अर्जेन्टिना र नेदरल्याण्ड क्वाटरफाइनलमा

समाधान संवाददाता २०७९ मंसिर १९ गते ११:०८

पोखरा ।
अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनालाई जित दिलाउने क्रममा लियोनेल मेस्सी र जुलियान अल्भारेजले १–१ गोल गर ।

खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए ।

७७ औं मिनेटमा इन्जो फर्नान्डेजको आत्मघाती गोलमा अष्ट्रेलियाले एक गोल उपहार पाएको थियो । यससँगै खेल २–१ को अवस्थामा पुगेको हो । यसअघि २०१८ को विश्वकपमा अर्जेन्टिना अन्तिम १६ बाटै बाहिरिएको थियो । त्यतिबेला फ्रान्ससँग ४–३ गोल अन्तरमा पराजित भएको थियो ।

Advertisement

२०१४ मा फाइनलमा पुगे पनि जर्मनीसँग पराजित भएको थियो । २०१० र २००६ मा क्वार्टरफाइनलसम्म पुगेको थियो । २००२ मा भने समूह चरणबाटै बाहिरिएको थियो । १९७८ र १९८६ मा उपाधि जितेको अर्जेन्टिनाले त्यसपछि उपाधि थप्न सकेको छैन ।
अमेरिकालाई हराउँदै नेदरल्याण्ड्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

नकआउट चरणको खेलमा अमेरिकालाई ३–१ ले हराउँदै नेदरल्याण्ड्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो । नेदरल्याण्ड्सको जितमा मेम्फिस डिपे, डली ब्लिन र डेन्जल मुम्फ्रिसले १–१ गोल गरे । अमेरिकाका लागि हाजी राइट्सले १ गोल फर्काए । खेलको १० औं मिनेटमा डिपेले नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा ब्लिनले अग्रता दोब्बर बनाए ।

Advertisement

७६ औं मिनेटमा हाजी राइट्सले गोल गर्दै अमेरिकालाई खेलमा फर्काउने संकेत गरेका थिए । तर त्यसको ५ मिनेटपछि नेदरल्याण्ड्सले पुनः अर्काे गोल थप्दै सहज जित हात पार्‍यो । यसअघि २ गोलमा पास मिलाएका ब्लिनले अन्तिम गोल गरेका हुन् ।

११ औं पटक विश्वकप खेलिरहेको नेदरल्याण्ड्स यसअघि क्वार्टरफाइनलबाट एक पटक मात्रै बाहिरिएको छ । ३ पटक फाइनलमा पुग्दा २ पटक सेमिफाइनल पुगेको छ । १९९४ मा क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।

सन् १९७४ र १९७८ मा लगातार फाइनलमा पुगेर पनि उपाधिबाट चुकेको थियो । २०१० मा तेस्रो पटक फाइनल पुग्दा स्पेनसँग पराजित भएको नेदरल्याण्ड्स लगतै २०१४ मा सेमिफाइनलमा पुगेको थियो । त्यसअघि १९९८ मा सेमिफाइनलबाट घर फर्किएको थियो । ती दुवै विश्वकपमा नेदरल्याण्ड्स तेस्रो भयो ।

२०१८ मा छनौट नै नभएको नेदरल्याण्ड्स यसपटक समूह ए को विजेताका रुपमा समूह चरण पार गरेको थियो। समूह बी को उपविजेता अमेरिकामाथि सहज जित हात पार्दै अघि बढेको हो ।

अब क्वार्टरफाइनलमा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्ने छन् । यसअघि २०१४ मा यी दुई टोलीको सेमिफाइनलमा भेट भएको थियो । टाइब्रेकरमा नेदरल्याण्ड पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया