५ वर्षको जिम्मा दिनोस्, समृद्धि दिन्छौं: विद्या

समाधान संवाददाता २०७९ कार्तिक २७ गते १३:१२

पोखरा ।
नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले आगामी निर्वाचनमा एमालेले जिते जनताको अवस्था परिवर्तन देखिनेगरी महसुुस हुने बताएकी छन् । उनले नेकपा एमालेले ५ वर्षका लागि २० पक्षमा ग्यारेन्टीका साथ घोषणापत्र जारी गरीअघि बढेको बताइन् ।

Advertisement

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिको निर्वाचनबाट सरकार बनाउँदा सुरु भएका योजना पूरा गर्ने उनको भनाइ छ । उम्मेदवार भट्टराईले भनिन्, ‘सरकारमा हुँदा लोकप्रिय कार्यक्रम थालेका थियौं, बीचमै सरकार ढल्यो, योजना अलपत्र छन् । अब बन्ने सरकारले ती योजना पूरा गर्छ ।’ शनिबार पोखरा ९ मा घरदौलोका क्रममा आवश्यक नीति निर्माणसँगै यस क्षेत्रको विकासमा इमान्दरपूर्वक लाग्ने प्रतिवद्धता गरिन् ।

‘पोखरामा पछि थपिएका वडामा पहिलो आवश्यकता सडक निर्माण देखियो । त्यसका लागि हामी योजनावद्ध काम गर्छौं,’ उनले भनिन् । जुनसुकै सरकारले गरेका विकास निर्माण राष्ट्र र जनताकै लागि भएको उल्लेख गर्दै वर्तमान पाँच दलीय गठबन्धनको सरकारले रकम कटौती गर्दा जनतामा वितृष्णा पैदा भएको उनले दाबी गरिन् ।

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी उनले समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सार्थक बनाउन मुलुकका भूमिहीनलाई जग्गाको मालिक बनाउनुपर्नेमा जोड दिइन् ।

स्थानीय आवश्यकतासहितका योजना संकलनमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै उम्मेदवार भट्टराईले समाजका असहाय, गरिब, विपन्न वर्गको उत्थानका लागि युवा रोजगार तथा महिला सशक्तीकरणमा जोड दिनुपर्ने उनको भनाइ छ ।

Advertisement

देशमा धेरै पटक चुनाव भए । चुनावले कहिले बहुमत र अहिले गठबन्धन, अल्पमतका सरकार बने, गिरे । संसदीय राजनीतिको यो कुरुप पक्षले जनतालाई दिक्क पारेको छ । अहिले सत्ता गठबन्धनका दल एकातिर र एमाले एक्लै अर्कातिर भएर चुनावमा गएका छन् । यो अवस्थामा जनताले स्थिर, दरिलो सरकार र तीव्र विकासका लागि एमालेलाई नै छान्ने मीना गुरुङ बताउँछिन् ।

कास्की २ (२) मा एमालेबाट उम्मेदवार बनेकी उनले मंसिर ४ को चुनावपछि एमालेले प्रदेशहरु र संघमा एकल सरकार बनाउने दाबी गरिन् । उनले भनिन्, ‘हाम्रा एजेन्डा, जनताको आर्कषण र अहिलेको माहोलले हाम्रो जित भइसकेको छ ।

जनताले ५ तिर फर्किएको स्वार्थको गठबन्धन होइन, एमालेको बलियो नेतृत्व चाहेका छन् ।’ गण्डकी प्रदेशसभाकी निवर्तमान सांसदसमेत रहेकी उनले अघिल्लो कार्यकालमा सुरु गरी अधुरा रहेका योजना पूरा गर्न पनि आफू दोहोरिन चाहेको उल्लेख गरिन् ।

शनिबार पोखरा ९ मा घरदैलोका क्रममा उनले मतदातले दिएको सुझावलाई आत्मसाथ गर्दै यस क्षेत्रको विकास, निर्माणमा समर्पित हुने प्रण गरिन् । मुलुकको समग्र विकासका लागि स्पष्ट नीति, विचार र सिद्धन्त आवश्यक पर्नेमा जोड दिंदै उनले यसको खाँका र इच्छाशक्ति एमालेसँग मात्र भएको दाबी गरिन् ।

यो क्षेत्रमा पोखरा महानगरका वडा नं. ४, ८, ९, ११, १६ र २० पर्छन् । पार्टीको उद्देश्य, घोषणापत्र, भावी योजना र कार्यान्वयनमा एमालेभित्र कतै समस्या नभएको उनले जनाइन् । ‘हाम्रो एकताको सामना गर्न अरु सबैजसो दल गठबन्धन बनाएर आउनुपरेको छ ।

मसँगसँगै टिकटको आकांक्षा राख्नुभएका साथीहरु, मेरो क्षेत्रका नेता, कार्यकर्तालाई चुनावी अभियानमा हुनुहुन्छ । हाम्रो एकता र जनताको सदिच्छा नै हाम्रो जितको मुख्य आधार हो ।’

तपाईको प्रतिक्रिया