अब कामको आधारमा मूल्यांकन होस्ः विद्या

समाधान संवाददाता २०७९ मंसिर २३ गते १३:०४

पोखरा ।
प्रतिनिधि सभाका सदस्य विद्या भट्टराईले आफ्नो राजनीतिलाई पारिवारिक विरासतसँग मात्र जोडेर नहेर्न आग्रह गरेकी छन् । आफ्नै राजनीतिक पृष्ठभूमि भएको उल्लेख गर्दै उनले अबको राजनीतिक सफलता पारिवारिक विरासतले भन्दा आफ्नो क्षमता र क्रियाशीलताले निर्धारण गर्ने बताइन् ।

एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी कास्की क्षेत्र नम्बर २ कास्कीले बुधबार आयोजना गरेको कार्यक्रममा उनले आगामी दिनमा जनताको पक्षमा काम, व्यवहारले आफ्नो परिचय र पहिचान निर्धारण गर्ने जनाइन् ।

‘मेरो पहिलो परिचय र पहिचान रवीन्द्र अधिकारीको पत्नीबाट सुरु हुन्छ । त्यो पारिवारिक विरासतसमेत हो,’ उनले भनिन, ‘दोस्रो परिचय र पहिचान मेरो आफ्नै राजनीतिक पृष्ठभूमि छ । विरासतको राजनीति होइन ।

Advertisement

अबको राजनीतिक सफलता विद्या भट्टराईको क्षमता र क्रियाशीलताले निर्धारण गर्छ ।’
अब परिचय रवीन्द्रसँग जोडरमात्र नभएर कामको आधारमा हुनु पर्ने उनको तर्क छ । कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा रवीन्द्र तीन पटक निर्वाचित भएका थिए ।

उनको २०७५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि २०७६ सालमा कास्की २ मा भएको उपनिर्वाचन जितेर विद्या पहिलोपटक संसद बनिन् । सोही निर्वाचन क्षेत्रबाट दोस्रो पटक निर्वाचित भट्टराईले अकल्पनीय घटनाले संसदीय यात्रामा आइपुगे पनि राजनीतिमा भने नयाँ नभएको जनाइन् ।

Advertisement

प्रतिनिधि सभा सदस्यको जिम्मेवारी पूरा गर्न जनताले म्यान्डेट दिएको उल्लेख गर्दै उनले आफ्नो काम तथा व्यवहारले जनताको विश्वासमा आँच आउने काम नगर्ने प्रतिवद्धता गरिन् । उनले अघिल्लो कार्यकालमा राज्यका सबै निकायलाई महिलामैत्री बनाउनुपर्छ भनेर संसदमार्फत आवाज उठाएको स्मरण गराइन् ।

उनले संविधानको धारा ३८ (४) अनुसार महिलामैत्री कानुन निर्माण र कार्यान्वयनमा समस्या रहेको उल्लेख गरिन् । उनले आगामी दिनमा समेत संसदमा आफ्नो क्षमताले भ्याएसम्म सशक्त भूमिका निर्वाह गर्ने दाबी गरिन् ।

एमाले केन्द्रीय सदस्य तथा कास्कीका इन्चार्ज कृष्ण थापाले आम निर्वाचनमा जनतासमक्ष गरेका बाचालाई निर्वाचित जनप्रतिनिधिले पूरा गर्ने बताए । उनले निर्वाचन क्षेत्र केन्द्रीत भएर विकास, निर्माणका कामअघि बढाउन सुझाव दिए ।

कास्की २ (१)का प्रदेश सभा सदस्य भीमबहादुर कार्कीले जनताबाट सिकेर जनताको पक्षमा काम गर्ने बताए । उनले जनस्तरबाट आएका सुझाव सबभन्दा महत्वपूर्ण हुने उल्लेख गरे । उनले गण्डकी प्रदेश सभामा कुनै दलको स्पष्ट वहुमत नआएको अवस्थामा दलहरु मिलेर अगाडि बढ्नुपर्ने जनादेश भएको बताए ।

जिल्ला कमिटी कास्की कार्यवहाक अध्यक्ष तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी संयोजक तेजनारायण अधिकारी, क्षेत्रीय समन्वय कमिटीका सचिव भेषराज बराल, कमिटीका आर्थिक संयोजक चिरन्जीवी पोखरेल लगायतले निर्वाचनमा जनताले दिएको मतादेश अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया