
सञ्जय रानाभाट, पोखरा ।
४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । बिहीबार बेलुकासम्म गण्डकी प्रदेशमा प्रतिनिधिसभातर्फ १४ र प्रदेशसभातर्फ ३१ निर्वाचन क्षेत्रको छिनोफानो भइसकेको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक निर्वाचनबाट चुनिन्छन् ।
तर, मतगणनाको अन्तिमतर्फ आइपुग्दा गण्डकीमा कुनै पनि दलले एकल सरकार बनाउने सम्भावना टरेको देखिन्छ । बहुमतको सरकार बनाउन गण्डकीमा ३१ सांसद आवश्यक पर्छ ।
प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र समानुपातिकामा एमालेअघि छन् । माओवादीको संलग्नताबिना दुवैले सरकार बनाउन नसक्ने अंकगणित देखिँदै छ
गण्डकीमा प्रत्यक्षतर्फ कांग्रेस पहिलो र समानुपातिकमा दोस्रो हुँदा पनि स्पष्ट बहुमत ल्याएर सरकार बनाउन सक्ने सम्भावना देखिँदैन । नेकपा एमाले पनि प्रत्यक्षमा दोस्रो र समानुपातिकमा पहिलो भइरहँदा बहुमत ल्याए एकल सरकार बनाउन सक्ने अंकगणित छैन ।
प्रत्यक्षतर्फ नेपाली कांग्रेसले १५, नेकपा एमालेले १०, माओवादी केन्द्रले ४, नेपाल समाजवादी पार्टीले १ र मनाङ २ बाट स्वतन्त्र सांसद गरी ३१ जनाको नतिजा आइसकेको छ । यो समाचार तयार पर्दासम्म गण्डकीमा समानुपातिकतर्फ नेकपा एमाले पहिलो र नेपाली कांग्रेस दोस्रो स्थानमा छ । समानुपातिकतर्फ पनि माओवादी केन्द्र तेस्रो स्थानमा छ । संघमा बन्ने राजनीतिक समीकरणले प्रदेशको राजनीतिक यात्राको टुंगो पक्कै लाग्नेछ ।
संघ र प्रदेशमा अब कस्तो सरकार बन्ला ? यो प्रश्नमा बहस जारी छ । मतगणना जारी भएका ४ निर्वाचन क्षेत्र छन् । स्याङ्जा २ मा अझै गणना सुरु हुन सकेको छैन । कास्की १ (१) र कास्की ३ (२)मा मतगणना जारी छ । कास्की १ (१)मा खगराज अधिकारी र कास्की ३ (२) एमालेकै राजीव पहारीले अग्रता लिइरहेका छन् ।
गठबन्धनका दलले निर्वाचनपछि पनि यही गठबन्धन चल्ने घोषणा गरे पनि कांग्रेसेको मत माओवादी र एकीकृत समाजवादीका उम्मेदवारले नपाउँदा गठबन्धन टुट्न सक्ने आकलनसमेत भइरहेको छ । केन्द्रमा शीर्ष गठबन्धन सरकारको खाका नबनाउँदा गण्डकीमा पनि कस्तो सरकार बन्छ, यकीन छैन ।
कुनै पनि पार्टीको स्पष्ट बहुमत नआउँदा केन्द्रीय राजनीतिले गण्डकी प्रदेश सरकारमा पक्कै भूमिका खेल्नेछ । यहाँ एमालेबाट पूर्व गृहमन्त्री खगराज अधिकारी र नेपाली कांग्रेसबाट सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने चर्चा छ । यद्यापि एमालेका अधिकारी विजयी भइसकेका छैनन् । उनी माओवादीका दीपक कोइरालासँग झिनो मतले अगाडि छन् । कांग्रेसका पाण्डे गोरखा २ (२ं) बाट प्रदेश विजयी भइसकेका छन् । यहाँ सरकार बनाउन एमाले, कांग्रेस दुवैले माओवादीको साथ लिनुपर्ने वाध्यता देखिन्छ ।
सम्भावना १
संघ सरकारमा हालकै गठबन्धन कायम भए सुरेन्द्र पाण्डे नेतृत्वको सरकार बन्ने पक्का छ । कांग्रेसलाई सरकार बनाउन माओवादीकै साथ आवश्यक पर्ने देखिन्छ । केन्द्रमा एमाले–माओवादीको गठबन्धन बने पनि एमालेलाई माओवादी लगायत स्वतन्त्र र राप्रपाको साथ देखिन्छ । त्यसको निर्णायक माओवादी नै देखिन्छ ।
तर, हालको सत्ता गठबन्धनमा सरकारको नेतृत्व गर्ने पालो माओवादीको भएकाले प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बन्ने बताउँछन् । ‘अब पहिलो सरकारको नेतृत्व गर्ने पालो माओवादीको हो । केन्द्र सरकार माओवादीको नेतृत्वमा बने प्रदेशमा हामी कांग्रेस नेतृत्वमा सरकारमा बनाउँछौं,’ माओवादीका एक नेताले भने ।
तर, यो निर्वाचनमा माओवादीले कम सिट ल्याएकाले केन्द्रमा पनि कांग्रेस नेतृत्वको सरकार बन्ने कांग्रेस नेताहरु नै बताउँछन् । ‘सरकारमा सहभागी हुँदा सिट संख्याले पनि ठूलो अर्थ राख्छ । यो गतिको मत परिणाम हेर्ने हो भने कांग्रेसको प्रदेशमा २० देखि २५ सिट आउँछ । माओवादीलाई राम्रो मन्त्रालय दिएर सरकार कांग्रेसकै बन्छ,’ एक कांग्रेस नेताले भने ।
सम्भावना २
निर्वाचन परिणामले एमाले माओवादी मिलेर सरकार बनाउने सम्भावनासमेत देखाउँछ । त्यो सम्भावना गण्डकीमा पनि देखिन्छ । गठबन्धनमा कांग्रेसको भोट माओवादी र एकीकृत समाजवादीले नपाएपछि असन्तुष्टि छ । ओली र देउवाले प्रचण्डलाई सहकार्य गरेर जाने आग्रह गरिसकेका छन् । केन्द्रमा संसद्को अंक गणितलाई प्रभावित बनाउन विभिन्न निकायले भूमिका खेल्ने पनि माओवादीलाई बाहिरै राखी साना दल मिलाएर पनि सरकार बन्ने हुन सक्छ ।
एमाले गण्डकीका एक पदाधिकारीले अब नयाँ समीकरण बन्ने र एमालेकै नेतृत्वमा सरकार बन्ने दाबी गरे । ‘गठबन्धनमा माओवादी लगायतलाई कांग्रेसको मत गएन । यसले खटपट सुरु भएको छ । अब एमालेसँग मिलेर नयाँ समीकरणसँगै प्रदेश सरकारको एमालेको बन्छ,’ ती नेताले भने ।
राजनीतिक विश्लेषक कपिलमणि दाहाल निर्वाचन परिणाम नआएसम्म सरकार निर्माणमा कस्तो खालको समीकरण बन्छ भनेर अनुमान गर्नु हतार हुने बताउँछन् । ‘अन्तिमसम्म निर्वाचनको परिणाम कस्तो हुन्छ ? कति भोट कुन दलले पाउँछन् । कति भोट गठबन्धनमा ट्रान्सफर हुन्छ ? यसले असर गर्छ । एउटा पक्षले अर्कोलाई बेइमान गर्यो भने अहिलेको गठबन्धनकै निरन्तरता हुन्छ भन्ने ग्यारेन्टी हुन्न ।’
दाहालले परिस्थिति अनुसार जस्तोसुकै गठबन्धन बन्न सक्ने सम्भावना औंल्याए । गठबन्धनको खाका र सम्भावना राजनीतिक दलले प्राप्त गर्ने सिटले पनि निर्धारण गर्ने उनी बताउँछन् ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया