बतास फाउन्डेसनले दियो अक्सिजन प्लान्ट

पोखरा ।
बतास फाउन्डेसनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बतास अर्गनाइजेसन अन्तर्गतको गैरनाफामूलक परोपकारी संस्था बतास फाउन्डेसनको पहल र अगुवाइमा ल्याइएको प्लान्ट बुधबार अस्पताललाई हस्तान्तरण गरिएको फाउन्डेसनका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए ।
यो प्लान्टले दैनिक १ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्छ । प्लान्ट ०७८ जेष्ठ ६ गते खरिद भएको थियो । तर अघिल्लो सरकार, कार्गो कम्पनी र आयातकर्ताबीचको असमझदारीका कारण प्लान्ट ल्याउन ढिलाइ भएको प्रवक्ता पौडेलले दाबी गरे ।
पछिल्लो समयमा भने रुस युक्रेन युद्धका कारण कार्गो ढुवानीमा समस्या आउँदा थप विलम्ब भएको थियो । परिणामतः प्लान्ट एयर कार्गोबाट ढुवानी गर्ने सम्झौता भए पनि सो सम्भव नभएपछि जल तथा स्थल मार्गमार्फत ढुवानी गरी हस्तान्तरण गर्न सफल भएका उनको भनाइ छ ।
‘अक्सिजन प्लान्ट जडान सम्पन्न भई हस्तान्तरणसमेत भइसकेको अवस्थामा यसको सम्पूर्ण आयव्यय विवरण निकट भविष्यमा नै सार्वजनिक गर्नेछौं,’ पौडेलले भने । अक्सिजन अभावका कारण कोभिड महामारीका बेला बिरामीको ज्यान गएपछि अक्सिजन प्लान्ट स्थापनाका लागि रकम संकलन अभियान सुरु गरिएको थियो ।
बतास फाउन्डेसन र बतास अर्गनाइजेसनबाट ५५ लाख रुपैयाँ बीउ पुँजी राखेर १ सय रुपैयाँ दान गरौं, महामारीमा प्राण राखौं’ भन्ने नाराका साथ चलाइएको अभियान अन्तर्गत कर्पोरेट हाउस र पोखरेली जनसमुदायको सहभागितामार्फत ३ करोड ४५ लाख १७ हजार ५ सय ५५ रुपैयाँ संकलन भएको थियो ।
अभियानका लागि सहयोग रकम जुटाउने तथा प्लान्ट स्थापना कार्यअघि बढाउने लक्ष्यसहित गठित तदर्थ समितिको संरक्षकमा पोखरा महानगरपालिकाका तत्कालीन मेयर मानबहादुर जिसी र संयोजकमा बतास अर्गनाइजेसन तथा फाउन्डेसनका अध्यक्ष आनन्दराज बतास, कोषाध्यक्षमा अटोवेज प्रालिका अध्यक्ष नारायण पौडेल तथा सदस्यमा केसी ग्रुपका किरण केसी, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्व पालिखे, एभरेस्ट एफएमका सिइओ दीपेन्द्र श्रेष्ठ, सुपरमादी हाइड्रो प्रालिका अध्यक्ष पुष्पज्योति ढुंगाना र सेलवेज डिपार्टमेन्टल प्रालिका अध्यक्ष सुशीलमान प्रधानांग थिए ।
तपाईको प्रतिक्रिया