विद्यार्थीलाई आत्मरक्षा तालिम

समाधान संवाददाता २०७६ वैशाख १७ गते १५:११

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिका वडा नम्बर ६ को सहयोग तथा लेकसाइड तेक्वान्दो डोजाङको आयोजनामा विद्यार्थीका लागि आत्मरक्षा तालिम भएको छ । १ महिने तालिम समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सांसद प्रभा कोइरालाले यस्ता तालिमले समाजमा किशोरीमाथि भइरहेको घटनालाई रोक्न मद्दत पुर्‍याउने बताइन् । यस्ता तालिम प्रदेशका हरेक टोलमा सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

निःशुल्क तालिममा झण्डै ८० को हाराहारीमा सहभागी बनेकोे प्रशिक्षक प्रितम कुँवरले बताए । पोखराको तालबाराही मावि, पार्दी मावि र श्रीकृष्ण माविका विद्यार्थीलाई निशुल्क तालिम दिइएको हो । पाँचौ पटकसम्म निशुल्क तालिम दिएको भएपनि यसपालि पोखरा महानगरपालिका वडा नम्बर ६ ले सहयोग गरेको प्रशिक्षक कुँवरले बताए ।

Advertisement

पोखरा महानगरपालिका वडा नम्बर ६ की वडा सदस्य पुष्पा पहारीले वडाको सहयोगमा छात्राहरुका लागि आत्मरक्षा तालिम आयोजना गरेको बताइन् । ‘देशमा विभिन्न घटना घटेका कारण त्यसमा बालबालिकालाई सचेत गराउन र कसैले आक्रमण गर्न खोजे तत्कालै प्रतिकार गरी बँच्न सकुन् भन्ने लक्ष्यका साथ तालिम आयोजना गरिएको हो,’ पहारीकोे भनाइ थियो । तालिम मार्फत बच्चाहरुलाई आत्मरक्षा गर्ने कलासँगै आत्मबल बढ्ने उनको अपेक्षा छ । ‘घटना नघटुन्, बच्चाहरुलाई आक्रमण गर्न नसकुन् भनेर वडाले सर्पोट गरेको हो,’ उनले थपिन् ।

तालिममा सहभागी किशोरीले तालिम पश्चात आफूहरुमा आत्मबल बढेको प्रतिक्रिया दिए । तालिममा सहभागी अस्मिता दाहाल निशुल्क सिक्न पाउँदा खुसी लागेको बताइन् । ७ कक्षामा अध्ययनरत सिर्जना विष्ट तालिमले आत्मरक्षा गर्ने सिप प्रदान गर्नेमा आशावादी छन् । कक्षा ७ मा अध्ययनरत अस्मिता सुनार तालिम लिएपछि आफैलाई फाइदा हुने बताइन् । ५ कक्षामा अध्ययनरत अंकिता दाहाल र आकृति दाहाल पनि आत्मरक्षा तालिम गर्न पाएकोमा उत्साहित बनेको बताए । उनीहरुलाई तेक्वान्दो प्रशिक्षक प्रितम कुँवरले तालिम दिएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया