निर्वाचन विशेष
भूमिहीनलाई जग्गाको मालिक बनाउँछौं

समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक पार्न म मैदानमा छु । मितव्ययी र स्वावलम्बी प्रदेश सरकार निर्माण गरी उत्कृष्ट गण्डकी प्रदेश सृजना गर्न पनि मेरो उम्मेदवारी हो ।
भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई म लालपुर्जा दिलाउन चाहन्छु, जग्गाकै मालिक बनाउन चाहन्छु । अहिले देशमा महँगी चुलिँदो छ, भ्रष्टाचार बढेको जनगुनासो छ । महँगीलाई कम गराएर भ्रष्टाचार निर्मूल पार्न पनि म मेरो ठाउँबाट सक्दो योगदान दिन चाहन्छु ।
प्रदेशका विकास सूचकांक र न्यूनतम पूर्वाधारलाई सबल बनाउने मेरो अर्जुनदृष्टि छ । पोखरामा अहिले फोहोर व्यवस्थापनको समस्या देखिन्छ, यसलाई दीर्घकालीन रुपमै हल गर्न पनि म निर्वाचित बन्न चाहन्छु ।
यस क्षेत्रका वडा जोड्न मोटरेबल पुल र सडक निर्माण जरुरी छ । एक वडा, एक सुविधा सम्पन्न अस्पताल निर्माणको अवधारणा मेरो छ । पोखराका ग्रामीण भेगका वडालाई ग्रीन हिल सिटी बनाएर महानगरवासी भएको अनुभूति दिने योजना छ ।
अल्पसंख्यक तथा पछि पारिएका जनसमुदायलाई आर्थिक सशक्तीकरण गरी गरिबी निवारण गर्ने लक्ष्य छ । पोखरामा अहिले ट्राफिक व्यवस्थापनको समस्या देखिन्छ, यसलाई पनि हल गर्ने पहल गर्नेछु ।
एक वडा, एक पर्यटकीय गन्तव्य बनाएर पोखरामा आन्तरिक र बाह्य पर्यटकको आगमन बढाई अर्थतन्त्र सुदृढ बनाउनुपर्छ । एमाले नेतृत्वको सरकारले प्रदेशमा राम्रा कामलाई पूरा गर्न अब फेरि एमालेकै बहुमतको सरकार जरुरी छ ।
तपाईको प्रतिक्रिया