मुस्ताङमा विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण

सुन्दरकुमार थकाली २०७९ मंसिर ९ गते १६:०५

जोमसोम ।
मुस्ताङमा विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गरिएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङले प्रमाणपत्रसहित सम्मान गरेको हो ।

प्रतिनिधिसभामा निर्वाचित देशकै सबैभन्दा कान्छा विजयी उम्मेदवार योगेश गौचन थकालीलाई प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले टिका र मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले खाँदा र प्रमाणपत्रले सम्मान गरेका छन् ।

यसैगरी मुस्ताङ प्रदेश (१) बाट निर्वाचित नम्डु गुरुङ र मुस्ताङ प्रदेश (२) बाट निर्वाचित विकल शेरचनलाई प्रजिअ शर्मा र मुख्य निर्वाचन अधिकृत पराजुलीले अविर टिका र खाँदा लगाई प्रमाणपत्रले सम्मान गरे । कार्यक्रममा उपस्थित कर्मचारी, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलको प्रतिनिधि लगायतले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्दै खाँदा लगाएर सम्मान गरेका थिए ।

Advertisement

मुस्ताङबाट प्रतिनिधि र प्रदेशसभामा निर्वाचित तीनै जना विजयी उम्मेदवार नेपाली कांगे्रसबाट निर्वाचित भएका हुन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गर्ने कार्यक्रममा पूर्ववाणिज्यमन्त्री रोमी गौचन थकाली, संविधानसभा सदस्य चन्द्रबहादुर गुरुङ, श्रीमाया थकाली, सुरक्षा निकाय, विभिन्न राजनीतिक दलका पार्टि प्रतिनिधि, ५ वटै स्थानीय निकायका जनप्रतिनिधि, विभिन्न कार्यालयका प्रतिनिधि र पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

मुस्ताङका जनप्रतिनिधिको तर्फबाट बोल्दै मुस्ताङ प्रदेश(२)का विजयी उम्मेदवार विकल शेरचनले मुस्ताङको समृद्धि र विकासका लागि तीनै तह हातेमालो गरेर काम गर्न प्रतिवद्धता व्यक्त गरे ।

Advertisement

मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले सबैको सामुहिक प्रयासले मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन निश्पक्ष, स्वतन्त्र, भयरहित र पारदर्शी ढंगले सम्पन्न गर्न सहयोग पुगेको बताए ।

‘निर्वाचन सफल बनायौं, यसका लागि कर्मचारी, सुरक्षा, राजनीतिक दल र आम सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रह्यो,’ मुख्य निर्वाचन अधिकारी पराजुली भने,‘ अहोरात्र खटाई र जिम्मेवार प्रस्तुतीकरणका कारण देशभरीमा हामीले प्रत्यक्ष र समानुपातिक नतिजा सार्वजनिक गर्न पहिला भयौं,यसका लागि सबै पक्षलाई हार्दिक धन्यवादसहित आभार व्यक्त गर्दछु ।’

मुस्ताङमा कुल मतदाता १० हजार ९५७ रहेकोमा ७ हजार २३० मत खसेको थियो । जसमध्ये नेपाली कांग्रेसका विजयी उम्मेदवार योगेश गौचन थकालीले ३ हजार ९९२ मत पाउँदा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत पाएका थिए ।

यसैगरी, मुस्ताङ प्रदेश (१)मा नेपाली कांग्रेसका बिजयी उम्मेदवार नम्डु गुरुङले कुल खसेको १ हजार ८०५ मत मध्ये १ हजार ४८ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटत प्रतिद्धन्दी एमालेका ईन्द्रधारा बिष्टले ७९३ मत पाएका थिए ।

मुस्ताङ प्रदेश(२)मा नेपाली कांग्रेसका विजयी उम्मेदवार विकल शेरचनले ५ हजार ४०१ मत गणना हुँदा २ हजार ७२३ मत प्राप्त गरी विजयी भएका थिए भने उनका निकटम् प्रतिद्धन्दी एमालेका उम्मेदवार चन्द्रमोहन गौचनले २ हजार ५६५ मत पाएका थिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया