बाल यौन दुरुचारीको सजाय बढाउन माग

समाधान संवाददाता २०७९ मंसिर ९ गते ११:०२

पोखरा ।
बाल अधिकारकर्मीले बाल यौन दुव्र्यवहारको सवालमा प्रभावकारी कानुन निर्माण गर्न माग गरेका छन् । बाल यौन दुरुपयोगलाई नेपालको कानुनमा सजाय कम भएको दाबी गर्दै उनीहरुले त्यस्ता मुद्दाका दोषीलाई कैद तथा जरिवानाको व्यवस्था बढाउन माग गरेका छन् ।

Advertisement

बाल अधिकारकर्मी राजेश शर्माले बाल यौन दुरुपयोगको विषयमा राज्यले उपयुक्त कानुन निर्माण गर्नुपर्ने माग गरे । फेमली फर एभ्री चाल्डको सहयोगमा एसडिजी स्टुडियो तथा भ्वाइस अफ चिल्ड्रेनले आयोजना गरेको ‘बाल अधिकार महासन्धीको छैटौं र सातौं पूरक प्रतिवेदन माथि विषयगत छलफल तथा बालकमाथि हुने यौन दुव्र्यवहार’ विषयक कार्यक्रममा उनले बालकलाई गरिने यौन दुव्र्यवहारको सवाल पशु करणी सरहको समेत नभएको दाबी गरे ।

‘मुलुकी अपराध (संहिता) ऐन २०७४को पशु करणीको महलमा गाई तथा गोरुको करणी हुने व्यवस्था छ । बालकलाई करणी (यौनजन्य दुव्र्यवहार) हुन्छ भन्ने कहिँकतै उल्लेख छैन,’ उनले भने, ‘बालकलाई गरिने यौन दुव्र्यवहारको सवाल कानुनमा समेटिएको छैन ।

बालकको हकमा जवरजस्ती करणीको मुद्दा अहिलेसम्म दर्ता भएको छैन ।’ उनले मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२५ अनुसार बालयौन दुरुपयोग तथा अप्राकृतिक मैथुनको कसुर गर्ने व्यक्तिको लागि ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था गरेको जानकारी दिए ।

उनले मुलुकी ऐनमा अप्राकृतिक मैथुन तथा बाल यौन दुरुपयोग कसुर गर्ने व्यक्तिलाई १० वर्ष कैद तथा १० लाखसम्म सजायको व्यवस्था भएको उल्लेख गरे । उनले बालकको सवालमा पछिल्लो समयमा बनेको मुलुकी अपराध (संहिता) ऐन २०७४ पश्चगामी भएको दाबी गरे ।

Advertisement

उनले हरेक ६ बालकमध्ये १ बालक कुनै न कुनै रुपमा यौन हिंसाको सिकार बन्ने तथ्यांक पेश गरे । उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को पिलर फाइभमार्फत बालयौन दुरुपयोगको घटनाहरु विस्तारै बाहिर आउन थालेको जानकारी दिए । अधिवक्ता सुष्मा ओझाले मुलुकी अपराध (संहिता)मा महिला र बालिकालाई जबरजस्ती करणी मानेको भएता पनि त्यसमा बालकको समेत परिभाषामा समेटिनुपर्ने माग गरिन् ।

उनले बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुनको कसुर व्यक्तिको कैद तथा जरिवानाको व्यवस्थाको प्रावधानलाई बढाउन माग गर्दै उनले बाल यौन दुरुपयोगको मुद्दालाई बालबालिकासम्बन्धी ऐन २०७५ अन्तर्गत बाल बालिका विरुद्धको कसुरमा राख्नुपर्ने बताइन् ।

राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक माया शर्माले यौन जन्य हिंसामा पुरुष पीडक हुने भएको कारण बाल यौन दुरुपयोगको मुद्दालाई समाजले अझै नपत्याउने प्रचलन रहेको जानकारी दिइन् । जिल्ला प्रहरी कार्यालय कास्कीका महिला तथा बालबालिका सेलका प्रमुख समीक्षा घिमिरेले बालिकामाथि हुने यौन हिंसाका मुद्दा दिनहुँ जसो उजुरी परेको भएता पनि बालकको सवालमा वर्षमा ६ या ७ मुद्दा परेको जानकारी दिइन् । उनले बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुनको उजुरी दर्ता गर्न आउँदा सबै विवरण नबताउने परिपाटी भएको उल्लेख गरिन् ।

कार्यक्रममा इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेल, एसडिजी स्टुडियोका अध्यक्ष प्रदीपकुमार लामिछाने, ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान)पोखराका कार्यवहाक अध्यक्ष धर्मराज पन्थी लगायतले बालकमाथि हुने यौन हिंसाका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया