मुस्ताङमा चिसोले २ विदेशी नागरिकको मृत्यु

समाधान संवाददाता २०७९ मंसिर ३ गते १८:२१

सुन्दरकुमार थकाली
जोमसोम

अत्यधिक चिसोले मुस्ताङको मेसोकोन्दोपास फेदीमा २ विदेशी पर्यटकको शुक्रबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा थाइल्यान्डकी ४९ वर्षीया राटाया फिलाईसेङगसुरी र ३७ वर्षीया पेनी अरनलुम रहेको आरसल्यान्ड ट्रेकिङ एजेन्सीले जनाएको छ ।

नोभेम्बर ११ तारिखमा लमजुङको बेसी सहरदेखि मनाङ हुँदै राउन्ड चक्र्रिय अन्नपूर्ण पदमार्ग यात्रामा निस्किएका १२ जना विदेशी, ८ जना भरिया र २ जना प्रथप्रर्दशकको टोली नोभेम्बर १७ तारिखमा विश्वकै अग्लो तिलिचो ताल आइपुगेको थियो । तिलिचो समुन्द्री सतहदेखि ४ हजार ९ सय १९ मिटर उचाईमा अवस्थित छ । पदमार्गमा निस्किएको टोली बेसी सहरबाट ६ दिनको पदयात्रापछि तिलिचो आइपुगेको थियो ।

तिलिचो ताल हुँदै मेसोकोन्दो पासको अग्लो पहाड छिचोलेर मुस्ताङको ठिनी गाउँ झर्ने क्रममा समुन्द्री सतहदेखि ४२ सय मिटरको मेसोकोन्दो पासको फेदीमा २ पर्यटकको मृत्यु भएको आरसल्यान्ड ट्रेकिङ एजेन्सी कम्पनीका प्रतिनिधि कुङ्गा शेर्पाले जानकारी दिए । तिलिचो ताल हुँदै मुस्ताङ झर्ने क्रममा दुई विदेशी महिला पर्यटक बिरामी परेका थिए । ३७ वर्षीया फनिता नाकासिङ र ४२ वर्षीया माथुरा टसाइकानानलाई शुक्रबार दिउँसो एअर डाइनोस्टिकको माउण्टेन हेलीले मुस्ताङ ल्याएको थियो ।

Advertisement

अन्नपूर्ण पदमार्गमा हिडेका २२ जनामध्ये १ विदेशी र १ नेपाली तिलिचो तालबाट फेरि मनाङ फर्किएका छन् भने सकुशल रहेका १४ विदेशी पर्यटक र भरियाहरु शुक्रबार साँझ जोमसोम आइपुगेका थिए । मेसोकोन्दोपासमा मृत्यु भएका २ जनाको शव हेर्न दुई भरिया मेसोकोन्दोपासको फेदीमै बसेका छन् ।

अहिले तिलिचो ताल र मेसोकोन्दापास आसपास अत्यधिक चिसो छ । त्यहाँ हिमपातका कारण पूरै पदमार्ग सेताम्मे छ । मुस्ताङतर्फ पर्ने मेसोकोन्दोपास समुन्द्री सतहदेखि करिब ५ हजार मिटरमा पर्छ । अन्नपूर्ण पदमार्गमा निस्किएका विदेशीसहित नेपालीको टोली शुक्रबार दिउँसो मुस्ताङ प्रशासनको सम्पर्कमा आएको थियो । प्रतिकुल मौसमका कारण मेसोकोन्दोपासमा मृत्यु भएका दुई विदेशी महिला लाश लिन मुस्ताङ प्रशासनसँग समन्वय भएको आरसल्यान्ड ट्रेकिङ एजेन्सीका प्रतिनिधि शेर्पाले बताए ।

Advertisement

जिल्ला प्रहरी कार्यालय मुस्ताङले तिलिचो पदमार्गको मेसोकोन्दोपासमा २ विदेशी महिलाको मृत्यु भएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले विदेशीको शव व्यवस्थापन तथा उद्दार गर्न काठमाडौंबाट हेली आउने र प्रहरीले घटनाको विवरण संकलन गर्ने बताए ।

तपाईको प्रतिक्रिया