
सञ्जय रानाभाट, पोखरा ।
असार ७ अघिसम्म सञ्चार कर्ममा रहेका रवि लामिछाने आसन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन २ बाट उम्मेदवार छन् । असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा भएपछि निर्वाचन आयोगमा असार १७ गते पार्टी दर्ता भयो । यसलगत्तै रवि देशभर पार्टी विस्तार अभियानमा लागे । मंसिर ४ गते हुने निर्वाचनमा उनको पार्टीले देशभर उम्मेदवार उठाएको छ ।
कुनै बेला जनताका समस्यालाई मुद्दा बनाएर राजनीतिक दल र तिनका नेता, कार्यकर्तालाई प्रश्न सोध्ने रवि अब आफैं उत्तर दिने ठाउँमा पुग्न चाहन्छन् । जनताका समस्या हल गर्न उनी आफैं सांसद बन्ने होडमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनअघि नै रविलाई संसदीय दलको नेता प्रस्ताव गरेको छ ।
ठूला दलको विकल्प दिने भन्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना उम्मेदवारको ब्रान्डिङ गर्न सकेको छैन
संसदीय राजनीतिमा कुनै पनि दलको संसदीय दलको नेता त्यो दलले बहुमत पाउँदा प्रधानमन्त्री बन्छ । यसको अर्थ राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन गर्ने अवसर पाए रवि नै प्रधानमन्त्रीमा अघि सर्ने छन् ।
वैकल्पिक शक्तिको रूपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गतेको निर्वाचनबाट कति सिट ल्याउँछ, त्यो हेर्न बाँकी छ । निर्वाचन हुनुअघि नै यसबारे अनेक आँकलन भइरहेका छन् । तर, राजनीतिमा नयाँ अनुहार लिएर ठूला दलको विकल्प दिने भन्दै उदाएको यो पार्टीले आफ्ना उम्मेदवारलाई भने ब्रान्डिङ गर्न सकेको छैन ।
कास्की गाउँघर र बजार क्षेत्रका मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह र पार्टी सभापति रवि लामिछाने चिने पनि उम्मेदवार चिनेको भेटिएन । उम्मेदवारको नाम सोधे मतदाता जिल्ला पर्छन् । तर, केही मतदाता खुलेरै घण्टीमा भोट दिने बताउँछन् । उम्मेदवारलाई भन्दा उनीहरूले रवि हेरेर भोट दिने सुनाए ।
गत हप्ता स्वतन्त्र पार्टीप्रति मतदाताको आकर्षण बुझ्न कास्कीका ३ वटै निर्वाचन क्षेत्र पुग्दा मतदाताले उम्मेदवार चिनेनन् बरु पार्टी सभापति रवि लामिछाने चिनेको सुनाए । कास्की क्षेत्र नम्बर २ भलामका भरसिंह रसाइली यसपटक ठूला दलको विकल्प खोज्ने बताउँछन् । भन्छन्, ‘यसपटक घण्टीमा भोट दिने हो । छोराछोरीले पनि रवि लामिछानेको पार्टीलाई भोट दिनुपर्छ भनेका छन् ।’
रसाइली जस्तै कास्कीका केही मतदाता पुराना दलसँग रुष्ट हुँदा यसको फाइदा रवि नेतृत्वको पार्टीलाई हुने बताइन्छ । रसाइलीले पुराना दल र नेताप्रति असन्तुष्टि प्रकट गर्दै नयाँ दललाई मत दिने निर्णय सुनाए ।
‘भोट हाल्न थालेदेखि धेरै नेतालाई जिताइयो । जितेर गएका नेता आफू बने, समाज बनाउन सकेनन् । विकासका भिजन दिन सकेनन्,’ ७६ वर्षीय रसाइली भन्छन्, ‘यसपटक रवि नेतृत्वको पार्टीलाई दिने हो । यो पार्टीले पनि केही गर्न सकेन भने अर्कोपल्टबाट भोट नै हाल्दिनँ ।’
तर, रसाइलीलाई यसपटक उनको मत कसले पाउँछ भन्ने थाहा छैन । उनी कास्की २ मा राष्ट्रिय स्वतन्त्र पाटीका प्रत्यक्ष र समानुपातिकका दुवैतिरका उम्मेदवारलाई चिन्दैनन् । तैपनि उनले राष्ट्रिय पार्टीको विकल्प खोजी गरेका छन् । भलामकै कर्मा सुनारले पनि यस पटक घण्टीलाई मत दिने मनोभावना सुनाइन् ।
टेलिभिजनमा देखिरहेका रवि नेतृत्वको घन्टीलाई भोट दिने उनले बताइन् । भन्छिन्, ‘टेलिभिजनमा यस्तो राम्रो काम गर्नुभयो । अब एकपटक घन्टीमा भोट हाल्छु ।’ १५ मिनेट कुरा गर्दा उनले उम्मेदवारभन्दा रविकै गुणगान गाइन् । टेलिभिजनबाट राम्रो काम गरेको मान्छेले सरकार बनायो भने राम्रो काम हुने उनको आशा छ ।
कास्की निर्वाचन क्षेत्र नम्बर ३ लाहचोकका केही मतदाताले पनि यसपटक घन्टीमा भोट हाल्ने बताए । उनीहरुको रोजाइको कारण पनि उही हो रवि लामिछानेको नेतृत्व । स्थानीय युवराज अधिकारी र घनश्याम अधिकारी यसपालि पुराना दलको विकल्प खोज्ने सुनाउँछन् । उनीहरूले रवि लामिछानेको घण्टी चिन्हमा भोट दिने संकेत गरे । पुराना दलले पुरानै एजेन्डा पूरा नगरेकाले नयाँ आशा गर्नु बेकार रहेको उनीहरु बताउँछन् ।
उनीहरुको एउटै स्वर छ, ‘यो पटक झुटा आश्वासन दिनुभन्दा इमान्दार भएर काम गर्ने नेतृत्वलाई भोट दिने इच्छा छ ।’ कास्की १ का केही मतदाता पनि स्वतन्त्र पार्टीलाई मत दिने बताउँछन् । कास्की क्षेत्र नम्बर १ बेगनासका विक्रम राईले यसपटक रविलाई नै भोट दिने सुनाए ।
कास्कीबाट प्रत्यक्ष ३, समानुपातिकमा ५ उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टीले मतदान गरेर देशभरका समानुपातिक र प्रत्यक्ष निर्वाचनका उम्मेदवार टुंगो लगाएको थियो । स्वतन्त्र पार्टीले कुनै पनि प्रदेश सभामा उम्मेदवार उठाएन । कास्कीका ३ प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् । कास्की क्षेत्र नम्बर १ मा राजु राई, क्षेत्र नम्बर २ मा माधवप्रसाद कँडेल र क्षेत्र नम्बर नम्बर ३ मा योगराज पौडेल चुनावी मैदानमा छन् ।
उनीहरु तीनै जना राजनीतिमा नयाँ अनुहार हुन् । प्रतिनिधिसभामा कास्कीबाट समानुपातिकतर्फ स्वतन्त्र पार्टीका ५ उम्मेदवार छन् । पार्टीले डा ढाकाकुमार श्रेष्ठ, विष्णु गुरुङ ‘एकता’, समिउन निशा, शिव नेपाली र राममाया बस्ताकोटीलाई समानुपातिकमा राखेको छ ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया