गण्डकीका ८ क्षेत्रमा महिला उम्मेदवार शून्य

प्रमिला कुँवर २०७९ कार्तिक २८ गते १०:३१

पोखरा ।
गण्डकी प्रदेशका ८ निर्वाचन क्षेत्रमा महिलाको उम्मेदवारी शून्य छ । निर्वाचन आयोगका अनुसार मुस्ताङ, बागलुङ र लमजुङका १/१ क्षेत्र र मनाङ, गोरखा र नवलपुरका २/२ क्षेत्रमा दलगत तथा स्वतन्त्र रुपमा कुनै पनि महिला चुनावी मैदानमा छैनन् ।

Advertisement

गण्डकीका प्रतिनिधि सभा र प्रदेश सभा गरी २३ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ ३४ महिलाको उम्मेदवारी परेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रमुख दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा महिलालाई उपेक्षा गरेका छन् ।

मतदातामा महिलाको संख्या बढी हुँदा उम्मेदवारीमा भने एक तिहाइ पनि देखिएको छैन । प्रत्यक्ष निर्वाचनमा दलहरुले महिलालाई कम अवसर दिएका छन् । संसदमा एक तिहाई महिला हुनै पर्ने संवैधानिक व्यवस्था छ । समानुपातिक सूचीबाट उक्त व्यवस्था पूरा गर्नुपर्ने हुन्छ ।

  • —प्रत्यक्ष निर्वाचनमा दलहरुले महिलालाई कम अवसर दिएका छन् । संसदमा एक तिहाई महिला हुनै पर्ने संवैधानिक बाध्यता छ ।
  • —गण्डकीमा एमालेले प्रतिनिधि सभामा ३ जना र प्रदेशमा ३ जना महिला उठाएको छ । कांग्रेसबाट संघ र प्रदेशमा महिला उम्मेदवारी शून्य छ । माओवादीले प्रदेश सभामा १ जना उठाएको छ ।


मनाङमा कुनै पनि निर्वाचन क्षेत्रमा पार्टीहरुले महिलालाई टिकट दिएनन् । यहाँका प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा दुवैतिर पुरुषमात्र उम्मेदवार छन् । जिल्लामा प्रतिनिधि सभा सदस्यमा ३ जना र प्रदेश सभा सदस्यमा ४ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिएका राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध भइसकेका छन् ।

मुस्ताङ प्रदेश १ मा पार्टीगत तथा स्वतन्त्र रुपमा कुनै पनि महिलाको उम्मेदवारी परेको छैन । प्रदेश २ मा भने राप्रपाबाट १ जना महिलाको उम्मेदवारी परेको छ । बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा कुनै पनि महिलाको उम्मेदवारी परेको छैन ।

Advertisement

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य गरेर ११ जनाको उम्मेदवारी पर्दा महिलाको उम्मेदवारी शून्य छ । क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा एमाले र राप्रपाले महिला उम्मेदवार उठाएका छन् । प्रदेश सभा सदस्यमा १ महिलाले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

लमजुङ प्रदेश २ मा पार्टीगत तथा स्वतन्त्रबाट महिलाले उम्मेदवारी दिएका छैनन् । यहाँ ६ पुरुष मैदानमा छन् । प्रदेश क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले महिलालाई अवसर दिएका छन् । प्रतिनिधि सभा सदस्यमा महिलाको उम्मेदवारी शून्य छ ।

गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा महिलाको उम्मेदवारी परेन । साना तथा ठूला दलबाट ६ जनाको उम्मदेवारी पर्दा सबै उम्मेदवार पुरुष छन् । यहाँबाट ०७४ सालको निर्वाचनमा नयाँ शक्ति पार्टीका डा बाबुराम भट्टराई निर्वाचित भएका थिए ।

क्षेत्र नम्बर १ मा नेपाल मंगोल अर्गनाइजेसनबाट १ जना महिलाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभा सदस्यमा १ जनाले स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

नवलपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा १५ उम्मेदवार छन् । यहाँ स्वतन्त्रबाट विन्दु भट्टराईबाहेक सबै पुरुष उम्मेदवार छन् । नवलपुर क्षेत्र नम्बर २ मा १२ जना उम्मेदवार छन् । यो क्षेत्रमा महिलाको उम्मेदवारी शून्य छ । नवलपुर २ (१) मा एमालेले पद्मा जिसी श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

गण्डकीभित्र एमालेले प्रतिनिधिसभामा ३ जना र प्रदेशमा ३ जना महिलालाई उठाएको छ । सत्ताको नेतृत्वमा रहेको नेपाली कांग्रेसले गण्डकी प्रदेशका संघ र प्रदेश दुवैतिर महिलालाई उम्मेदवार बनाएको छैन । माओवादी केन्द्रले भने स्याङ्जा १ (२) मा अमृता थापालाई टिकट दिएको छ । संघमा माओवादीबाट उम्मेद्वारी शून्य छ ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया