सम्पादकीयः लैंगिक हिंसा निवारणको प्रयास

समाधान संवाददाता २०७९ मंसिर ९ गते ११:५९

लैंगिक हिंसा समाज भित्र लुकेको अपराध हो । कतिपय घर परिवारका सदस्य तथा आफन्तबाट समेत त्यस्ता खालका अपराधिक क्रियाकलाप भएका छन् । पछिल्लो समय नेपालमा लैंगिक हिंसाको घटनाहरु बढेका छन् । त्यसमा पनि महिला हिंसाको घटना बेसी छन् ।

लैगिक हिंसाका घटनालाई न्युनिकरणका लागि प्रत्येक वर्ष लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ । ‘सभ्य समाजको पहिचानः लैंगिक हिंसा विरुद्धको अभियानं’ भन्ने राष्ट्रिय नाराका साथ अभियान सञ्चालन गरिएको छ ।

यो लैंगिक हिंसाको अन्त्य गर्नका लागि विश्वव्यापी रुपमा गरिने अभियान हो । शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको अगुवाइमा प्रदेशका सामाजिक विकास कार्यालय, स्थानीयतह तथा मानव अधिकारवादी संघ संस्थाको समन्वयमा अभियान चलेको छ ।

Advertisement

हरेक वर्षको नोभेम्बर २५देखि डिसेम्बर १० तारिख तदनुसार मंसिर ९ देखि २४ गतेसम्म सञ्चालन हुन्छ । अभियानको क्रममा हिंसा न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम गरिएको छ । विश्वव्यापी रुपमा मनाइने अभियान सन् १९८१ मा ल्याटिन अमेरिकी देश डोमिनीकन गणतन्त्रका एकै परिवारका पेटिया, मिनार्मा र मारिया ३ दिदीबहिनीको हत्यासँग जोडिएको छ ।

तत्कालिन त्रिजुलो तानाशाही सरकारको विरुद्धमा गरिएको आन्दोलनमा ३ दिदिबहिनीलाई लैंगिक रुपमा गरिएको राजनैतिक हिंसाको रुपमा लिईन्छ । उनीहरुलाई राज्यद्रोहको आरोपमा २५ नोभेम्बरमा उनीहरुको सामूहिक हत्या गरिएको थियो । त्रिजुलो सरकारको अन्त्य र स्वतन्त्र गणराज्य स्थापनासँगै सन् १९९१ मा डोमिनीकन गणराज्य र अन्य ७४ राष्ट्रले संयुक्त राष्ट्रसंघमा २५ नोभेम्बरलाई महिला विरुद्व हुने हिंसा उन्मूलन दिवसको रुपमा मनाउन प्रस्ताव पेश भयो ।

Advertisement

संयुक्त राष्ट्रसंघले उक्त प्रस्तावलाई पारित गरी सोही अनुसार यो अभियान विश्वव्यापी रुपमा मनाउन थालिएको हो । नेपाल सरकारले २०७६ सालमा लैंगिक हिंसा विरुद्धको अभियान वर्ष चलाएको थियो । अभियान अन्तर्गत घरेलु हिंसा, यौन हिंसा र दुव्र्यवहार, कार्यस्थल र राजनीतिक क्षेत्रको लगायत १३ प्रकार हिंसालाई सम्बोधन हुने गरी कार्यक्रम गरेको थियो । गण्डकीमा ‘गण्डकी प्रदेशको प्रतिवद्धता, लैंगिक हिंसा विरुद्धको सुन्य सहनशिलता’ भन्ने नाराका साथ अभियान वर्षको कार्यक्रम गरिएको छ ।

१६ दिने अभियान लैंगिक हिंसा न्युनिकरणको लागि निश्चित रुपमा गरिने सांकेतिक अभियान हो । सरकारी निकाय तथा सरोकारवाला निकायले नियमित रुपमा सचेत र संगठित भएर त्यस्ता कार्यक्रम गरे लैंगिक हिंसा निवारण गर्न सकिन्छ । हिंसाका कारण पहिचान गरी पीडितलाई न्याय, पुनस्थापना तथा सुरक्षित आवास गृह निर्माण गर्नु पर्छ ।

महिलाहरु आर्थिक रुपमा सशक्त र हिंसासँग जुध्न मानसिक रुपमा तयार बनाउनु पर्छ । समाजमा लिंगकै आधारमा महिला माथी हुने महिला हिंसाका घटनालाई न्यूनिकरण गर्नु सरोकारवाला सबैको साझा दायित्व हो । लैंगिक हिंसा अन्त्यका लागि ठोस नीति तथा कानुन निर्माण गरी कार्यान्वयनमा जोड दिनु पर्छ ।

तपाईको प्रतिक्रिया