जडिबुटी तथा तुलसी खेती अभिमुखीकरण

समाधान संवाददाता २०७९ मंसिर २१ गते १७:०७

पोखरा ।
बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारी, गैरीभन्ज्याङ काफलडाँडा वन उपभोक्ता समुह र बरपाण्डेथुम बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा दुई दिने जडिबुटी तथा तुलसी खेती अभिमुखीकरण भएको छ ।

जिल्ला वन डिभिजन कार्यलय कास्कीका अधिकृत कमल लम्साल र पोखरा महानगर कृषि तथा पशु विकास महाशाखा अधिकृत ज्ञानु आचार्यले तालिम दिएका थिए । उक्त तालिममा साबिक भरतपोखरी ७, हाल पोमनपा ३३ का ४२ कृषक सहभागी भएका थिए ।

अधिकृत कमल लम्सालले समुदायस्तरबाट यस्ता तालिम गोष्ठी माग भएकोमा खुसी व्यक्त गरे । ‘नेपालमा पाइने बहुमुल्य धेरै जडिबुटीहरु लोपोन्मुख अवस्थामा पुगेका छन् । बहुमुल्य र लोपोन्मुख जडिबुटीको पहिचान गरी जडिबुटी खेती गर्न सकिने र जिबिको पार्जन मात्रै नभै सामूहिक रुपमा खेती गर्दा मनग्य आम्दानीको समेत गर्न सकिन्छ,’ उनले भने ।

Advertisement

अर्का प्रशिक्षक ज्ञानु आचार्यले तुलसी खेती गर्दा ध्यान पुर्‍याउनुपर्ने कुराहरु औंल्याइन् । बिउ भण्डार, उत्पादन, बजारीकरण साथै प्राविधिक कुराको बारेमा पनि उनले तालिम दिइन् । परम्परागत खेतीभन्दा आधुनिक खेती प्रणालीअनुसार खेती गर्दा बढीभन्दा बढी उत्पादन गरेर लाभ लिन सकिने उनले बताइन् ।

महानगरपालिकाले २३ वटा कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य केजीमा कायम गरेको छ । जस मध्य जेठो बुढोधान ९०, मकै ५५, गहुँ ६०, कोदो ९०, फापर १३०, कागुनो १२०, तोरी १७५, काउली २१, बन्दा १५, रायोसाग १४, गोलभेँडा ३५, सिमी ५२, घिरौला १९, काँक्रो २१, करेला २०, आलु २६, अदुवा ३४, खुर्सानी ५२ लसुन १४०, प्याज ३५, कार्पमाछा ३००, मह ७५० र च्याउ १५० तोकिएको छ । महानगरले तोकेको मूल्यभन्दा पनि बजार कम भएमा घाटा महानगरले व्यहोरिदिने नीति छ ।

Advertisement

गैरीभन्ज्याङ काफलडाँडा वन उपभोक्ता समितिका अध्यक्ष केशवराज आचर्यले संस्थाले आगामी दिनमा पनि यस्ता तालिमहरु समय समयमा दिने बताए । बरपाण्डेथुम बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष वसन्तराज लम्सालले पनि तालिममा सिकेको सिप अपानाउने र उत्पादन लाइ सिपसँग जोडेर आगाडि बढ्नुपर्ने बताए ।

अभिमुखीकरणमा जनप्रतिनिधि दुर्गा केसी, बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीका सचिव मोती भुजेल, मनु कार्की, दीपा आचार्य, केशवराज लम्साल लगायतले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया