कोही भूमिहीन हुनु हुँदैनः मीना

पोखरा ।
एमाले कास्की २ प्रदेश सभा (२) की उम्मेदवार मीना गुरुङले भूमिसम्बन्धी नीति बनाएर भूमि हिन तथा सुकुम्बासीका समस्या समाधान गर्ने बताएकी छन् । आइतबार पोखरा ९ पृथ्वीचोक बसपार्क, शिव टोल, गणतान्त्रिक टोल लगायतका क्षेत्रमा भएको मतदाता भेटघाट तथा कोण सभामा उनले प्रदेशमा ऐन बनाएर भूमिहीन तथा सुकुम्बासीको सवाललाई दीर्घकालीन रुपमा हल गर्ने प्रतिवद्धता जनाइन् ।
संघीय सरकारले बनाएको भूमिसम्बन्धी ऐनको आठौं संशोधनले राज्यलाई आवश्यक पर्ने बाहेकको सडक मापदण्डभित्र पर्ने तथा जोखिममा पर्ने स्थान बाहेकका ठाँउमा भूमिहीन तथा सुकुम्बासीलाई बसोबासको व्यवस्था मिलाउने नीतिगत व्यवस्था गरेको छ । संघमा ऐन बने पनि प्रदेशमा अहिलेसम्म नीति, कानुन नबनेको उल्लेख गर्दै उनले संघसँगको ऐन नबाझिने गरी कानुन बनाउने बताइन् ।
उनले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा बनेको भूमि समस्या समाधान आयोगले भूमिहीन तथा सुकुम्बासीका समस्या समाधान गर्न लागे पनि गठबन्धन सरकारले त्यसमा भाँजो हालेको बताइन् । उनले आयोगले सबै लगत तयार पारेर लालप्र्जा वितरण गर्ने बेलामा अर्को आयोग गठन गरेर झुक्काउने काम सरकारले गरेको दाबी गरिन् ।
निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेकी गुरुङले गठबन्धन सरकारले बनाएको राष्ट्रिय भूमि आयोगको औचित्य नभएको जिकिर गरिन् । भूमि अधिकार मञ्च कास्की अध्यक्ष प्रेम गुरुङले बसपार्क लगायत सुकुम्बासीको बसोबासको क्षेत्रमा भैतिक पूर्वाधारको विकासभन्दा पनि लालपुर्जा आवश्यक भएको बताए ।
उनले पोखरा ९ मा करिब ९ सय घर धुरी भूमिहीन रहेको जानकारी दिए । उनले त्यहाँका स्थानीय बासिन्दा बसपार्क बन्नुपर्छ भन्ने पक्षमा रहेको जनाउँदै सबैको दिगो र वैकल्पिक व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । स्थानीय सुकुम्बासी आइतीमाया तामाङले झुठा आश्वासन दिने र काम गर्ने दल जनताले चिनेको उल्लेख गरिन् ।
तपाईको प्रतिक्रिया