दीपक मनाङे फेरि मन्त्री बन्ने पक्का !

रिखिराम जिसी २०७९ मंसिर २० गते १०:२१

पोखरा ।
गण्डकी प्रदेशमा को को मन्त्री बन्छन् ? अहिले अनुमान गर्न सकिन्न तर राजनीतिक विश्लेषकहरु अनुमान होइन, ठेकुवा नै गरेर भन्छन्–दीपक मनाङे फेरि पक्का मन्त्री बन्छन् । मनाङेले एउटा यस्तो पार्टी रोजका छन्, जुन पार्टी सरकारमा जाने पक्का छ, तर त्यसका अरु सांसद छैनन् ।

निर्वाचनपछि सोमबार बसेको ५ दलीय गठबन्धनको बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय ग¥यो । त्यसको केही बेरमै गण्डकी प्रदेशका खेलकुद मन्त्री राजीव गुरुङउर्फ दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे । उनी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निवासमै पुगेर पार्टी प्रवेश गरे । यससँगै गण्डकी प्रदेशसभामा अब मनाङे एकीकृत समाजवादीका एक्ला सांसद बनेका छन् ।

गण्डकी प्रदेश सभामा गठबन्धनमा कांग्रेस र माओवादी केन्द्रबाटै स्पष्ट बहुमत देखिन्छ । गठबन्धनमा मनाङे प्रवेश गरेको पार्टी एकीकृत समाजवादी पनि समावेश छ । गठबन्धनले अब सत्ता साझेदारीलाई निरन्तरता गरेसँगै गण्डकी प्रदेशको सरकारमा पनि नेकपा एसको सहभागिता पक्का देखिन्छ । एकीकृत समाजवादीले गण्डकी प्रदेशमा समानुपातिकतर्फ १५ हजार ७६ मत पाएको छ ।

Advertisement

स्वतन्त्र रहँदा मन्त्रीमा निरन्तरता नपाउने देखेपछि मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । गण्डकी प्रदेश सभामा गठबन्धनबाट एकीकृत समाजवादीले २ सिटमा उम्मेदवारी दिएको थियो । यसका उम्मेदवार १ क्षेत्रमा पराजित बनेका छन् । बाँकी अर्काे क्षेत्रमा गठबन्धनकै निर्णय अनुसार एसको उम्मेदवारी निस्क्रिय गरिएको थियो । मन्त्री मनाङे प्रवेश गरेसँगै गण्डकी प्रदेश सभामा एकीकृत समाजवादीको पनि १ सिट भएको छ ।

एकीकृत समाजवादीका एक्ला सांसदका रुपमा मनाङे पार्टीले मन्त्रीको भाग पाउने र आफू मन्त्री बन्ने दाउसहित एकीकृत समाजवादीमा प्रवेश गरेको देखिन्छ । गठबन्धनका माओवादी, कांग्रेसतिर मन्त्री बन्ने ‘फिक्स’ उनी एकीकृत समाजवादीमा प्रवेश गरेको अनुमान लगाउन सकिन्छ ।

Advertisement

उसो त दीपक मनाङे एकै ठाउँ बसिरहेको देखिँदैन । निर्वाचनका बेला एमालेतिर ढल्किएका मनाङे निर्विरोध भएपछि नेपाली कांग्रेसका उम्मेदवारको प्रचारमा सहभागी भएका थिए । उनी २०७४ को निर्वाचनपछि पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकारमा खेलकुद मन्त्री बनेका थिए ।

तत्कालीन नेकपा प्रवेश गरेका मनाङेले पार्टी प्रवेश गरेको जानकारी संसद सचिवालयलाई पार्टीले जानकारी नगराउँदा उनको हैसियत स्वतन्त्रकै रहेको थियो । सोही गुह्य थाहा पत्ता लगाएर कांग्रेस सांसद कुमार खड्काले नयाँ सरकार गठनको बाटो पहिल्याएका थिए ।

सोही अनुसार मनाङे गठबन्धनतिर ढल्किए र एमालेको सरकार ढलेर गठबन्धनको सरकार बन्यो । मनाङेले २०७८ जेठ २९ गते गठबन्धनको सरकार बनाउँदा निर्णायक भूमिका खेलेका थिए । कांग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चासहितको गठबन्धनमा ३० सिट रहेकोमा मनाङे मिल्दा बहुमत पुगेको थियो ।

सरकार परिवर्तन हुँदा पनि ५ वर्ष नै मन्त्री बनेका मनाङे पुनः मन्त्री बन्ने पक्का देखिएको छ । पृथ्वीसुब्बा गुरुङको पालामा खेलकुद मन्त्री भएका मनाङेले पछि सोही सरकार ढलाउन निर्णायक भूमिका खेले । बहुमत नपुगेको गठबन्धनलाई साथ दिँदै मनाङेले सरकार बनाउँन सहयोग गरे ।

पुनः उनी सोही सरकारको खेलकुद मन्त्री बनेका थिए । मनाङे गण्डकी प्रदेश सभाका लागि मनाङ ‘२’ बाट निर्विरोध भएका हुन् । आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र विचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको मनाङेले दाबी गरेका छन् ।

‘त्यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवि, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया