने हुन्छ । परीक्षणसम्म १४ मिटर कटान गर्ने तयारी गरेको प्राधिकरणले त्यसपछिको १ महिनाभित्र बाँकी २६ मिटर डाँडा कटान गर्नुपर्ने चुनौति रहन्छ । नियमित उडानका लागि बाधक ल्यान्डफिल साइट खोज्ने प्रक्रियाअगाडि बढाएको पोखरा महानगरले अहिले टेन्डरको प्रक्रियामा जाने अवस्थामा पुगेको जनाएको छ । उडानका लागि ल्यान्डफिल साइटको पनि चाँडो विकल्प खोजिनु जरुरी छ ।
पोखरामा नियमित उडानका लागि यति तयारीले मात्र पुग्ने छैन । पोखरा विमानस्थलबाट उडानका लागि कम्पनीहरुले पनि चासो देखाउनुपर्ने हुन्छ । दोस्रो विमानस्थलको रुपमा रहेको भैरहवा विमानस्थलबाट नियमित उडानमा कम्पनीले उचित चासो नदेखाएको अवस्था छ । फेरि पोखरा विमानस्थलको अवस्था पनि त्यस्तै हुने हो कि भन्ने चिन्ताको विषय छ । २२ अर्ब रुपैयाँमा निर्मित पोखरा विमानस्थल घाटामा जाने र यहाँबाट अन्तर्राष्ट्रिय उडान सम्भव नभएको भन्दै आलोचना पनि हुँदै आएको छ ।
पोखराबाट अन्तर्राष्ट्रिय उडान गरी भारतका सहरमा सेवा दिन स्वदेशी वायु सेवा कम्पनी बुद्ध एयरले चासो देखाएको थियो । तर अहिले उसको रुचि सेलाएको छ । पछिल्लो समय त्यसका लागि बुद्धले कुनै पहल वा प्राधिकरणसँग सम्झौता या समझदारी गरेको छैन । जसले गर्दा नियमित उडान थप अन्योल बनेको छ । त्यस्तो अवस्थामा प्राधिकरणले प्रभावकारी पहल कदमी लिन नसके यो विमानस्थल सुरुआतबाटै घाटामा जाने र बोझ बन्ने हुन सक्ने । राष्ट्रिय महत्वको विमानस्थललाई प्रभावकारी बनाउन सबैको पहलकदमी र साथ जरुरी छ ।
तपाईको प्रतिक्रिया