आहारारालाई थप १० वर्ष हिमश्रीको साथ

समाधान संवाददाता २०७९ मंसिर १४ गते १०:४१

पोखरा ।
आहा रारा चाउचाउको उत्पादक हिमश्री फुड्स प्रालि र सहारा क्लब पोखराबीच आहा रारा गोल्ड कप मुख्य प्रायोजक गर्ने सम्झौता भएको छ । क्लब र प्रालिबीच थप १० वर्ष थप सहकार्य गरेर जाने सम्झौता भएको हो । मंगलबार हिमश्री फुड्सकी अध्यक्ष प्रेमकुमारी केसी र क्लबका अध्यक्ष हरिराम गुरुङले थप सहकार्य गरेर जाने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर गर्दै केसी र गुरुङले कागजी रूपमा १० वर्ष भए पनि अझै थप समय पनि सहकार्य गरेर जाने प्रतिवद्धता गरे । आहा रारा गोल्ड कपको रूपमा हुँदै आएको यो प्रतियोगितालाई ०८८ सालको २२ औं संस्करणसम्म ‘आहा रारा पोखरा गोल्ड कप फुटबल’ प्रतियोगिता को नामबाट सञ्चालन गरिने उल्लेख छ ।

प्रालका निर्देशक किरण केसीले बुबाले दिएको मार्ग निर्देशन अनुसार आफ्नो परिवार र प्रालि थप सहकार्य गर्न तयार रहेको सुनाए । किरण स्वर्गीय सूर्यबहादुर केसीका माइला छोरा हुन् । ‘बुबाले सानैदेखि समाजसेवामा संलग्न हुनुपर्छ भन्नुहुन्थ्यो ।

Advertisement

यो उहाँले गरेकै कामको निरन्तरता हो,’ केसीले भने, ‘यो भन्दा अघि पोखरा सभागृहमा यसरी नै हस्ताक्षर हुँदै गर्दाको क्षण मलाई याद छ । मेरो आँखा अगाडि आइरहेको छ । सहारासँग यो यात्रा दीर्घकालसम्म पुर्‍याउने हाम्रो प्रतिवद्धता जनाउन पनि चाहन्छु ।’

हिमश्री फुड्सले क्लबलाई प्रतियोगिता आयोजना गरेको पहिलो ३ वर्ष १८ लाख, दोस्रो तीन वर्ष २१ लाख, तेस्रो तीन वर्ष २४ लाख र २०८८ सालमा २७ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने सम्झौता भएको हो । प्रालिले अतिरिक्त आन्तरिक खर्च बापत पहिलो प्रत्येक तीन वर्ष ४ लाख ५० हजार, दोस्रो प्रत्येक तीन वर्ष ५ लाख २५ हजार, तेस्रो प्रत्येक तीन वर्ष ६ लाख २५ हजार र अन्तिम २०८८ सालमा ७ लाख रुपैयाँ क्लबलाई प्रदान गर्ने छ ।

Advertisement

नेपालको फुटबल इतिहासमा यो सबैभन्दा दीर्घकालीन सम्झौता भएको फुटबल खेलाडीहरू दाबी गर्छन् । सूर्य बहादुर केसी र क्लबबीच ०५९ सालमा पहिलो पटक सम्झौता भएको थियो । यो सम्झौतासँगै ३० वर्षसम्म सहकार्य हुनेछ । ०५९ मा आहा गोल्ड कपको नाउँबाट १० वर्षे सम्झौता पहिलो पटक सम्झौता भएको थियो । यसपछि ०६९ देखि ०७८ को लागि दोश्रो पटक र थप १० वर्ष करार सम्झौता भएको थियो ।

प्रतियोगिताको २० औं संस्करणसम्मको यात्रा सफलतापूर्वक सम्पन्न भएको क्लबका अध्यक्ष हरिराम गुरुङले बताए । क्लबसँग यो तेस्रो पटक द्विपक्षीय सम्झौता हो ।
प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान सदस्य सचिव एवं क्लबका सल्लाहकार तेजबहादुर गुरुङले खेलकुदको समृद्धिका लागि यो सम्झौताले सकारात्मक सन्देश दिएको बताए । खेलकुद पत्रकार मञ्च कास्कीका संंस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले पोखराको खेलकुद पत्रकारिताको विकासमा सहारा क्लब र केसी परिवारको महत्वपूर्ण योगदान रहेकाले यो निरन्तरताका लागि धन्यवाद दिए ।

सहारा क्लब पोखराले पहिलो पटक २०५८ मा क्याराभान गोल्डकपको नाममा प्रतियोगिता गरेको थियो । आहारारा पोखरा गोल्ड कपको २२ औं संस्करण आगामी पुस १४ देखि पोखरा रंगशालामा हुँदै छ । प्रतियोगितामा १२ टोलीले स्पर्धा गर्ने छन् ।

तपाईको प्रतिक्रिया