दिगो विकासका लागि एमाले सरकारः विद्या

पोखरा ।
नेकपा एमालेका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकमा दिगो विकासका लागि बहुमतको सरकार आवश्यक रहेको बताएकी छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रचारप्रसार कार्यक्रमको अवसरमा मंगलबार पोखरा १६ मा भएको घरदैलो कार्यक्रममा उनले मुलुकको राष्ट्रियता, स्वाभीमान र समग्र विकासका लागि एउटै दलको बहुमतको सरकारको खाँचो औंल्याइन् ।
घरदैलो कार्यक्रममा मतदातासँग मत माग्दै स्थानीयका आवश्यकता र सुझाव संकलन गर्दै आएकी उनले सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतीकरण एवम् कृषि बजारीकरणमा प्रतिवद्ध भएर लाग्ने उल्लेख गरिन् ।
नेकपा एमालेको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थक बनाउन बहुमतको सरकार आवश्यक रहेको बताउँदै उम्मेदवार भट्टराईले गठबन्धनको सरकारले मुलुकलाई अस्थिर बनाउने दावी गरिन् ।
जनतालाई रुवाएर होइन, विकासले खुसीयाली ल्याउनुपर्ने आवश्यकता औल्याउँदै उनले सबैको सहभागिता र समन्वयका आधारमा सडक पूर्वाधार निर्माणमा प्राथमिकता दिनेमा जोड दिइन् । निर्वाचन क्षेत्र नं. २ (ख) का उम्मेदवार मीना गुरुङले पोखरामा नयाँ थपिएका वडाका वासिन्दाले महानगरवासीको अनुभूति हुने गरी विकास, निर्माण जुटने प्रतिवद्धता गरिन् ।
उनले सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेरअघि बढ्ने विश्वास व्यक्त गरिन् । मतदाताको घरदैलो कार्यक्रममा गण्डकी प्रदेश समानुपातिक उम्मेदवार डा. छममाया पुनको पनि सहभागी थिइन् ।
नेकपा एमाले पोखरा १६ का अध्यक्ष राजेश गुरुङका अनुसार मंगलबार घार्मी, कुरेचौर, हर्पाक, काउरे, अम्मरेस्वारा, हरिपाउ, गर्लुङ, अर्मला र बाटुलेचौरका विभिन्न स्थानमा घरदैलो एवं कोणसभा भएका छन् । पोखरा १६ महानगरको सबैभन्दा मतदाता धेरै भएको वडा हो । वडामा ११ हजार ८ सय ४२ मतदाता छन् ।
तपाईको प्रतिक्रिया