प्रदेशलाई गरिने केन्द्रीकृत र एकात्मक व्यवहार तोड्न

आसन्न निर्वाचनमा म रामजीप्रसाद बराल(जीवन) कास्की क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छु । मलाई पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाएको हो । मेरो उम्मेदवारी मुख्य गरी संघीय शासन व्यवस्थालाई बलियो बनाउने कामका लागि हो ।
हामीले ठूलो संघर्ष र बलिदानीपछि प्राप्त गरेको संघीय शासन व्यवस्थालाई अझै मजबुत बनाउन बाँकी छ । एकात्मक राज्य प्रणाली हटे पनि एकात्मक सोच अझै पनि हट्न सकेको छैन ।
संघीय सरकारले प्रदेशहरुलाई गर्ने व्यवहार अझै केन्द्रीकृत र एकात्मक छ । त्यो तोड्नका लागि मैले प्रयास गर्नेछु । प्रदेशहरुले संघबाट संघीयताको मर्म अनुसार अधिकार प्राप्त गर्न सकेका छैनन् ।
संविधानमा उल्लेख भएको अधिकार समेत प्रदेश सरकारहरुले उपयोग गर्न नपाएको अवस्थामा प्रदेशहरुलाई बलियो बनाउनका लागि मैले आवाज उठाउने छु । प्रदेशहरु बलियो नबन्दा सम्म राम्रोसंग संघीयता कार्यान्वयन हुन सक्दैन ।
हाल प्रदेश सरकारको मन्त्री तथा त्यसअघि प्रदेशसभा सदस्य भएर मैले मेरो विकास निर्माणका धेरै कामको थालनी गरेको छु । कतिपय सम्पन्न भएपनि ठूला योजनाहरुको काम बाँकी छ । ती योजना पूरा गर्न र प्रदेश तथा पालिकास्तरका गौरबका योजना पूरा गर्नका लागि ठूलो बजेट आवश्यक पर्दछ ।
ती आयोजनाका लागि संघीय सरकारबाट बजेट ल्याउने र नयाँ योजनाहरु संघ सरकारबाट ल्याउनका लागि मैले जोडदिने छु । मुख्य गरी विकासमा पछि परेको कास्की क्षेत्र नं ३ मा पर्यटन, कृषि, गुणस्तरीय पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रको विकासका लागि संघीय सरकारबाट ठूला योजना ल्याउन विशेष पहल गर्ने छु ।
तपाईको प्रतिक्रिया