वित्तीय क्षेत्रमा संघीयता नआएको गुनासो

समाधान संवाददाता २०७९ मंसिर ११ गते ११:४१

पोखरा ।
सयपत्री समाज पोखराले निर्वाचन पछिको लोकतन्त्र, अर्थतन्त्र र सामाजिक न्यायको सम्भावना विषयमा छलफल आयोजना गरेको छ । फेडरिक इबर्ट स्टिफ्टुङ (एफईएस)को सहयोगमा भएको कार्यक्रममा वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका उपप्राध्यापक डा श्रीकान्त खतिवडा र बुद्धिजीवी कृष्ण केसीले संघीय तथा प्रादेशिक निर्वाचनपछिको राजनीतिक आयाम तथा लोकतन्त्रको भविश्य र अभियन्ता सावित्री गौतमले महिला मुद्दा र निर्वाचन विषयमा कार्यपत्र पेश गरेको सयपत्री समाज पोखराका अध्यक्ष प्राडा कृष्णबहादुर केसीले जानकारी दिए ।

कार्यक्रममा उपप्रा डा खतिवडाले वित्तीय संघीयता पूर्ण रुपमा कार्यान्वयनमा आउन नसकेको उल्लेख गरे । उनले वित्तीय संघीयता कार्यान्वयनका लागि कार्य सम्पादनमा विज्ञ जनशक्ति सहितको संस्थागत सयन्त्रको अभाव रहेको दाबी गरे । ‘वित्तीय संघीयता राज्यको केन्द्रीय स्तरको अर्थ व्यवस्थाको जिम्मेवारीलाई प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया हो,’ उनले भने, ‘नेपालको संविधानको मर्म र भावना अनुसार प्रशासनिक अधिकार तथा वित्तीय स्रोतका विकेन्द्रीकरण हुन सकेको छैन ।’

उनले राजस्व बाँडफाँड र अनुदान वितरण लगायतका वित्तीय संघीयता कार्यान्वयन हुन नसकेको बताए । राज्यको स्रोत र साधनको बाँडफाँड गर्ने वर्तमान कानुनी प्रावधान ठीक भएता पनि प्रदेशमैत्री र न्यायोचित नभएको उल्लेख गर्दै उनले वित्तीय स्वायत्तताबाट मात्रै दीगो अर्थतन्त्रको निर्माण हुनुका साथै वित्तीय सबलीकरण हुने तर्क गरे । उनले वित्तीय संघीयता अनुरुप आम्दानीका दायरा फाराकिलो बनाउन करयोग्य स्रोत जुटाउन आवश्यक भएको उल्लेख गरे ।

Advertisement

प्रा कृष्ण केसीले नेपालको लोकतन्त्र र विकासको गतिलाई वर्तमान राजनीतिक नेतृत्वले सही मार्गमा हिँडाउन नसकेको आरोप लगाए । त्यसै कारणले आम मतदाताले दलको पुरानो नेतृत्वभन्दा युवा पुस्ताको नेतृत्व चाहेको उनले उल्लेख गरे । केसीले २०७९ सालको आम निर्वाचनले नेपाली राजनीति सरल मार्गभन्दा बढी बक्रमार्गमा हिड्न रुचाउने सन्देश दिएको बताए ।

अधिकारकर्मी सावित्री गौतमले अहिलेको निर्वाचनले नीति निर्माण र नेतृत्व तहमा महिलाको सहभागिता सुनिश्चित गर्न नसकेको उल्लेख गरिन् । उनले योजना, नीति निर्माणमा महिलाको पुरुषसरह समान हक हुने चर्चा गर्दै उनले राज्यका हरेक तहमा महिलाको नेतृत्व स्थापित भए समतामूलक समाज निर्माणमा सहयोग पुग्ने बताइन् ।

Advertisement

समारोहमा एफर्ईएसका नेपाल स्थित राष्ट्रिय प्रतिनिधि जोनाथन मेंगेले १ सय वर्षदेखि १ सयभन्दा बढी देशमा शान्ति, लोकतन्त्र, सामाजिक न्याय र समावेशीताको क्षेत्रमा काम गरेको जानकारी दिए । कार्यक्रममा सयपत्री समाज पोखराका सचिव गिरधारी सुवेदीले निर्वाचन पछिको अवस्थाले लोकतन्त्रलाई सुदृढ गराउनेमा प्रश्नचिन्ह खडा गरेको बताए ।

तपाईको प्रतिक्रिया