कसले चिर्ला अराजकता ?

अन्ततः देश र जनताप्रति वफादार बन्छु भनेर निर्वाचित भएका सासंदबीच पुन प्रधानमन्त्री को बन्ने भन्नेमा हानाथाप सुरु भईसकेको छ । सबैभन्दा लोकतान्त्रिक दल नेपाली कांग्रेस गठबन्धनको वलमा पहिलो पार्टी बनेता पनि नयाँ राजनैतिक पार्टीको उदय र जनमतका माग लाई समेत वेवास्ता गरी पुन प्रधानमन्त्री को बन्ने भन्ने रडाको र नेताहरुको अभिव्यक्तिले पनि दलका नेताहरु पुन शक्ति र सत्ता केन्द्रित भन्दा अन्य केही छैन भन्ने पुष्टि गरेको छ ।
नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा आफैं संसदीय दलको नेता बन्ने दाउमा छ । प्रधानमन्त्री पुन देउवा नै बन्ने भनेर उनका निकटस्थ नेताहरुबाट अभिव्यक्ति आइसकेको छ । त्यसैगरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको प्रधानमन्त्री म हो भनेर हरेक सभामा भनिसकेका छन् ।
महामन्त्री गगन थापाले संसदीय दलको नेतामा दावी गर्ने भनेर प्रधानमन्त्रीमा दाबेदार गरिसकेका छन् । त्यतिमात्र होइन, शशांक कोइरालाले समेत अब आफनो दावी प्रधानमन्त्रीमा रहनेछ भनेर मुख खोलिसकेका छन् । प्रकाशमान सिंहको दावी पुरानो भईसक्यो ।
नेपाली कांग्रेसका यति धेरै नेता प्रधानमन्त्रीको दाबेदार बनिरहँदा जनता भने रमिते बन्न बाध्य बनेका छन् । देशका आवश्यकता र जनताको आकांक्षाको पहाड थुपरिएको सन्र्दभमा नेपाली कांग्रेसभित्र नै यति धेरै आकांक्षी प्रधानमन्त्रीमा रहेर नेताको सत्तोसराप गरिरहँदा नेताको असली स्वरुप चित्रित भएको छ ।
यतिमात्र होइन, गठबन्धनका नाममा रहेर लामो समयसम्म सहकार्य गर्ने भनेर चुनावमा होमिएको नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एसभित्र प्रधानमन्त्री बन्ने लालसा पालेका नेताहरुको कमी छैन । पद र शक्तिका लागि जे पनि गर्न सक्ने नेताहरुको अबको अभिव्यक्ति र व्यवहार हेर्न अब धेरै दिन पर्खन पर्दैन । गठबन्धनका नाममा शक्ति र सत्ताका लागि जस्तोसुकै पनि हत्कण्डा मच्चाउने दलहरुको प्रवृत्ति हिजोको भन्दा भिन्न हुने छाँट छैन ।
बहुमत र अल्पमत अनि गठबन्धनका नाममा गरिएको अराजक गतिविधिका विरुद्ध देशमा नयाँ शक्तिको उदय भएर संसदमा प्रत्यक्ष निर्वाचित भईसक्दा पनि हेक्का नराखी गरिएको गतिविधिले पुरानो राजनैतिक दलहरुमा अझै चेत नखुलेको प्रष्ट हुन्छ । राजनीति दीर्घकालीन हुनुपर्दछ । तर नेपालको राजनीति अल्पकालीन र स्वार्थ केन्द्रित बनिदियो ।
पाउँदा उपभोग गरिहाल्ने रणनीति देश र जनताका लागि घातक हुन्छ भन्ने कुरा नेतृत्व तहले नबुझिदिँदा देशमा राजनैतिक उथुलपुथुल रहिरह्यो । पद र शक्ति केका लागि भन्ने कुराहरुको गठजोड रहँदा देश सधै अस्थिरतातर्फ उन्मुख बनिदियो । राजनीतिको यो चरम बेथिती यसले पारेको प्रभाव देशको हरेक क्षेत्रमा देखिएको छ ।
जनतालाई सधै दास सम्झने परिपाटी यो निर्वाचनले पनि देखायो । निर्वाचन परिणामको सूक्ष्म विश्लेषण गरेर अगाडि बढ्नुभन्दा फेरि पनि सत्ताको किचलोले अबको दिनमा झन राजनैतिक, आर्थिक र समाजिक रुपमा देशपछि धकेलिने कुरामा कुनै शंका छैन ।
यसैपनि कम्युनिस्ट पार्टीमा आत्मसमीक्षाको प्रवलता बढी हुन्छ, आत्मसमीक्षा फगत आत्माकेन्द्रिततर्फ उन्मुख बनिदिँदा दिनानुदिन जनताको आक्रोश बढिरहेको छ । नयाँ युवा पिँढीमा पुरानो राजनैतिक पार्टीप्रति वितृष्णा बढिरहँदा र यो निर्वाचनमा नयाँ स्वतन्त्र र अन्य दलहरुको उदय हुँदासमेत फेरि उही सत्ताको किचलोले देश समृद्ध र सुखी नेपाली बन्ने अभियान देखाउने दाँत बनेको छ ।
नेता र अहिलेका राजनीतिक दलहरु सच्चिऊन् । जनताका न्यूनतम आवश्यकता, देशमा रोजगारी सृजना, उत्पादन तथा वितरण प्रणाली र न्यायमा समान पहुँच हो भन्ने आम धारणा हो ।
देशमा उत्पादन र रोजगारीको उचित प्रबन्ध नहुँदा दैनिक धेरै नेपालको योग्य व्यक्तिहरु विदेशिरहँदा नेपालको सम्पति बेचेर अध्ययनका नाममा विदेश गइरहँदा त्यसले नेपालको अर्थतन्त्रमा पार्ने, दक्ष जनशक्तिको अभावले देशमा पार्ने प्रभावले देश झन झन हरेक क्षेत्रमा कमजोर बन्दै गएको छ ।
जनता व्यक्तिगत लाभहानी चाहदैनन् । बस, आम जनताको चाहना भनेको योग्यता अनुसारको कर्म, सुरक्षाको वातावरण, भष्ट्राचार विहीन समाज र जनताप्रति सरकारको उत्तरदायित्य हो । यही बीचमा रहेर राजनीतिअगाडि लैजाने हो भने नेपाल जस्तो विविधताले भरिएको देशमा आर्थिक विकास र समृद्ध देश बनाउन गाह्रो छैन ।
राजनीतिको मुल नै सधै धमिलो हुने हो भने भोलिका दिनमा झन विकाराल अवस्था सिर्जना हुनेछ । देशमा काम गर्ने वातावरणको सिर्जना नहुने तर भष्टाचारमा लिप्त भइरहने हो भने सडकबाट नै आम जनताले यो व्यवस्था र राजनैतिक पार्टीलाई नै बढार्नेमा कुनै शंका छैन ।
जित र पद केका लागि भन्ने कुराको सान्र्दभिकता नहुने हो भने जो प्रधानमन्त्री र राष्ट्रपति भएता पनि कुनै अर्थ छैन । हरेक पदको गरिमा जोगाउने गरी लाग्ने हो भने गिजोलिएको साखलाई फर्काउन गाह्रो छैन । होइन भने सधै जनताका नाममा गरिने यो खोक्रो राजनीतिको कुनै अर्थ छैन ।
नेपालको सन्र्दभमा हेर्ने हो भने शासन व्यवस्था होइन, नेतृत्वको बर्हिगमन नै अपरिहार्य भइसक्यो । अब यही शासन व्यवस्थाबाट नै देश समृद्ध बनाउन सकिन्छ । व्यवस्था परिवर्तन हुँदा आफैं विकास र समृद्ध हुन सक्दैन । अन्ततः पुन देश गठबन्धनका नाममा उही पुरानो बेथितिमा धकेलिनेमा कुनै शंका छैन ।
यो वा त्यो बाहानामा शक्ति र सत्तामा रहने अभिष्ट भन्दा अन्य केही देखिँदैन । यो सन्र्दभमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी लगायत स्वतन्त्र सासंदको जर्बजस्त उदयले संसदको यो अराजकतालाई चिर्ने प्रयत्न गर्दछ कि त्यही संसदीय भासमा भासिन्छ ? त्यो हेर्न भने बाँकी नै छ । सधै देश र जनताको नाममा देशलाई अस्थिर बनाउने प्रयत्न अब सम्भव छैन ।
अबको युग प्रतिष्पर्धाको युग हो । जो प्रतिष्पर्धामा सफल हुन्छ, उसलै शासन गर्दछ । इतिहासलाई भजाएर शासन गर्ने दुस्साहस अब कसैले नगर्दा हुन्छ । कोही पनि कसैको दास मनोवृत्ति अब जनतालाई सह्य हुँदैन ।
तपाईको प्रतिक्रिया