महंगीमा प्रदेशबाट राहतः दुर्गादत्त

पोखरा ।
आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर ३ (१) का उम्मेदवार दुर्गादत्त भण्डारीले महंगी नियन्त्रणका लागि प्रदेश स्तरमा नै अभियान सञ्चालन गर्ने वाचा गरेका छन् ।
‘बढ्दो महंगीले जनताको जीवन कष्टकर बनेको छ । खाद्य सामग्रीदेखी लत्ताकपडा सबैमा मूल्यवृद्धि भएको छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय विभिन्न कारणले जनताको जीवन असहज हुने गरी बढेको मूख्यवृद्धिप्रति जनता रुष्ट छन् । न्यून आय भएका नागरिकलाई हातमुख जोर्न समेत धौधौ छ,’ उनले भने, ‘महंगी यसरी नै बढ्ने हो भने नागरिकको जीवन निम्नवर्गीय समुदाय जोखिममा पर्ने खतरा देखियो ।’
उनले यो समस्यालाई प्रदेश स्तरबाट नै समाधान गर्न सकिने र आफू विजयी भएमा गण्डकी प्रदेशको महंगी नियन्त्रण गर्न अभियान चलाउने दावीसमेत गरे ।
उम्मेदवार भण्डारीले आफू विजयी भएर गएपछि प्रदेश सरकारसँग जनतालाई राहतका कार्यक्रम ल्याउनका लागि दवाव दिने प्रतिवद्धता गरे ।
उनले भने, ‘साँच्चै महंगीले जनताको ढाड सकेको छ । म पनि सामान्य परिवारको मान्छे भएकाले गहिरो अनुभुति मलाई पनि छ । विजयी भएर गईसकेपछि मुल्यवृद्धि रोक्न र जनतालाई महंगीबाट राहत दिने कार्यक्रम सरकारबाट ल्याउन लाग्नेछु ।’
उम्मेदवार भण्डारीले ५ वर्ष स्थिर सरकार बनाएर विकास र समृद्धिको नेतृत्व गठबन्धनले गर्ने बताए । उनले अबको युग समृद्धिको युग बन्ने उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय तहमा गठबन्धनको सरकार बन्ने र सो सरकारले समृद्धिसहित सुशासन दिने स्पष्ट पारे ।
बागलुङ बसपार्कको स्तरोन्नति, प्राचीन मौलिक घर तथा मठमन्दिरको संरक्षण लगायतका कामको नेतृत्व आफूले गर्ने भण्डारीले बताए । उम्मेदवार भण्डारीसहितको गठबन्धनको टोलीले वडाका बागबजार, ट्याक्सीचोक, नयाँगल्ली, मिरुवा, विन्ध्यवासिनी लगायतका स्थानमा घरदैलो गर्दै सुशासन र विकासका लागि मत दिएर विजयी गराउन आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया