छोराको सम्झनामा विद्यालयमा अक्षय कोष

समाधान संवाददाता २०७९ कार्तिक २८ गते १८:१५

पोखरा ।
हाल बेलायतमा सुनचाँदी व्यवसाय गर्दै आएका प्रेमबहादुर बिश्वकर्मा र कमला विश्वकर्माले स्वर्गीय छोरा दीपकुमार सुनार (दीपक) को स्मृतिमा पोखरा–१० रामबजारस्थित कालिका माविमा अक्षय कोष स्थापना गरेका छन ।

विश्वकर्मा दम्पत्तीले जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने गरी १ लाख ११ हजार १ सय ११ रुपैयाँको कोष स्थापनार्थ आइतबार उक्त रकमको चेक विद्यालयलाई हस्तान्तरण गरे ।

पर्वतको कुश्मा नगरपालिका–१३ खौला लाँकुरी जन्म भइ हाल पोखरा रामबजार स्थायी ठेगाना रहेका बिक दम्पत्तीले विद्यालयका प्रधानाध्यापक बलराम गिरीलाई उक्त चेक दिएका हुन् । अकालमै छोराको मृत्यु भएको भन्दै विकले उनको स्मृतिमा अक्षय कोष स्थापना गरेको र आगामी दिनमा कोष रकममा वृद्धि हुने बताए ।

Advertisement

‘सानै उमेरमा छोरा गुमाउन पर्‍यो,’ विकले भने, ‘उसैको सम्झनामा छात्रवृत्ति कोषदेखि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गरेका छौं ।’ विद्यालय विकको घर नजिकै छ । विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील विक दम्पत्तीको बेलायतमा छोराको नामबाट दीप ज्वेलर्स पसल सञ्चालनमा छ ।

प्रधानाध्यापक गिरीले अक्षय कोषबाट लक्षित विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराई पठनपाठनमा सहयोग पुर्‍याउने बताए । ‘कोषको सही सदुपयोग हुनेछ,’ उनले भने । यसअघि विक दम्पत्तीले पोखरा–१५ फलेपाटनस्थित सिद्ध माविमा २०७७ असोजमा पनि त्यत्तिकै रकमको अक्षय कोष स्थापना गरिसकेको छ ।

Advertisement

दीपकले खौला लाँकुरी स्थायी ठेगाना भई पोखरामा अस्थायी वा स्थायी रुपमा बस्दै आएकाहरुको खौला लाँकुरी पोखरा सम्पर्क समाजलाई पनि एक लाख रुपैयाँ सहयोग गरिसकेका छन् । दीपकको २०७२ असोज १७ मा ३८ वर्षको उमेरमा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया