महिला हस्तकला प्रदर्शनी

समाधान संवाददाता २०७९ मंसिर १६ गते १२:४५

पोखरा ।
प्रत्यक्ष अवलोकनमा आधारित महिला हस्तकला तथा सीप तालिम प्रदर्शनी बिहीबार सिटिइभिटीको आंगिक शिक्षालय अन्नपूर्ण बहुप्राविधिक शिक्षालयकी प्रिन्सिपल मोतीमाया सुवेदीले उद्घाटन गरिन् । सुवेदीले प्रशिक्षार्थीलाई सक्रियातापूर्वक सहभागी भएर तालिमबाट दक्षता हाँसिल गर्न आग्रह गरिन् ।

आफूले आफैंलाई बनाउनका लागि केही कुरामा त्याग गर्नैपर्ने भएकाले १२ दिनको सीप सिकाईलाई पहिलो पाइला मान्न आग्रह गरिन् । कास्की पोखरा हस्तकला संघकी अध्यक्ष रामकली खड्काले सीप सिकाउँदैमा मात्रै महिलाको जीवनस्तर उठ्दैन् सिकेको सीपलाई निरन्तरता दिनुपर्छ । तालिम लिएपछि प्रमाणपत्रमा मात्रै सीमित नराखी व्यवहारमा उतारेर उद्यमी बन्न आग्रह गरिन् ।

संघकी कोषाध्यक्ष गोमा ढकालले हामी महिलाको समय त्यसै खेर गइरहेको हुन्छ, त्यसलाई सदुपयोग गरेर दुईचार पैसा आर्जन गर्दा आत्मनिर्भरताको बाट समात्न सजिलो हुन्छ । महिलाले उत्पादन गरेको हस्तकलाका सामग्रीको विक्रीकक्ष आवश्यक रहेको बताइन् ।

Advertisement

पोखरा उद्योग वाणिज्य संघले यही मंसिर १६ गतेदेखि २५ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रस्थित समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को छेको पारेर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् गण्डकी प्रदेश कार्यालय र कास्की पोखरा हस्तकला संघको सहकार्यमा प्रत्यक्ष अवलोकनमा आधारित हस्तकला तथा सीप तालिम प्रदर्शनी सञ्चालन गरिएको हो ।

औद्योगिक व्यापार मेलामा महिला हस्ताकलाका सामग्रीको प्रदर्शनी र प्रत्यक्ष रूपमा सीप सिकाइ र तालिमको अवलोकन गरी लाभ लिन सकिनेछ । तालिममा २० जना महिलालाई सीप सिकाइनेछ ।

Advertisement

गुडिया र कुसन बनाउने तालिमका लागि कविता विसुङ्खे र प्राकृतिक रेशा एवं खोस्टाबाट हस्तकलाका सामग्री बनाउने सीपका लागि हिमकुमारी पुनले प्रशिक्षकको भूमिका निर्वाह गर्ने कुरा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी मुख्य प्रशिक्षक सविता श्रेष्ठ रञ्जितले जानकारी दिएकी थिइन् ।

कास्की पोखरा हस्तकला संघकी अध्यक्ष रामकली खड्काको अध्यक्षतामा भएको तालिममा संघका सचिव बुद्धि पुर्जा र उपाध्यक्ष सीता गुरुङले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया