पहिलोपटक एसियाका ३ राष्ट्र नकआउटमा

समाधान संवाददाता २०७९ मंसिर १८ गते ११:३१

पोखरा ।
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा एसियाका ३ राष्ट्रले नकआउट चरणमा स्थान बनाएका छन् । पहिलो पटक कतारमा आयोजना भएको विश्वकपमा यस पटक एसियाबाट कीर्तिमानी ६ टिमले विश्वकपमा प्रतिस्पर्धा गरेको थिए । जसमा एकै संस्करणमा अहिलेसम्मकै धेरै ३ एसियन राष्ट्र अष्ट्रेलिया, जापान र दक्षिण कोरियाले नकआउट चरणमा स्थान बनाएका हुन् ।

कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई पराजित गर्दै दक्षिण कोरिया नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘ई’ को अन्तिम खेलमा पोर्चुगलमाथि २–१ को जित दर्ता गर्दै कोरिया उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । पहिलो खेलमा उरुग्वेसँग बराबरी खेलेको कोरिया दोस्रो खेलमा घानासँग ३–२ ले पराजित भएको थियो ।

अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता तथा जापान समूह ‘इ’ को विजेताको रुपमा नकआउटमा प्रवेश गरेका छन् । पहिलो खेलमा फ्रान्ससँग ४–१ ले पराजित भएको अष्ट्रेलियाले दोस्रो खेलमा ट्युनिसिया र तेस्रो खेलमा डेनमार्कलाई समान १–० ले पराजित गरेको थियो ।

Advertisement

दोस्रो खेलमा कोस्टारिकासँग १–० ले पराजित भएको जापानले पहिलो खेलमा जर्मनीलाई २–१ र तेस्रो खेलमा स्पेनलाई समान २–१ ले पराजित गर्दै समूह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेको हो ।

आयोजक कतार, इरान र साउदी अरेबिया भने समूह चरणबाटै बाहिरिएका छन् । दोस्रोपटक एसियामा आयोजना भएको विश्वकपमा आयोजक कतारको प्रर्दशन भने बिर्सनलायक रह्यो। उद्घाटन खेलमा नै आयोजक कतारमाथि इक्वेडर हावी भयो । समूह चरणका सबै खेल गुमाएको कतारले विश्वकपमा समूह चरणका सबै खेल हार्ने पहिलो आयोजक देश पनि बन्यो ।

Advertisement

इरान समूह चरणमा अन्तिम खेलमा अमेरिकासँग पराजित हुदै विश्वकपबाट बाहिरियो । पहिलो खेलमा इंग्लाण्डसँग ६–२ को फराकिलो अन्तरले पराजित भएको इरान दोस्रो खेलमा वालेसलाई २–० ले पराजित गर्‍यो । अन्तिम खेलमा अमेरिकासँग १–० ले पराजित हुँदा इरानको विश्वकप यात्रा समाप्त भयो ।

विश्वकपको उपाधि दाबेदार मानिएको अर्जेन्टिना विश्वकपको पहिलो खेलमा नै एसियाली टोली साउदी अरेबियासँग स्तब्ध भयो । मध्य एसियाको टोली साउदी अरेबियाले विश्वकपमा सानदार सुरुवात गरे पनि समूहको पुछारमा रहँदै समूह चरणबाटै बाहिरियो ।

स्वीट्जरल्याण्ड नकआउटमा
समूहको अन्तिम खेलमा सर्वियामाथि ३–२ गोलअन्तरको रोमान्चक जितसहित स्वीट्जरल्याण्डले समूह ‘जी’ को उपविजेताका रुपमा विश्वकपको नकआउट चरणमा स्थान पक्का गरेको छ ।

बराबरी नै पर्याप्त रहेको स्वीट्जरल्याण्डका लागि लिभरपुलका स्ट्राइकर जर्दान शाकिरीले खेल सुरु भएको २०औं मिनेटमा गोल गरी सुरुवाती अग्रता बनाएका थिए । तर, त्यसको १५ मिनेटअन्तरमै सर्वियाले दुई गोल फर्काएर खेलमा अग्रता बनायो । सर्वियाली सेन्टर फरवार्डहरु अलेक्जान्दर मित्रोभिचले २६औं र डुसान लाहोभिचले ३५औं मिनेटमा गोल गरेका हुन् ।

नकआउट चरणमा स्थान पक्का गर्न जितको विकल्प नभएको सर्वियाका लागि दोस्रो हाफमा पुनरागमनको अवसर थियो । तर, दोस्रो हाफको खेल सुरु भएलगत्तै स्वीस टिमले अग्रता बनायो । रेमो फ्रेलरले हाफ भलीमार्फत शानदार गोल गरेका थिए ।

बाँकी समयमा दुवै टिमले गोलका अवसर पाएका थिए । तर, गोल हुन सकेन । यो नतिजाले स्वीट्जरल्याण्डले नकआउट चरणमा समूह ‘एच’को विजेता पोर्चुगलसँग खेल्ने निश्चित भएको छ । समूह विजेताका रुपमा ब्राजिल नकआउट चरणमा पुगेको हो । यो हारले सर्विया समूहबाटै घर फर्केको छ ।

तपाईको प्रतिक्रिया