‘सहेर हिंसाको समाधान हुँदैन’

पोखरा ।
हिंसा सहेर बस्न नहुने र प्रतिकार गर्नुपर्नेमा शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । सञ्चारिका समूह गण्डकी प्रदेशको आयोजना तथा लायन्स क्लब अफ पोखरा स्मार्ट टाउन र लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेश अन्तरध्वनि नेपालको सहकार्यमा भएको कार्यक्रमका वक्ताले यस्तो बताएका हुन् ।
१६ दिने लैंगिक हिंसा विरुद्धको अभियान अन्तर्गत लैंगिक विभेद र मनोसामाजिक असरबारे वक्ताहरुले भनाइ राखे । उनीहरुले कसैले हिंसा गरेमा नो र नाइ भन्न सक्नुपर्नेमा जोड दिए । अन्तरध्वनि नेपालका अध्यक्ष जमुना शर्माले मानसिक स्वास्थ्यमा सबैको अधिकार हुने बताइन् ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पुण्य पौडेलले समाज परिवर्तन हुँदै गएको अवस्थामा मानिस पनि परिवर्तन हुन आवश्यक रहेको औंल्याए । हरेक घरमा हिंसा हुने भएकाले परिवर्तन घरबाटै सुरुवात गर्नुपर्ने उनको सुझाव छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सनाले आवाजविहीनको आवाज उठाउने महिला पत्रकार पनि हिंसामा पर्ने गरेको सुनाइन् । अझै पनि लैंगिक समानतामूलक समाजका लागि आन्दोलन जरुरी भएको उनले बताइन् ।
सञ्चारिका समूह गण्डकी अध्यक्ष कविता श्रेष्ष्ठले हिंसा सहेर त्यसको समाधान नहुने भएकाले प्रतिकार गर्न र कानुनी उपचार खोज्न सुझाइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पोखरा नर्सिङ क्याम्पसकी निशा श्रेष्ठ, दलित महिला संघ फेडो अध्यक्ष सुमित्रा गायक, दलित महिला संघ कास्की प्रमुख ईश्वर विक, पत्रकार पुरुषोत्तम शर्मा, नेस्डो गण्डकीका सूर्यप्रसाद भट्टराई, लायन्स पोखरा स्मार्ट टाउन अध्यक्ष लक्ष्मी अधिकारी र सञ्चारिका समूह गण्डकी सदस्य जुना थापाले बोलेका थिए ।
तपाईको प्रतिक्रिया