सार्वजनिक–निजी साझेदारीबाटै समृद्धिः आचार्य

समाधान संवाददाता २०७९ मंसिर २३ गते १२:४९

पोखरा ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सार्वजनिक निजी साझेदारी कार्यक्रमको असफलताबारे अध्ययन हुनुपर्ने बताएका छन् । सार्वजनिक निजी साझेदारीले मात्र समृद्धि सम्भव हुने बताउँदै उनले महानगरले त्यो अभियानलाई निरन्तरता दिने उद्घोष गरे ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनमा पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला अन्तर्गत बुधबार आयोजना गरेको अन्तरसंवादमा उनले स्टार्ट अप बिजनेसका लागि महानगरले विशेष कार्यक्रम अगाडि सारेको जानकारी पनि दिए । विभिन्न २४ वटा नवप्रवर्तनका कार्यक्रमलाई ५० हजारका दरले पुरस्कृत गरेको महानगरले परियोजना हेरेर २ लाख ५० हजारसम्मको कर्जा प्रवाह गर्ने योजना अगाडि बढेको उनले सुनाए ।

मेयर आचार्यले पोखराको निजी क्षेत्रलाई साथ लिएर नै समृद्धिको यात्रा तय गर्ने प्रतिवद्धता पनि जनाए । उनले सहरी गरीब र बेरोजगारको संख्या निक्र्यौल गरेसँगै उनीहरुको लागि आवश्यक पर्ने तालिम र पुँजीको व्यवस्थापन गरिने जनाउँदै आउँदो ३ महिनाभित्र देखिने गरी रोजगारी प्रदान गर्ने जिकिर गरे ।

Advertisement

आउँदा दिनमा अनावश्यक कार्यक्रममा सहभागी नहुने तथा पारदर्शीता र सुशासनका लागि क्रियाशील रहने बताउँदै उनले थपे, ‘चुनावअघि सार्वजनिक गरिएको घोषणापत्रलाई मैले बिर्सेको छैन । पहिलो वर्ष भएकाले काम गर्न ढिला भने भएको हो ।’

आचार्यले पोखराको फोहर व्यवस्थापनमा स्थानीयले नसघाएको गुनासो पनि गरे । आउँदो केही दिनमै पोखराको फोहर ल्यान्डफिल साइटमा नफालिने उद्घोष गरेका उनले स्थानीयबाट अवरोध हुन सक्ने भन्दै उनले ठाउँबारे भने केही बताएनन् । उनले भने, ‘मसँग अब दिन हैन, घण्टा बाँकी छ । केही घण्टाबीचमै हामी फोहर फाल्ने ठाउँ टुंग्गाउँछौँ ।’

Advertisement

पोखरा १४ मा रहेको ल्यान्डफिल साइटमा फोहर विसर्जन नगर्ने प्रतिवद्धतासहित त्यहाँको फोहर पुर्न थालेको महानगर यति बेला पोखराको वडा नम्बर २२ मा प्रशोधन केन्द्र स्थापना गर्ने तयारीमा छ । तर, स्थानीयवासीबाट भने त्यसको विरोध भएको छ ।

‘फोहर व्यवस्थापनमा यहाँका नागरिकले सघाउनुपर्ने हो, हामी फोहरको वर्गीकरणसहित त्यसको पुनःप्रयोग गर्ने प्रशोधन केन्द्र बनाउने तयारीमा छौँ’, उनले भने, ‘त्यस्तो प्रशोधन केन्द्रले वातावरण बिगार्दैन ।’

मेयरलाई पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले स्वागत गरेका थिए । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक मेलाको स्टल अवलोकनपछि मेयर आचार्यले स्थानीय उत्पादन प्रवद्र्धनका लागि गरिएका प्रयासहरुको प्रशंसा गरे । मेला मंसिर २५ गतेसम्म जारी रहनेछ । संघका अध्यक्ष प्रजापतिले मेला अवलोनकको लागि आम नागरिकलाई आह्वान गरे ।

तपाईको प्रतिक्रिया