‘महिला र बालबालिकालाई प्राथमिकता देऊ’
पोखरा ।
बाल तथा महिला सशक्तीकरण समाज नेपाल कास्कीको उत्थान परियोजनाको सरोकारवालाबीच समीक्षा गरिएको छ । बालिका, किशोरी, तथा वयस्क (मनोरञ्जन क्षेत्रमा काम गर्ने)को जीवन उपयोगी, सीप तथा व्यवसायिक तालिम प्रदान गरेको परियोजना सफलता पूर्वक अघि बढेको संस्थाका अध्यक्ष युमाया पुनले जानकारी दिइन् ।
‘संस्थाले आन्तरिक बेचबिखनको जोखिममा रहेको लक्षित समूहका लागि सामाजिक मनोविमर्श, व्यवसायिक तालिम दिएर उद्यमशीलताको विकासमा सहयोग पुर्याएको छ,’ अध्यक्ष पुनले भनिन्, ‘शिक्षालाई प्राथमिकतामा राखेर सबै कार्यक्रम सञ्चालन गरिएको छ ।’ उनले संस्थाले महिला तथा बालबालिकाको शिक्षा स्वास्थ्यको क्षेत्रलाई केन्द्र विन्दुमा राखेर काम गरेको जानकारी दिइन् ।
परियोजनाका कार्यक्रम अधिकृत अनिता कुँवरले परियोजनाले १ वर्षको अवधिमा १ सय ९ जनालाई मनोविमर्श सेवा, १ सय ४३ लाई जीवन उपयोगी तालिम र २७ जनालाई शैक्षिक सहयोग गरेको बताइन् । युनिसेफ नेपाल, विश्व शिक्षाको सहयोगमा भएको परियोजनाको लक्षित वर्गको उच्च गतिशिलता, जन्मदर्ता, नागरिकता, विवाह दर्ता लगायत कानुनी कागजातको मुख्य समस्या रहेको उनले उल्लेख गरिन् ।
पोखरा महानगरपालिका सामाजिक महाशाखाका बाल कल्याण अधिकारी विष्णुमाया पौडेलले आर्थिक रुपमा सशक्तीकरण र नेतृत्व विकास नभएसम्म लैंगिक हिंसा न्यूनीकरण गर्न नसकिने बताइन् । उनले समाजमा लैंगिक हिंसाका घटना बढेका कारण १६ दिनमा मात्र नभएर ३ सय ६६ दिनमा गरे पनि अपुग हुने चर्चा गरिन् ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपाल गण्डकीका कार्यवहाक अध्यक्ष पदमराज पहारीले राज्यका निकाय पुग्न नसकेका स्थानमा सामाजिक संघ, संस्थाले सेवा प्रवाह गरेको बताए । उनले विषय विज्ञताको हिसाबले राज्यका नीति निर्माणमा सहजीकरण गरेको उल्लेख गरे ।
समारोहमा पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण बराल, तालबाराही माध्यमिक विद्यालयमा प्रधानाध्यापक ताराप्रसाद पोखरेल, संस्थाका पूर्व अध्यक्ष रजनी कोइराला, उपाध्यक्ष मीना लिगल श्रेष्ठ, सहसचिव लक्ष्मी अधिकारी, सेवाग्राही रुविना मगर लगायतले संस्थाले महिला तथा बाल बालिकाको क्षेत्रमा गरेका कामका बारेमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया