
पोखरा ।
कास्की कारागारका कैदीबन्दीले मंसिर ४ गते हुने निर्वाचनमा कारागारबाटै मतदान गर्न पाउने भएका छन् । कैदीबन्दीले प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगका अनुसार, कारागारमा रहेका कैदीबन्दीले २०६४ र २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा मतदान गरेका थिए । पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले २०६४ सालको संविधानसभा सदस्य चुनावमा नै कैदीबन्दीले समानुपातिकतर्फ मतदान गरेको बताए । उनी त्यति वेला प्रमुख निर्वाचन आयुक्त थिए ।
मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्न पाउने व्यवस्था गरिएको जिल्ला कारागार कास्कीका सूचना अधिकृत झंक पौडेलले बताए । विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका ८५२ जनामध्ये १ जना महिला र ५ जना पुरुष कैदीबन्दीले मताधिकार प्रयोग गर्न पाउने उनले जानकारी दिए ।
‘हामीलाई ७ जना कैदीबन्दीको मात्र मतदाता नामावलीको नाम प्राप्त भएको थियो, एक जना छुटेर गइसक्नुभयो यहाँबाट ६ जनाले मतदान गर्न पाउनेछन्,’ पौडेलले भने, ‘कैदीबन्दीको संख्या धेरै भएपनि अस्थायी मतदाता नामावली ६ जनाको मात्र प्राप्त भएको छ । मतदात परिचयपत्र बनाउने बेला कति जना कैदीबन्दीलाई थाहै भएन कति जनाले आफंै बनाउन मानेनन् ।’
प्रतिनिधि सभा सदस्यका लागि पहिलोपटक कैदीबन्दीले मतदान गर्न पाउने व्यवस्था भए पनि २०७० सालमा पनि कास्की कारागारका कैदीबन्दीले संविधान सभा सदस्यको निर्वाचनमा मतदान गरेको पौडेलले बताए ।
कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जानकारी दिएको छ । उनका अनुसार कैदीबन्दीका साथै चुनावमा नखटिने सुरक्षाकर्मीले मतदान गर्न पाउनेछन् । कैदीबन्दी र सुरक्षाकमीले प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउनेछन् । निर्वाचनमा खटिने सुरक्षाकर्मीले भने सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्न पाउने कार्यालयले बताएको छ ।
कास्कीमा २ लाख ६४ हजार ४५३ मतदाता छन् । पुरुष मतदाता १ लाख २४ हजार ८३ छन्, महिला मतदाता १ लाख ४० हजार ३६९ छन् र अन्य ४ जना मतदाता छन् ।
पर्वत कारागारका ३५ कैदीबन्दीले पनि आम निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । अघिल्ला निर्वाचनमा मतदानबाट वञ्चित कैदीबन्दी, कर्मचारी, निर्वाचनमा खटिने सुरक्षाकर्मी लगायतका लागि यो पटक छुट्टै मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार पर्वतमा कारागार र अस्थायी मतदाताका लागि दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयले सदरमुकामस्थित जिल्ला कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा गरी दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको जानकारी दिएको छ । जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले कारागारका ३५ जना कैदीबन्दी र जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मीलगायत अन्य व्यक्तिहरूसमेत गरी १ हजार ६ सय ७० जनाले संघीय संसद्का लागि समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्न पाउने छन् ।
२०६४ र २०७० सालको निर्वाचनमा मतदाता समबन्धी ऐन संशोधन गरेर नै कैदीबन्दी, सेना, प्रहरी तथा अस्थायी शिविरमा रहेका माओवादी लडाकूलाई मतदानको अधिकार दिइएको थियो ।

प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया